+
+

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस प्रमुखको कार्यकक्षमा १३ दिनदेखि ताला

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते १०:४३


२६ पुस, पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीले १३ दिनदेखि ताला लगाएका छन् । ३ महिनादेखि मागको सुनुवाइ नभएको भन्दै नेपाल विद्यार्थी संघ क्याम्पस इकाइले प्रमुख रामप्रसाद पौडेल र अन्य ३ जना सहायक प्रमुखको कार्यकक्षमा ताला लगाएको हो ।

विद्यार्थीले प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाइदिएपछि क्याम्पसमा १३ दिनदेखि प्रशासनिक काम प्रभावित हुँदा विद्यार्थी मर्कामा परेका छन् ।

३ महिनादेखि नेविसंघले क्याम्पस प्रशासनसँग हेल्थ कार्ड उपलब्ध गराउनुपर्ने, बैंकिङ सुविधा उपलब्ध गराउनुपर्ने, ल्याबका सामान खरिद गर्न टेन्डर आह्वान गर्नुपर्ने, जियोम्याटिक्स् विभागलाई अलगै विभाग बनाउनु पर्नेलगायतका १७ बुँदे माग राखेको थियो ।

‘विद्यार्थीले एन्सुरेन्स गरेको हुन्छ तर बिरामी परेपछि उपचारका लागि जाँदा प्रशासनको सिफारिस लिएर हस्पिटल जानुपर्छ,’ नेवि संघ क्याम्पस इकाइ अध्यक्ष अमन भुसालले भने, ‘त्यसैले हामीले हेल्थ कार्डको माग गरेका हौं ।’

हेल्थ कार्ड बनाउने, विद्यार्थीलाई बैंकिङ सुविधा दिने, ल्याबमा सामान खरिद गर्न टेन्डर आह्वान गर्नेलगायत १६ बुँदामा क्याम्पस प्रशासन सहमत भए पनि जियोम्याटिक्स् विभाग अलग गर्ने मागप्रति सहमत नभएपछि विद्यार्थीको आन्दोलन फेरि लम्बिएको हो ।

यो विभागमा अहिले ४ जना करार शिक्षक छन् । गएको वर्षदेखि सुरु भएको यो जियोम्याटिक्सलाई अहिले नै अलग गर्न नमिल्ने क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए । ‘विद्यार्थीको १६ वटा माग पूरा गर्ने सहमति गरेका छौं । यो विभागलाई अहिले नै अगल नगरौं, बिस्तारै गरौंला भन्दा विद्यार्थी मान्दैनन्,’ क्याम्पस प्रमुख पौडेलले भने, ‘तत्काल यसलाई फुटाउँदा राम्रो सन्देश जाँदैन । त्रिविको नियमानुसार नै पछि अलग सिफ्ट बनाउँला भनेका छौं ।’

त्रिविसँग अनुमति लिएर अलग विभाग बनाउनुपर्ने भएकाले समय लाग्ने प्रमुख पौडेलको भनाइ छ ।

सिभिल इन्जिनियरिङअन्तर्गत राखेर जियोम्याटिक्स्का विद्यार्थीलाइै उपेक्षा गरिएको विद्यार्थीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?