Comments Add Comment

सात प्रदेशका प्रमुखले लिए सपथ

५ माघ, काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुली पनि उपस्थित थिए ।

सरकारले बुधबार सात प्रदेशका प्रमुख नियुक्त गरेको थियो । प्रदेश १ को प्रमुखमा डा. गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायश्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ को प्रमुखमा मोहनराज मल्ललाई नियुक्त भएका छन् ।

अब प्रदेश प्रमुखहरुले सम्वन्धित प्रदेशको कार्यालयमा गएर पदभार सम्हाल्नेछन् । लगतै प्रदेशसभा सदस्यहरुलाई सपथ गराउनु पर्नेछ ।

यसैबीच सपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमलाई प्रवेश नदिएको भन्दै फोटो ग्राफरहरुले राष्ट्रपति कार्यालयको गेटमा क्यामरा बन्द गरेर विरोध गरेका छन् ।

फोटो पत्रकारको विरोध

प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमका फोटो पत्रकार र क्यामरा पर्सनलाई प्रवेश निधेष गरिएकोमा फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लब) ले विरोध जनाएको छ ।

अध्यक्ष विकास कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘संविधान कार्यान्वयको प्रमुख अंगको रुपमा रहेको प्रदेश प्रमुखहरुको सपथमा निजी सञ्चारमाध्यमलाई प्रवेश निषेध गरिनु संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रणमाथि ठाडो हस्तक्षेप हो ।’

पटक पटकको आग्रहलाई बेवास्ता र संवैधानिक हक तथा अधिकारमाथि हस्तक्षेप भइरहेको भन्दै पिजे क्लबले आफ्ना सदस्यहरुलाई आफूहरुको माग सम्बोधन नभएसम्म राष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिका सम्पूर्ण कार्यक्रमहरुको तस्बिर संकलन तथा सम्प्रेषण नगर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment