नायक अनमोल केसीलाई लक्षित गर्दै आमा सुस्मिता बम्जनले अघिल्लो होलीको दिन विवादास्पद स्टाटस लेखेकी थिइन् । कुन आक्रोशमा हो उनले ‘डिंगोपुत्रको सत्यानाश’ सम्म लेखिन् । तर, अनमोलले कुनै प्रतिक्रिया जनाएनन् ।
उक्त स्टाटसले आमाछोराको सम्बन्ध तितो रहेको बुझ्न सकिन्थ्यो । तर, अहिले एकाएक उनीहरुको सम्बन्धमा सुधार आएको छ ।
केही दिनअघि अनमोलको जन्मदिनमा सुष्मिताले ‘फर्स्ट विस’ गरेकी थिइन् । उनले फेसबुकमा पनि छोरालाई शुभकामना दिइन् ।
यसैगरी आज आमाको मुख हेर्ने दिन अनमोलले सुस्मितालाई सम्झिएका छन् । उनले आमासँगको बाल्यकालको फोटो सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘ह्याप्पी मदर्स डे टु माई वान एन्ड अन्ली लभ ।’
उक्त स्टाटसमा तुरुन्त कमेन्ट गर्दै सुष्मिताले पनि लेखेकी छिन्, ‘मेरो मुटुको टुक्रा, माइ जान ।’
अनमोलकी आमा सुस्मिता र बाबु भुवन केसीको केही वर्षअघि डिभोर्स भएको थियो । त्यसयता अनमोल बाबुसँग बस्दै आएका छन् । भुवनकी गर्लफ्रेन्ड जिया केसी पनि उनीहरुसँगै बस्छिन् ।
जे होस्, आमासँग सम्बन्धमा आएको सुधार अनमोलका फ्यानहरुका लागि सुखद समाचार हो ।