+
+

माओवादीको निर्णय- ९ गते सबै निर्वाचन केन्द्रमा सभा, त्यसअघि नै उम्मेदवारको टुंगो

'मधेसी मोर्चाको निर्णय हठात् र अनौठो'

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १ गते १६:१०
फाइल तस्वीर

१ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी नौ गते सबै निर्वाचन केन्द्रहरुमा चुनावी सभा गर्ने निर्णय गरेको छ । नौ गतेभित्रै स्थानीय चुनावका उम्मेदवार पनि टुंगो लगाइसक्ने माओवादीले जनाएको छ ।

आगामी चुनावबारे छलफल गर्न शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रको कार्यालय बैठक बसेको थियो । बैठकले वैशाख ३१ गते नै स्थानीय चुनाव गर्ने र त्यसकालागि पार्टीको चुनावी कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेको माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले जानकारी दिए ।

‘केन्द्रीयस्तरमा सबै निर्वाचन केन्द्रमा ९ गते सभा गर्ने निर्णय भएको छ,’ शर्माले अनलाइनखबरसँग भने, ‘त्यसअघि नै उम्मेदवारहरुको पनि टुंगो लगाउने कुरा भएको छ ।’

उम्मेदवार टुंगो लगाउनका लागि सम्बन्धित कमिटीलाई नै जिम्मा दिइएको छ । सकेसम्म सर्वसम्मत र सर्वसम्मत नभए बहुमतका आधारमा उम्मेदवार टुंगो लगाइने उनले बताए । ‘उम्मेदवारबारे निर्णय गर्ने अधिकार सम्बन्धित कमिटीलाई नै दिइएको छ,’ शर्माले भने, ‘सकेसम्म सर्वसम्मत गर्ने, सर्बसम्मत नभए बहुमतले गर्ने र दुबै तरिकाले नभए माथिबाट टुंगो लगाउने । तर, माथिबाट भन्दा मुख्य अधिकार तलै दिने, तलैबाट निर्णय गर्ने भन्ने भएको छ ।’

‘मधेसी मोर्चाको निर्णय हठात् र अनौठो’

सरकारको नेतृत्वकर्ता दल माओवादीले चुनावमा भाग नलिने र पछिल्लो संविधान संशोधन प्रस्ताव पनि नस्वीकार्ने मधेसी मोर्चाको निर्णय हठात् र अनौठो भएको निष्कर्ष निकालेको छ । माओवादी कार्यालय बैठकले मधेसका जनतालाई अधिकार सम्पन्न गराउन सरकार प्रतिवद्ध भएको भन्दै वार्तामा आउन आह्वान गरेको छ ।

‘एउटा समझदारी भएर अगाडि बढिसकेको कुरामा मधेसवादी दलहरुले अपर्झट त्यस्तो हठात् निर्णय गरेको कुरा आश्चर्य, अनौठो खालको भयो,’ शर्माले अनलाइनखबरसँग भने, ‘उनीहरुसँग सल्लाह गरेर ल्याइएको संशोधन प्रस्तावमा उहाँहरुको त्यो निर्णय आउने कुरा बडो गम्भीर छ । मधेसका जनतालाई अधिकार सम्पन्न गराउन निरन्तर लागिराख्ने र मधेसवादी दलहरुसँग छलफल गर्ने कुरा भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?