Comments Add Comment

आजका पत्रिकाः चुनावको तयारी पूरा, चुनावलगत्तै प्रदेश राजधानी तोकिने

२० मंसिर, काठमाडौं । आज प्रकाशित पत्रिकाहरुले बिहीबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको समाचारलाई प्राथमिकता दिएका छन् । साथै सुरक्षा कडा बनाइएको र मौन अवधिमा मत किन्ने चलखेल भएका लगायतका समाचारहरुले पनि प्राथमिकता पाएका छन् ।

चुनावलगत्तै प्रदेश राजधानी र प्रमुख

नयाँ पत्रिका दैनिकले निर्वाचन लगत्तै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिन लागेको समाचारलाई पहिलो समाचार बनाएको छ । समाचारमा लेखिएको छ- सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रदेश राजधानीका लागि सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशको अस्थायी मुकाम प्रस्ताव गरी मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ । प्रदेश नम्बर १ को राजधानी सुनसरी, २ को जनकपुर, ३ को काठमाडौं उपत्यका, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को राजधानी कैलाली प्रस्ताव गरिएको नयाँ पत्रिकामा समाचार छ ।

नयाँ पत्रिकाले आफूले आफैलाई भोट हाल्न नपाउने ठूला नेताहरुको सूची पनि राखेको छ । आफ्नो मतदान केन्द्र पर्ने निर्वाचन क्षेत्रभन्दा फरक ठाउँबाट उम्मेदवार बनेका केपी ओली, माधव नेपाल, कृष्णबहादुर महरा, राम कार्की, झक्कु सुवेदीले आफूले आफैलाई भोट हाल्न पाउने छैनन् । यसैगरी आरजु राणा, डा. मिनेन्द्र रिजाल, महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवले पनि आफूलाई भोट हाल्न नपाउने समाचारमा उल्लेख छ ।

चन्दाको भरमा चुनाव

अन्नपूर्ण पोष्ट दैनिकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार व्यक्तिगत चन्दाकै भरमा निर्वाचन लडिरहेको समाचारलाई पहिलो समाचार बनाएको छ । ती दलले आफ्ना उम्मेदवारलाई सीमित रकम उपलब्ध गराएकाले चन्दा संकलन गर्नुपरेको हो ।

समाचारमा लेखिएको छ- कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावलाई लक्ष्य गरेर सञ्चालनमा ल्याएको संस्थागत खातामा पनि न्यून मात्रामा मात्रै सहयोग संकलन भएको छ । तीन ठूला दलले दिएको जानकारीअनुसार कांग्रेसको खातामा एक करोड, एमालेको खातामा दुई करोड र माओवादी केन्द्रको खातामा तीन करोड रुपैयाँ संकलन भएको छ ।

संस्थागत संकलन भएको सहयोग रकम अति नै न्यून भएपछि पार्टीहरूले उम्मेदवारले आयोगले तोकेको सीमा बराबरको रकम उपलब्ध गराउन सकेका छैनन् ।

आयोगले प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवारले २५ लाख र प्रदेशसभा प्रत्यक्ष तर्फका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने सीमा तोकेको छ । तर, तीन ठूला दलले पार्टीका उम्मेदवारलाई संस्थागत रूपमा एक लाखदेखि ६ लाख रुपैयाँ मात्रै खर्च दिएका छन् ।

सुरक्षा घेरा कस्दै गृह

नागरिक दैनिकले ‘सुरक्षा घेरा कस्दै गृह’ शिर्षकमा निर्वाचन सुरक्षा प्रवन्ध सम्वन्धी समाचार लेखेको छ । पहिलो चरणको मतदानको दिन मतदान केन्द्रमै समेत बम पड्किएकाले यसपटक मंगलबार बेलुकादेखि मतदान केन्द्रमा कमान्डरसहित सुरक्षाकर्मी खटाइएको समाचारमा उल्लेख छ ।

निर्वाचन केन्द्रसम्म मतदातालाई सुरक्षित रुपमा ल्याउने जिम्मेवारी पाएको सेनाले स्थलसँगै हवाई गस्तीसमेत गरिरहेको छ । सैनिक प्रवक्ता नैनराज दाहालका अनुसार ८ वटा पृतनामा आठवटा हेलिकोप्टर पनि राखिएको छ ।

यसैगरी राजधानी दैनिकले पनि सुरक्षा निकाय ‘हाई अलर्ट’मा रहेको समाचार छापेको छ । निर्वाचनको मुखमा उम्मेदवार र मतदान केन्द्र लक्षित विस्फोटका घटना बढेपछि सेनाले दुर्घटना भए तत्काल उद्धार गर्ने र झडप भए नियन्त्रण गर्ने लक्ष्यसहित आफ्ना हेलिकोप्टरलाई तैनाथ अवस्थामा राखेको समाचारमा उल्लेख छ ।

सेनाले किन्दै ७ हेलिकोप्टर

कारोबार दैनिकले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न सरकारले स्वीकृति दिएको समाचार छापेको छ । विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआईपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले सानाठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ- सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ । यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानअनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ ।
सरकारले एउटै आर्थिक वर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो ।

अबको संसदमा दुई थरी दल

नागरिक दैनिकले अबको संसदमा दुई थरी दलको प्रतिनिधित्व हुने समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।

समाचारमा लेखिएको छ- नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसदमा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् । तीन प्रतिशत थ्रेस होल्डका कारण एकथरी राष्ट्रिय मान्यताप्राप्त दल र अर्को गरी सामान्य राजनीतिक दलका हैसियतमा प्रतिनिधिसभामा प्रतिनिधित्व हुनेछन् ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा दलहरुले प्राप्त गरेको मतका आधारमा दलहरुले हैसियत निर्धारण हुँदैछ । अबको संसदमा एक सिट प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment