Comments Add Comment

चम्पादेवीमा पूर्वाधार विकास गरिँदै


१२ फागुन, काठमाडौं । सगरमाथा सजिलै हेर्न सकिने चम्पादेवीमा भौतिक पूर्वाधार विकासले तीव्रता पाएको छ ।

काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट हिमालको दृश्यावलोकन गर्न स्वदेशी तथा विदेशी आउन थालेपछि यहाँका स्थानीय मार्गको स्तरोन्नति, घरबास, सामान्य होटल, रेष्टुराँसमेत खुल्ने क्रम बढ्दै गएको छ ।

छोटो समयका लागि पदयात्रासमेत गर्न सकिने काठमाडौँ दक्षिणभेगस्थित स्थलको प्रचारप्रसार बढ्दै गएपछि पर्यटकको चापलाई दृष्टिगत गरी पूर्वाधारको विकास हुनेक्रम जारी छ । चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले पूर्वाधार विकासका लागि पहल गर्दैछ ।

दक्षिणकाली नगरपालिका–६ मा पर्ने चम्पादेवी मन्दिर वरपर क्षेत्रका केही केही जंगल कीर्तिपुर नगरपालिका्े–१ मा समेत पर्छ । चम्पादेवी पाउँ वोसनदेखि देउराली हुँदै चम्पादेवी डाँडा भई पुष्पलाल स्मृति प्रतिष्ठान क्षेत्रसम्म पदयात्राका रुपमा विकास गरिएको छ । सो मार्ग करीब नौ किलोमिटरको छ ।

सामान्य रुपमा वरपर ढुंगाको पर्खालका माध्यमबाट चम्पादेवीको शिलालाई घेरेर राखिएकामा सोही संस्थाको पहलमा केही व्यवस्थित गरिएको छ । संस्थाका अध्यक्ष जनक तामाङले चम्पादेवीको ऐतिहासिकताको संरक्षण तथा व्यवस्थापनका लागि पुरातत्व विभागबाट करिब रु आठ लाखको लागतमा मन्दिर निर्माणमा सहयोग प्राप्त भएको बताए ।

विशेष गरी फागुन चैतको समयमा सगरमाथाको अवलोकन गर्न सकिने बताउँदै उहाँले सूर्योदयका साथै सूर्यास्तसम्मका दृश्यलाई पनि हेर्न सकिन्छ भने । त्यहाँबाट मकालु, लाक्पादोर्जे, गौरीशंकरलगायत हिमशृङ्खलासमेत एकसाथ अवलोकन गर्न सकिन्छ । वनजंगलले ढकमक्क ढाकिएको चम्पादेवी क्षेत्र विभिन्न जडीबुटीको भण्डार पनि हो । लालीगुराँसले ढकमक्क ढाकिएको यहाँको जंगल फागुनचैतमा गुराँस फुल्ने भएका कारण निकै सुन्दर देखिन्छ ।

यहाँको सुन्दर दृश्य हेर्न तथा छोटो समयको पदयात्राका लागि पर्यटक लोभिने गरेको कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यले बताए । मच्छेगाउँ–चम्पादेवी, फर्पिङ–चम्पादेवी, पुष्पलाल उद्यान–चम्पादेवी, चाल्नाखेल–चम्पादेवीजस्ता पदमार्गमार्फत पर्यटक चम्पादेवी पुग्ने गरेका छन् । प्रत्येक वर्ष वैशाख १ गते त्यहाँ लाग्ने मेलामा हजारौँ पर्यटक आउने गरेका छन् । नयाँ वर्षका दिन चम्पादेवीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

पर्यटकीय गन्तव्यका लागि पर्याप्त सम्भावना भएर पनि करीब दुई दशकसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सो क्षेत्र ओझेलमा परेको थियो । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले चम्पादेवी मन्दिर तथा त्यस आसपास क्षेत्रका महत्व ओझेलमा परेको अहिलेको अवस्थामा आवश्यक पूर्वाधार विकासमा केही सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

“चम्पादेवीदेखि चन्द्रागिरि र आसपासका क्षेत्रलाई समेट्दै एकीकृत पर्यटकीय विकास गर्न सरोकार भएकासँग सहकार्य गरिनेछ, त्यहाँको विकासका लागि दुवै नगरपालिकाको समन्वय र सहकार्य आवश्यक देखिन्छ ”, उाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment