बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीको एउटा अन्तरवार्ता यूट्यूव र अन्य सामाजिक सञ्जालमा भाइरल भएको छ । अन्तरवार्तामा उनले बिहे गर्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ति भएको बताएका छन् ।
नवाजको किताबमा परिवारको विषयमा गरिएको टिप्पणीका बारे फिल्म क्रिटिक अनुपमा चोपडाले प्रश्न गरेकी थिइन् । त्यसमा नवाजले जवाफ दिए, ‘म परिवारको लायक नै थिइनँ । मैले गल्ति गरेँ । अहिले पनि म परिवारलाई समय दिन सकिरहेको छेन । धेरै समय म आफ्नो काममा व्यस्त हुन्छु । बच्चा र श्रीमतीलाई केही समय दिनुपर्ने हो । तर म दिन सक्दिनँ ।’
नवाज थप्छन्, ‘घर बसेको बेलामा पनि म फिल्मको विषयमा सोचिरहेको हुन्छु । त्यसपछि सम्वन्धमा गडबडी सुरु हुन्छ ।’
किताबमा नवाजले परिवारप्रति आफ्नो फोकस शून्य रहेको उल्लेख गरेका थिए ।
नवाजले भने, ‘मलाई आफ्नो फिल्मी रोलमा बाँच्न मजा लाग्छ । जब वास्तविक जीवनमा आउँछु, मलाई मानिसहरुसँग डर लाग्न थाल्छ । म रियल लाइफ फेस गर्नै सक्दिनँ । त्यसैले म कुनै पनि इभेन्टमा जान्न । अवार्ड शोमा पनि जान्न ।
यसअघि नजाज र उनकी पत्नीबीच खटपट भएको समाचार आएको थियो । तर उनीहरु दुवैले यो समाचारको खण्डन गरेका थिए ।