२० भदौ, ताप्लेजुङ । ताप्लेजुङको विकट गाउँ ओलाङचुङगोलाबाट चीनको तिब्बतसम्म सडक जोडिए पनि प्रयोगविहीन छ । करोडौं लगानीमा सडक निर्माण गरिए पनि सवारीसाधन त्यहाँसम्म पुर्याउन सकिएको छैन ।
नेपालतर्फबाट मेची राजमार्गसम्म सडक नजोडिएका कारण गाडी पुर्याउन नसकिएको हो । चीनबाट ल्याउने प्रक्रियाबारे जानकारी नहुँदा समस्या भएको ओलाङचुङगोला–टिप्ताला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङ शेर्पाले बताए ।
निर्माण सकिएपछि चीनको तिब्बतबाट साना सवारीसाधनमा सडक अवलोकनका लागि चिनियाँ अधिकारी ओलाङचुङगोलासम्म आएका थिए ।
सरोकारवाला निकायले चासो नदिँदा गाडी गुडाउने सपना पुरा नभएको स्थानीय बासिन्दाको गुनासो छ ।
नेपालतर्फबाट तापेथोक हुँदै ओलाङचुङगोला जोड्न ३५ किलोमिटरभन्दा बढीमा ट्रयाक खुलेको छैन । उक्त ट्रयाक नखुलेसम्म गाडी पुर्याउन सकिने अवस्था छैन ।