२२ मंसिर, सप्तरी। अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि आमरण अनसनमा रहेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का राष्ट्रिय अध्यक्ष विकास तिबारीको स्वास्थ्यस्थिति जटिल बन्दै गएको छ ।
गत मंसिर ८ गतेदेखि उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल सुधारको माग गर्दै अस्पताल परिसरमै भोक हड्ताल बसेका हुन् ।
उनी भोक हड्तालमा बसेपनि उनको मागबारे राज्य पक्ष अझै गम्भीर बन्न सकेको छैन् । स्थानीयस्तरबाट पूरा हुने मागहरुतर्फसमेत अस्पताल प्रशासनले ध्यान दिएको छैन् ।
तिबारीको अनसनमा समर्थन जनाउँदै बुधबार पनि राजविराजमा विद्यार्थीहरुद्वारा प्रदर्शन गरिएको छ । विद्यार्थीहरुले निकालेको जुलुस राजविराज नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो ।
यसैबीच भोक हड्तालमा बसेका तिबारीले स्वच्छ छबि भएका व्यक्तिको नेतृत्वमा वार्ता समिति बने मात्र वार्ता गर्ने बताएका छन् । ‘केहि मिडियामा स्वास्थ्य मन्त्रीसँग वार्ता भए सबै कुरा मिल्ने आसयको समाचारहरु प्रकाशित भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ तिबारीले भने, ‘यो सत्य हो कि मैले उठाएका सवालहरूप्रति मन्त्रालयको सबैभन्दा ठूलो व्यक्तिको प्रतिबद्धता खोजेको हो ।’