+
+

प्रकाशमान भन्छन्- कांग्रेस सुधार्न जस्तोसुकै कदम चाल्छु, सुझाव दिनुस्

'पार्टी सभापतिलाई भावी प्रधानमन्त्री अघि सार्न भनें, तर मान्नुभएन'

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १० गते ११:३३

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव अघि नै पार्टी सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्री अघि सार्न सुझाव दिँदा पनि नमानेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता सिंहले चुनावअघि नै पद त्याग्न र भावि प्रधानमन्त्रीको रुपमा अर्को व्यक्तिलाई अघि सार्न आफूले सुझाव दिए पनि देउवाले नमानेको खुलासा गरे ।

‘कांग्रेसको अवस्था अत्यन्तै एन्टिकरेन्ट छ, तपाईंले सरकारको नेतृत्व गरेपछि कांग्रेसमा सन्तोषजनक फिलिङ छैन, कांग्रेसलाई समर्थन गर्नेहरुको पनि चित्त बुझेको छैन यसमा बिचार गर्नुपर्छ है पार्टी सभापति ज्यू भनेर मैले भनेको थिएँ,’ कार्यक्रममा उनले भने, ‘उहाँले के गर्नुपर्छ भन्नुभयो । मैले गिरिजाबाबुले किसुनजीलाई अघि सारेको जस्तै तपाईंले पनि कसैलाई सार्नुपर्‍यो ।’

तर आफूले दिएको यो सुझावमा देउवाले ध्यान नदिएको सिंहको भनाइ छ । कांग्रेस मृत अवस्थामा पुगेको भन्दै धेरै गुनासा र सुझावहरु आए पनि बेवास्ता गर्दा चुनावको नतिजामा असर परेको उनको ठहर छ ।

‘एउटा अन्तर्क्रियामा ज्यूँदो कांग्रेस अहिले मृत अवस्थामा गइरहेको बेला तिमीहरुले के आवाज उठायौ भनेर भन्दा त म छाँगाबाट खसेजस्तो भएँ,’ प्रकाशमानले भने, ‘यस्तो अब्जरभेसन पिपुलले गरिरहेको छ । कांग्रेसलाई ब्लाइन्डली सपोर्ट गर्नेहरुले नै यस्तो भनेपछि त कुरा बिग्रिएकै रहेछ नी त । त्यो त चुनावको रिजल्टले पनि देखायो ।’

कांग्रेस सुधार्न जस्तोसुकै कदम चाल्छु

वर्तमान नेतृत्व ठीक नहुँदा कांग्रेसमा थुप्रै समस्या देखिएको उनले बताए । पार्टी नेतृत्व ठीक भएन, कांग्रेसलाई सुधार ल्याऊ भन्ने अहिलेको चुनावको अभिमतले पनि देखाएको उनले बताए ।

अब कांग्रेसलाई सुधार ल्याउने काममा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उनले बताए । उनले भने, ‘जस्तोसुकै कदम उठाउन परेता पनि यो पार्टीलाई फेरि हाम्रा आदरणीय संस्थापक नेताहरुले अत्यन्तै लोकप्रिय पार्टीको रुपमा कांग्रेसलाई परिचित गराउनुभएको थियो, त्यही स्टाटसमा लग्नका लागि आफ्नो ध्यान केन्द्रित गर्ने छु ।’

अन्यथा आफूले जतिसुकै राम्रा कुरा गरे पनि र जतिसुकै विकास गरे पनि पार्टी नै ठीक भएन भने अर्थ नहुने उनले बताए ।

विद्वानबाट सुझाव माग

उनले राम्रा काम गर्नका लागि काठमाडौंबासीसँग सुझावसमेत मागे । आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको काठमाडौं क्षेत्रनम्बर १ मा धेरै विद्वान र अनुभवी व्यक्तिहरु रहेको बताउँदै उनले आफूलाई नकारात्मक काममा सचेत गराउन र सकारात्मक सुझाव दिन आग्रह गरे ।

‘वुद्धिमान व्यक्तिहरु यही क्षेत्रमा रहेको कारणले तपाईंहरुको महत्वपूर्ण सुझाव मलाई दिएर देशलाई अगाडि बढाउने भूमिकामा सहयोग गर्दिनुहुनेछ भन्ने कुरामा म आफू विश्वस्त छु,’ उनले भने, ‘मलाई द्विविधा परेको खण्डमा मैले समस्या राखेपछि यहीँबाट हल गर्न सकिन्छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु र आगामी दिनमा गर्ने पनि छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?