११ असार, गुल्मी । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले आफैंले बनाएको आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल र कार्यकर्तालाई च्याप्प समातेर कारबाही गर्न आग्रह गरेका छन् ।
निर्वाचन अनुगमनका क्रममा गुल्मी आएका पौडेलले राजनीतिक दलहरुले आफैंले बनाएको आचारसंहिता आफैले उल्लंघन गर्नु लजास्पद भएको बताए । ‘आचारसंहिता उलंघन भएको भए हेरेर नबस्नु,’ उनले भने, ‘कसैको दवावबाट प्रभावित नहुनुहोेस् ।’
अरु बेला आचारसंहिताको सही पालना नभएपनि मौन अवधिमा हुन सक्ने आचारसंहिता उलंघनका लागि संवेदनशील हुन निर्देशन दिए ।
हेलिकप्टरमार्फत आचारसंहिता अनुगमन गर्न जिल्ला दौडाहामा निस्केका पौडेलले शनिबार तम्घासमा झण्डै डेढ घण्टा छलफल गरेका थिए ।
४८ घण्टे मौन अवधिमा उम्मेदवारहरु मतदाता प्रभावित गर्न पैसा बोकेर हिँड्ने र भोज खुवाउन सक्रिय हुन सक्ने भन्दै उनले चनाखो बन्न सुरक्षा निकायलाई आग्रह गरे ।
त्यो प्रवृतिले हारजितको टुंगो हुने भएकाले त्यस्तालाई अनुगमन गरेर तत्काल कारवाही गर्न उनले निर्देशन समेत दिए ।