Comments Add Comment

‘महाकवि देवकोटालाई विर्सिन थाले नयाँ पुस्ताले’

काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाका साहित्यिक योगदान नयाँ पुस्ताबीच गौण बन्दै जान थालेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

महाकवि देवकोटाको १०९ औं जन्मजयन्तीको सन्दर्भ पारेर गोकर्णेश्वर नगरपालिका–५ मा अवस्थित नयाँ बस्ती युवा क्लबले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा साहित्यकार बाजुराम पौडेलले महाकवि देवकोटाको नेपाली साहित्यमा अतुलनीय योगदान रहे पनि नयाँ पुस्ताले त्यसलाई विर्संदै गएको धारणा राखे ।

पूर्व सांसद रामेश्वर फुयाँलले देवकोटाको योगदान र कीर्ति जोगाइराख्नु राज्यकै दायित्व भएकोमा जोड दिए । देवकोटाको डिल्लीबजारस्थित जन्मघरलाई साहित्यिक संग्राहलयमा रोपान्तरण गर्ने आफूहरुको दशकअघिको योजनाले अझै मूर्त रुप पाउन नसकेको फुयाँलले बताए ।

उनले काठमाडौंको आलापोटमा देवकोटाको धातुको पूर्णकदको सालिक निर्माण गर्ने अभियान शुरु भैसकेको जानकारी पनि गराए ।

जोरपाटी नयाँबस्तीस्थित देवकोटा बाटिकाका संरक्षक समेत रहेका क्लबका अध्यक्ष सुवास पुडासैनीले स्थापनाकालदेखि क्लबले देवकोटाको योगदान र कीर्तिको उच्च सम्मान गर्दै आएको स्मरण गरे । क्लबकै नेतृत्वमा जोरपाटीमा देवकोटाको अर्धकदको सालिकसहित देवकोटा बाटिका स्थापना भए पनि यसको चर्चा राष्ट्रव्यापी गर्न नसकेको उनले स्वीकार गरे ।

यसैगरी क्लबका सचिव चन्द्रमणि गौतमले क्लबका गतिविधिको चर्चा गर्दै आगामी योजनाबारे पनि जानकारी दिएका थिए ।

क्लबको ३१ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा साहित्यकार बाजुराम पौडेल र जनता टेलिभिजनका कार्यकारी निर्माता सञ्चारकर्मी दीपेन्द्र दोङ तामाङलाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment