१७ वैशाख, पोखरा । केही न केही साहित्यिक कार्यक्रम गरिरहने पोखराले सोमबार एउटा फरक स्वादको कार्यक्रम पस्कियो । बुद्ध जयन्तीका कार्यक्रमले सामाजिक सञ्जालदेखि सर्वसाधारणसम्मको ध्यान खिचिरहेका थिए । पोखरा थिएटरको गन्धर्व नाटकघरमा भने बिना हल्लाखल्ला साहित्यको फरकशैली र स्वादको कार्यक्रम हुँदै थियो ।
नाम दिइएको थियो, पोखरा साहित्य महोत्सव । यसको चाँजो मिलाएको थियो, लाइभ एफएम पोखराले । न मञ्चमा कुनै ब्यानर छ न मञ्चमा धेरै अतिथिहरु छन् । पृथ्ठभूमिका बौद्ध ध्यजा टाँगिएको थियो । अघिल्तिर मञ्चमा दिवंगत स्रस्टाका तस्बिर र त्यसनजिकै बसेर कला, साहित्य र संगीतका कुरा हुँदै थिए ।
कार्यक्रममा नेपालका घगडान र सेलिब्रेटी भनेर चिनाएका र चिनाइएका लेखक पनि थिएनन् । थिए त, झलकमान गन्धर्वको गाउँ बाटुलेचौरमा बसेर सांरगी बचाउन तल्लीन र यहीँबाट चर्चित गीत दिएका धनबहादुर गायक । उत्कृष्ट कश्यप ऋषि र नेपालका पहिलो शाहबंशीय राजा कुलमण्डन शाहमाथि बोल्दै थिए, कास्कीकोटका ठाकुर त्रिपाठी । केही पुस्तकले १ पैसाको सम्मान पाउँदै थिए ।
एक दिनको यो साहित्यिक महोत्सवमा लेखनाथका कवितादेखि पारिजातसम्मका कविता सुनिए । कम्बोडियाबाट पोखरा आएर ३ वर्षदेखि सारंगी बजाइरहेका एरिकको प्रस्तुतिदेखि मुक्तक पनि महोत्सवमा सुनिए ।
उत्कृष्ट पुस्तकलाई एक पैसाको सम्मान
महोत्सवमा विभिन्न समयमा प्रकाशित विभिन्न विधाका पाँच पुस्तकले अवार्ड पाए । आयोजकले सम्मानको नौलो तरिका अपनाएको छ । उत्कृष्ट पुस्तकका पाँच स्रस्टालाई एक पैसाले सम्मान गरिएको हो । कलाकृतिको फ्रेमसँगै एक पैसाको सिक्का राखेर सम्मान गरिएको छ । उपन्यास, कविता र दुई भाषामा लेखिएको मुक्तक संग्रहले सम्मान पायो ।
नयनराज पाण्डेको ‘लू’ उपन्यासलाई बिपी कोइराला सम्मान, गनेस पौडेललिखित ‘पैताला’ उपन्यासलाई पारिजात सम्मान, सरिता तिवारीको कविताकृति ‘प्रश्नहरुको कारखाना’लाई भूपी शेरचन सम्मान, बिना थिङ तामाङको कविता संग्रह ‘रातो घर’लाई चाँदनी शाह सम्मान र गौरी तुमुको गुरुङ र नेपाली भाषामा लेखिएको मुक्तक संग्रह ‘समैं दर्बानी’ लाई मेलवादेवी गुरुङ सम्मान प्रदान गरिएको छ ।
पुरस्कृत स्रस्टालाई कवि प्रकट पगेनी ‘र बिपी चिन्तन प्रतिष्ठान प्रदेश ४ अध्यक्ष लक्ष्मी पाण्डेले सम्मान प्रदान गरे । नौलो खालको सम्मानको शैलीदेखेर स्रस्टा र उपस्थित दिर्घा दंग परे ।
यो दाजुको मिर्मिरे आँखा…
धनबहादुर गायक अहिले पनि सांरगी बचाउन लागिरहेका छन् । झलकमान गन्धर्वका भान्जा धनबहादुरका गीत गाउने हिट भए तर उनी भने चर्चामा आएनन् ।झलकमान सारंगी पाठशाला खोलेर सारंगी संरक्षणसँगै संगीत सिकाइरहेका धनबहादुरलाई देख्ने फलानो गीतका स्रस्टा भनेर चिन्दैनन् ।
महोत्सवको सुरुवातमै धनबहादुर गायकका तिनै चर्चित गीतका रचना गर्भ र तिनका सुखदुखबारे पत्रकार दीपक परियारले उत्खनन् गर्ने जमर्को गरे । ‘यो दाजुको मिर्मिरे आँखा…’, ‘बेली र चमेली..’, ‘फूल मायामा नभूल..’ लगायत चर्चित गीतका सर्जक गायकले रचना गर्भ र त्यसँग जोडिएका स्मृति सुनाए ।
यी गीतमार्फत बिमाकुमारी दुरा र प्रवीण गुरुङ चिनिए । ‘यो दाजुको मिर्मिरे आँखा ४५ वर्षअघि लेखिएको हो,’ गायकले सम्झे, ‘हाम्रो एउटा कलाकारको समूह मुस्ताङ पुगेर फर्किँदै गर्दा यो गीत लेखेको थिएँ ।’
पछि ती गीत कतिले आफ्नो भनेर दाबी गर्दा दुख लागेको उनले सुनाए । गीत गाउने हिट भएर आफू अलि छायाँमा परेजस्तो लाग्ने भए पनि ती गीन सुन्दा आफूलाई आनन्द लाग्ने धनबहादुरले बताए ।
पत्रकार परियारले संवादसँगै उनका गीत पनि गाउन लगाउँदा सांगीतिक माहोल पनि बन्यो । सारंगी बचाउन सरकारले नै विशेष चासो दिनुपर्ने बताउँदै उनले भने, ‘लोक गीतमा हराउँदै गएको मौलिकता हराउँदै जान लाग्दा चिन्ता लाग्छ ।’
महोत्सवमा ‘पैताला’ उपन्यासका लेखक गनेस पौडेलले उपन्यास लेखनको पृष्ठभूमी सुनाए । कवि छन्दिकाले कविशिरोमणि लेखनाथ पौडयालका ५ कविता वाचन गरिन् भने कवि बिर्सना बस्नेतले पारिजातका ३ कविता सुनाइन् । कपिल शर्माले पोखरामाथि लेखिएको मुक्तक सुनाए ।
कम्बोडियाका नागरिक एरिकले नेपालको सांस्कृतिक विविधता र नेपालमात्र पाइने सारंगीकै मोहले नेपालमा बसेको बताए ।
एक दिने महोत्सवमा निर्देशक बिमल दाहालले यस्तो कार्यक्रम विभिन्न समयमा वर्षैभरि चलाउने बताए । अबको चरणमा कविता, नाटक र संगीतलाई महोत्सवमा समेट्ने जानकारी दिए ।
शाहवंशीय पहिलो राजा कुलमण्डन विकासप्रेमी
महोत्सवमा अर्को सेसन थियो, ‘कश्यप ऋषि र कुलमण्डन शाह’ । यसका विषयमा कास्कीकोटका अध्येता ठाकुरप्रसाद त्रिपाठीले केही कुरा खोतले । सप्त ऋषिमध्येका एक कश्यप ज्योतिष विज्ञानका पिता भएको त्रिपाठीले बताए ।
अहिले विज्ञानले पत्ता लगाएका कतिपय कुरा उहिल्यै ऋषिले पत्ता लगाएको उनको भनाइ थियो । कश्यपलाई आदि पुरुषका रुपमा त्रिपाठीले चित्रण गरे । शाहवंशीय पहिलो राजा कास्कीकोटका कुलमण्डन शाह खाँड भएको उनको भनाइ थियो । उनले भारत भ्रमणका बेला दिल्लीका बादशाहबाट ‘शाह’ उपाधि पाएको त्रिपाठीले बताए । एकिकरणको जग नै कुलमण्डन शाह भएको उनको भनाइ थियो ।
कास्कीका भुरेटाकुरे राज्यमा उनले प्रभाव जमाएको त्रिपाठीले बताए । ‘यहाँका भूरेटाकुरे राज्यमा उनी प्रभावशाली थिए । हिमालसम्मै, स्याङ्जा र लमलुङसम्म उनको प्रभाव थियो,’ त्रिपाठीले भने । कुलमण्डन शक्तिशाली तथा विकासप्रेमी राजाका रुपमा त्रिपाठीले चित्रण गरे । काठे पुल राख्ने, जडिबुडी पत्ता लगाउने, विद्वान तथा ज्योतिष ल्याउने, पोखरामा भारतदेखि मुस्लिम समुदायसम्मलाई ल्याउने काम कुलमण्डनले गरेको उनले बताए ।
राजनीतिमा सक्रिय युवा मनकुमार श्रेष्ठ, नेत्र चापागाइँ, सरोज केसी, प्रवीणा अधिकारी र मीलन राइले ‘समसामयिक नेपाली राजनीतिमा युवापुस्ता’ विषयमाथि धारणा राखे ।
प्रतिक्रिया 4