३० जेठ, काठमाडौं । एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले अहिले यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । समूह एफमा रहेको नेपालले यमनसँग होम म्याच खेल्न लागेको हो ।
खेल सशस्त्र प्रहरीको हलचोक मैदानमा सुरू भएको हो , भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अझै पुनर्निर्माण भइनसकेकाले एन्फाले बैकल्पिक मैदानका रुपमा एपिएफको मैदानलाई प्रयोग गर्न लागेको हो ।
हलचोक मैदानमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।
छनौटको पहिलो खेलमा फिपलपिन्ससँग ४-१ गोलले पराजित भएको नेपालले घरेलु मैदानमा यमनसँग गोल नखाने रणनीति बनाएको छ । घरेलु मैदानमा जित हासिल गरी अन्य खेलहरु सहज बनाउने योजना हिजोको पत्रकार सम्मेलनमा नेपाली कप्तान बिराज महर्जनले सुनाएका थिए ।
पछिल्लो समय सन् २०१४ मा मार्चमा कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपालले यमनसँग २-० को पराजय ब्यहोरेको थियो । भारतसँग २-० ले पराजित हुँदै एसियन कप छनौटको पहिलो चरणबाटै बाहिरिएको नेपाल एएफसी सोलिडारिटी कप बिजेताको हैसियदमा तेस्रो चरणबाट पुनः प्रबेश पाएको हो ।
मूख्य डिफेण्डरहरु चोटग्रस्त रहनु र नयाँ तथा पुराना खेलाडीको संयोजन नमिल्नु पछिल्लो समय नेपाली टोलीको मूख्य समस्याको रुपमा देखिएको छ ।
एक साताअघि भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल २-० ले हारेको थियो । त्यस खेलमा नेपालको रक्षापंक्ति कमजोर देखिएको थियो । नेपालका प्रशिक्षक ग्योतोकी कोजुले आजको खेलमा रक्षापंक्तिमा सुधार हुने अपेक्षा गरेका छन् ।
प्रतिक्रिया 4