बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको अफेयर चर्चाले फिल्मनगरी तातिरहेको छ । यो जोडी हरेक कार्यक्रममा सँगै देखिन थालेका छन् ।
हालै सोनम कपुर र आनन्द आहुजाको बिहेमा उनीहरु श्रीमान–श्रीमती जसैगरी नारिएर हिँडिरहेका थिए । उनीहरुले त्यहाँ उपस्थित सञ्चारकर्मीहरुको पनि परवाह गरेनन् । बरु एक–अर्कासँग लपक्क टाँसिएर पोज दिए । यसरी उनीहरु आफ्नो प्रेममा खुल्दै गएका छन् ।
एउटा अन्तरवार्तामा आलियालाई रणवीरसँगको अफेयरबारे सोधिएको थियो । सुरुमा त उनी लाजले रातो भइन् । त्यसपछि जवाफ दिइन्, ‘रणबीर मेरो बच्चैदेखिको क्रश हो ।’
यसको अर्थ उनी सानैदेखि रणवीरलाई मन पराउँथिन् । यद्यपि उनीहरुको प्रेम भने फिल्म ब्रम्हास्त्रमा सँगै काम गर्दा झांगिएको हो ।
हालै एउटा पत्रकार सम्मेलनमा रणवीरलाई पत्रकारहरुले र्यायाख्याख्ति पारे । सुरुमा त उनले आलियासँगको अफेयरबारेका प्रश्नहरु पन्छाइरहेका थिए, तर जवाफ नदिई धरै पाएनन् ।
‘आलियाले तपाईंलाई सानैदेखिको क्रश भनेकी छिन्, तपाईंको यसमा के भन्नु छ ?’ पत्रकारले सोधे ।
‘मलाई पनि आलियासँग क्रश हुन थालेको छ,’ रणवीरले जवाफ दिए । उनको जवाफमा स्वीकारोक्तिको गन्ध थियो ।
आलियाको फिल्म राजीले यतिबेला बक्स अफिसमा तहल्का मच्चाइरहेको छ भने रणवीरको फिल्म सञ्जु प्रदर्शनको तयारीमा छ । दुवै जना एक अर्काको क्यारेक्टरको प्रशंसा गरेर थाकिरहेका छैनन् । रणवीर राजी आलियाको अहिलेसम्मकै उत्कृष्ट फिल्म भएको बताए भने आलियाले सञ्जु हेर्नका लागि आफू व्यग्र रहेको बताइरहेकी छिन् ।