तपाई आफ्नो अनुहार अनुसार कसरी सुहाउँदो मेक अप गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यो कामका लागि तपाई अब ब्यूटीपार्लर गइराख्नु पर्दैन । मेक अप गर्न सहयोग गर्ने स्मार्ट ऐना बजारमा आइसक्यो जसले तपाईको अनुहारको अवस्था बताउनुका साथै मेक अप गर्न पनि सिकाउँछ ।
अमेरिकाको लस एन्जलसमा रहेको मरर नामक कम्पनीले एउटा स्मार्ट ऐन बनाएको छ । जो ऐना मात्रै होइन तपाईको मेक अप सहयोगी पनि हो । यसको सुरुवाती मूल्य ९९ डलर वा ७१ युरो तोकिएको छ ।
यो ऐनाले अनुहार मात्र होइन तपाईको मुटुको धड्कन नाप्न सक्छ । यस ऐनामा जर्मनीको इन्फिनन टेक्नोलोजीज एजीको थ्रीडी क्यामेरा र राडार चिप्स प्रयोग गरिएको छ । ऐनाले तपाई हिँडेका बेला मुटुको गति कति छ भन्ने पनि जानकारी गराउनेछ ।
उत्पादकले स्मार्ट ऐना बिक्रीको सबैभन्दा ठूलो आधार तस्वीर खिचेर मानिसको अनुहारको छालाको विश्लेषण गर्ने विशेषतालाई लिएको छ । यस ऐनाको माथिल्लो भागमा रहेको क्यामेराले एउटा सेल्फी खिच्नेछ र ती विवरणहरुको आधारमा विश्लेषण गर्न थाल्छ । यसले तपाईको अनुहारको छाला कालो, चाउरी परेको, आदि के कस्तो विशेषता छ सबै बताइदिनेछ ।
‘हाम्रो व्यस्त दैनिकीका कारण हामीलाई हाम्रो मेक अप र छालाको सुरक्षाको तरिकाबारे जानकार हासिल गर्न सक्दैनौं’ यसका संस्थापक जियान झाङले भनेका छन् ‘ त्यसैले हामीले केही नयाँ चिज बनाउने निधो गर्यौं जसले हामीसँग अन्तर्क्रिया गरोस् र दैनिक प्रयोग गर्न सकियोस् । हामी ऐना प्रयोगकर्तालाई अझै राम्रो बनाउन चाहन्छौं, जति उनीहरु अहिले नै छन् ।’