+
+

विराटनगरवासीको एकै स्वरः आश्वासन होइन विकास, डुबान होइन निकास

रासस रासस
२०७४ मंसिर १५ गते ८:१०

१५ मंसिर, विराटनगर । नेपालकै पुरानो औद्योगिक नगर विराटनगरमा अठार वर्षपहिले उद्घाटन भएको रिङरोड आजसम्म पूरा भएको छैन भन्दा जोकोहीलाई अनौठो लाग्छ ।

विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउने सबै राजनीतिक दलको साझा एजेण्डा बन्दा पनि विकासका ठूला आयोजना अलपत्र परेकामा यहाँका बासिन्दा चिन्तित छन् ।

अठार वर्षअघि ४२ किलोमिटर लामो रिङरोडको शिलान्याश गरेका तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार दर्जनौँ पटक मन्त्री, उपप्रधानमन्त्री पनि यतिका समयसम्म रिङरोडको ट्र्याकसम्म नखुल्दा विराटनगरवासी निराश छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आउन एक हप्ताअघि मात्र विभिन्न राजनीतिक दलका उम्मेदवार भोट माग्न घरदैलो, भेला, आमसभा गरिरहँदा आश्वासन बढी र विकास कम गरेको गुनासो गर्छन्, होटल व्यवसायी सुन्दर भण्डारी । उनी थप्छन्, ‘धुवाँ, धुलोले अस्तव्यस्त छ मूल सडक । ठूलो जिल्ला भए पनि भित्री सडकको विस्तार अझै भएको छैन । बर्खायाममा पूर्वतर्फको सिंघिया खोला र पश्चिमतर्फ केशलिया खोलाले वरिपरिका बस्ती डुबानमा पार्छ । दिगो तटबन्ध छैन । देशी–विदेशी पर्यटक आउँदा हेर्न लायक केही ठाउँ छैन, रम्ने पार्क पनि छैन ।’

विराटनगर बजारकै मिना क्षेत्री भन्छन्, ‘हामी भोट हाल्न आतुर छौँ तर हाम्रा लागि नेताहरु बाटोघाटो, ढल निकास बनाउन आतुर छैनन् । वर्षामा हामी सधैँ कति डुबानमा परिराख्ने ?’

देशका आधा दर्जन प्रधानमन्त्री पाएको यस जिल्लाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा भने फड्को मार्न खोजेकामा उनीहरु सहमत छन् ।

स्थानीय विक्रम निरौला १८ वर्षअघि शिलान्याश भएको रिङरोड समयमा बनेको भए विराटनगरको विकास र समृद्धि निक्कै तीव्र हुने बताउँछन् ।

त्यसो त मोरङ जिल्लामा थुप्रै उच्चस्तरका राजनीतिकर्मी, नेता नभएको त कहाँ हो र ? यो जिल्लाले देशलाई थुप्रै प्रधानमन्त्री, मन्त्रीहरु बनाएको इतिहास साक्षी छ । यसपटक पनि नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, पूर्वअर्थमन्त्री महेश आचार्य, पूर्वमन्त्री डा मीनेन्द्र रिजाल, एमालेका पूर्वमन्त्री लालबाबु पण्डित, भानुभक्त ढकाललगायतका नेताहरु चुनावी मैदानमा उत्रिएका छन् ।

छवटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा देशकै सम्भवतः धेरै ६ लाख ४४ हजार मतदाता छन् । स्वच्छ राजनीतिक छवि, जनतामा पहुँच, विकासमा योगदान, केन्द्रमा सम्बन्ध, बौद्धिक क्षमता, पार्टी संगठनमा पकड तथा कार्यकर्ताबीच लोकप्रियताका आधारमा मतदाताले आ–आफ्ना नेताको हारजितको अनुमान लगाइरहेका छन् ।

विराटनगरवासीले भनेजस्तै विकासका कार्यक्रमलाई तीव्रता दिन अब हुने नेता, नेतृत्व लिन तयार होलान्–नहोलान तर विराटनगरवासी भोट खसाल्न आतुर छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?