Comments Add Comment

नझुक्किनुस् मूल्य वृद्धि घटेको होइन, ४.८ प्रतिशतले बढेको हो

५ पुस, काठमाडौं । राष्ट्र बैंकले हालै जारी गरेको कात्तिक महिनासम्मको देशको आर्थिक विवरणमा मूल्य वृद्धि दर ४.८ प्रतिशतमा सीमित भएको उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १० प्रतिशत थियो भने पुसमा १२.१ प्रतिशत पुगेको थियो ।

inflation-1अहिले पनि बजारमा जाँदा भाउ देखेर सर्वसाधारण आतंकित हुन्छन् र बैंकको तथ्यांक पत्याउन नै तयार हुँदैनन् । कात्तिकको विवरणपछि आम बुझाइमा मूल्य वृद्धि १० प्रतिशत वा १२ प्रतिशतबाट घटेको भन्ने परेको छ । बजारमा त्यस्तो नभएको भन्दै उनीहरुले यो विवरणको आलोचना पनि गरिरहेका छन् । कतिपय सञ्चार माध्यमले पनि यस्तो आलोचना गरेको पाइएको छ ।

‘बस्तुको मूल्य घट्दै घट्दैन भन्ने त छैन, तर नेपालमा मूल्य वृद्धि निरन्तर चलिरहेको देखिन्छ, गत वर्ष १० देखि १२ प्रतिशतले बढेकोमा त्यो मूल्यमा अहिले फेरि करीब ५ प्रतिशतसम्म वृद्धि भएको हो भनेर बुझ्नुपर्छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने ।

पौडेलले भनेजस्तै नै भएको हो । गत वर्ष नाकाबन्दीको कारण मूल्य वृद्धिदर एकैपटकमा १२ प्रतिशतसम्म बढेको थियो । अहिले त्यसमा सुधार भएर सामान सस्तिएको नभई थप बढेको हो । उदाहरणको लागि मानौं गत वर्ष प्रतिकेजी ५ सय ६० रुपैयाँ पर्ने पनिरको मूल्य ११.९ प्रतिशत मूल्य वृद्धि भएर ६ सय २६ रुपैयाँ पुगेको थियो ।

अब यस वर्षको कात्तिकमा यसको मूल्यमा मात्रै ३.१ प्रतिशतमा वृद्धि भयो । यसको अर्थ पनिर अब प्रतिकेजीको मूल्य अझै बढेर ६ सय ४६ पुग्यो भन्ने हो ।

तर यसपटक सर्वसाधारणले केही सामग्रीमा अघिल्लो वर्ष तिरेकोभन्दा कम मूल्य तिर्न परिरहेको पनि राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । घ्यु, तेल, दलहन तथा गेडागुडीको मूल्य भने गत वर्षभन्दा केही सस्तिएको छ । तथ्यांक अनुसार घ्यु, तेलमा गत वर्षको मूल्य भन्दा १९.८ प्रतिशतले र दलहन र गेडागुडीमा २.३ प्रतिशतले कटौती भएको हो ।

यसको अर्थ मानौं गत वर्ष ४ सय रुपैयाँ प्रतिलिटर रहेको घ्युको मूल्य ४१.४ प्रतिशतले बढेर ५ सय ६४ रुपैयाँ पुगेको थियो । अब गत वर्षको मूल्य ५ सय ६४ मा १९.८ प्रतिशतले कटौती भएर ४ सय ५२ मा मूल्य कायम भएको छ ।

यसले के देखाउँछ भने नाकाबन्दीको प्रभावले बढेको मूल्यमा कटौती भएन र हाल मूल्यले त्यतिखेरकै वृद्धि समायोजन गरेकाले वृद्धि दर भने सुस्तिएको हो । मूल्य वृद्धि बढ्ने दर भने १४ वर्षयताकै सुस्त छ । १४ वर्षअघि यस्तो वृद्धि दर २.९ प्रतिशतमा सीमित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment