Comments Add Comment

नेपाली मुलकी बलिउड अभिनेत्री गीताञ्जली भन्छिन्ः ‘कास्टिङ काउचको सामाना गर्नुपरेको छैन’

बलिउड स्टारका सन्तानलाई समेत फलामको च्युरा चपाउनु जत्तिकै गाह्रो हुन्छ, बलिउडमा करियर बनाउन । भनिन्छ, दिनमै सयौं नवजवान बलिउडको सपना पालेर मुम्बई पुग्ने गर्छन् । विश्वकै ठूलो फिल्म उद्योगमध्ये एक बलिउडमा प्रवेश गर्न त्यति सजिलो छैन । करियर बनाउन त सजिलो छँदैछैन ।

नेपाली कलाकर्मी पनि बलिउडमा करियर बनाउनका लागि लालयित हुन्छन् । करियरको पूवार्द्धमा अभिनेत्री करिश्मा मानन्धरले मुम्बईमा डेरा जमाएकी थिइन् । त्यसपछि थुप्रै अभिनेत्री बलिउडमा संघर्ष गर्ने भन्दै मुम्बई पुगे र, चुपचाप कतै हराए ।

मनिषा कोइराला एकमात्र त्यस्ती नेपाली चेली हुन्, जसले एक समय बलिउडमा आफ्नो वर्चश्व कायम राखिन् । अहिले अर्की अभिनेत्री गीताञ्जली थापाको नाम बलिउडमा छाउन थालेको छ ।

सिक्किमकी गीताञ्जली नेपाली मूलकी बलिउड अभिनेत्री हुन् । हालैमात्र उनी अभिनित फिल्म ‘बाइस्कोपवाला’ सार्वजनिक भयो । यसअघि पनि उनले केही फिल्ममा अभिनय गरिसकेकी छिन् । करियरको सुरुवातमै उनी अभिनेता रणवीर सिंहको अपोजिटमा फिल्म खेलिरहेको भन्ने चर्चा चलेको थियो । यद्यपि उक्त फिल्म अहिलेसम्म सार्वजनिक भएको छैन ।

उनले ‘आइ डी’ बाट बलिउड डेब्यु गरेकी हुन् । यही फिल्मबाट उनले खुब तारिफ बटुलिन् र लस एन्जल्स फिल्म फेस्टिबलमा बेस्ट एक्ट्रेसको अवार्ड पनि जितिन् । ‘लायर्स डाइस’ बाट गीताञ्जलीले २०१३ मा बेस्ट एक्ट्रेसका लागि नेशनल फिल्म अवार्ड प्राप्त गरिन् ।

उनै गीताञ्जलीले मुम्बई बाहिर वा फरक वर्णका व्यक्तिलाई बलिउडमा स्थापित हुन कति गाह्रो छ भन्ने अनुभवसहितको कुराकानी गरेकी छिन् ।

वाइस्कोपवाला फिल्म किन छनोट गर्नुभयो ?

पहिला अडिसन भयो, त्यसपछि म छनोट भएँ । जब मैले यसको स्क्रिप्ट पढें, तब मलाई चक्कर नै लाग्यो । यो एकदम राम्रो कथा थियो । बाल्यकालमा मैले टैगोरको काबुलीवालाको कथा पढेकी थिएँ । उनको एक्साइटेड कथा छ, जो निकै रुचीकर छ । यसमा मैले मिनीको भूमिका निर्वाह गरें ।

धेरैजसो फिल्म पुरुषप्रधान हुन्छ, त्यसबाहेक यसमा मैले मूख्य भूमिका साथै अन्य धेरै गर्न पाएँ । यही नै मेरो खुसीको कुरा हो ।

फिल्म आउनु चाहिँ संयोग थियो कि, सौख ?

संयोग थियो । म दिल्लीमा सिक्किमबाट पढ्नका लागि आएकी थिएँ । त्यहाँ मेरो एकजना साथीले अडिसनका लागि बोलाए । म गएँ । छनौट पनि भएँ । काम गर्नका लागि मुम्बईमा बोलाइयो । म मुम्बई पुगें । मुम्बई आइसकेपछि मैलें सोचें कि यहीँ बसेर केही गरुँ । म अडिसन दिने थालें र राम्रो फिल्म पनि मिल्यो । जस्तो आई डी, लायर्स डायस । यही फिल्मबाट मलाई पुरस्कार पनि मिल्यो ।

यहीबीचमा म केही राम्रा व्यक्तिहरुको संगतमा पुगें, जसले अभिनय, साउन्ड, क्यामेरा फेसिङ, निर्देशन, प्रोडक्सन आदि सबैको बारेमा बताइदिए । यसबाट मलाई फिल्मलाई बुझ्न थप सजिलो भयो ।

लिकबाट बाहिर रहेर फिल्म गर्नुको कारण के हो ?

मैले धेरैजसो इन्डिपेन्डेट फिल्म गरें, जो अहिलेसम्म आठ वटा भइसकेको छ । मलाई राम्रो फिल्ममा अभिनय गर्नुछ, माध्यम जे भए पनि फरक पर्नेवाला छैन । म बाहिरबाट आएकी हुँ । मेरो कोही गडफादर छैनन् । यही कारण जुन फिल्म आउँछ, त्यसमध्ये राम्रो छनौट गर्छु । र, मेरो हिसाबले छनौट गरेको फिल्म राम्रो पनि भएको छ ।

पुरस्कारले तपाईलाई कति मोरल सर्पोट गर्छ ?

मैले यसका लागि मिनिेत गरेकी छु । जब पुरस्कार मिल्छ, तब गौरवान्वित महसुस गर्छु । यसमा मेरो मातापिता पनि एकदमै खुसी छन् । म उहाँहरुको खुसी देख्न चाहन्छु । र, यो अनुभूत मैले नेसनल अवार्ड प्राप्त गरेपछि गरें ।

बाहिरबाट आएर काम गर्नु कति गाह्रो थियो ? मातापिताले कसरी सहयोग गरे ?

मुश्किल थिएन । किनकी म दिल्लीमा पढ्नका लागि आएकी थिएँ । त्यहाँ पनि मेरो कोही थिएनन् । मेरो मातापिताले सधै मलाई करियर छनौटको लागि खुला छाडिदिनुभयो । म जे काम गर्छु, त्यसमा आफू खुसी भएको उहाँहरुले देख्न चाहनुहुन्थ्यो । छोरा होस् वा छोरी, यस किसिमको मानसिकता उहाँहरुमा छैन । यो सबै बच्चाका लागि सिक्किममा लागू हुन्छ ।

के चाहिँ हो भने, मेरो पृष्ठमूमि फिल्म उद्योग थिएन । त्यही कारण उहाँहरुलाई यसबारे खासै जानकारी थिएन । तर पनि उहाँहरुले मलाई मानसिक र आर्थिक रुपमा एकदमै सहयोग गर्नुभयो । उहाँहरु मेरो सफलताले खुसी हुनुहुन्छ ।

अहिलेको संघर्ष कस्तो छ ?

सघर्ष त चलिरहन्छ । एउटा राम्रो फिल्म मिल्नु पनि चानचुने कुरा होइन । कहिलेकाहीँ के भएको छ भने, स्क्रिप्ट मनपर्छ, तर निर्देशक मन पर्दैन । यस किसिमको संघर्ष चलिरहेको छ । र, म राम्रो भन्दा राम्रो भूमिका गर्न चाहन्छु । हरेक पटक नयाँ एक्स्प्लोर गर्न चाहन्छु । अहिलेसम्म मैले जति पनि भूमिका पाइरहेको छु, त्यसमा नयाँपन दिने प्रयास गरेकी छु ।

कास्टिङ काउचको सामना गर्नुपर्‍यो ?

खास त्यस्तो छैन । तर, कतिपयले भन्थे कि तेरो अनुहार इन्डियन छैन । यो सही हो कि, म पूर्व (पूर्वोत्तर भारत) बाट हुँ । मेरो अनुहार इन्डियन केटीको जस्तो छैन । यसका लागि म जिम्मेवार छैन । तर पनि मलाई काम मिलिरहेको छ, राम्रो काम पाइरहेकी छु । जुन संघर्ष पहिले थियो, त्यो अहिले छैन ।

एउटा विज्ञापनमा त मलाई भनिएको थियो कि, मेरो स्किन टोन डस्की छ । यस्तो मूर्खतापूर्ण कुराको सामना मैले केही पटक गर्नुपर्‍यो । तर, यसले मेरो भित्री आत्मविश्वास अरु थप बढ्यो ।

कुनै ड्रिम प्रोजेक्ट छ ?

नयाँ कुनै पनि काम गर्न चाहन्छु । र, हरेक दिन जब शुटिङमा जानुछ भने एकदमै उत्साहपूर्वक जान्छु । मलाई काममा जानुछ, त्यही नै मेरो डि्रम हो ।

आउटसाइडर भएको कारण राम्रो काम मिल्न कति गाह्रो छ ?

म यसमा विश्वास गर्दिन । मलाई काम मिलिरहेको छ । यसका साथै म धेरै यात्रा गर्छु, राम्रो मानिससँग भेटघाट गर्छु । मैले राम्रो फिल्म पनि गरेकी छु, र त्यसप्रति गर्व छ ।

फुर्सदमा के गर्नुहुन्छ ?

म धेरै पढ्छु र यात्रा गर्छु । त्यसैमा रमाउँछु ।

तपाई कति फूडी र फेसनेवल हुनुहुन्छ ? तनावमा के गर्नुहुन्छ ?

म फूडी हुँ र आफै खाना बनाएर खान मनपर्छ । मलाई मिठो पास्ता बनाउन आउँछ । म आफ्नो सजिलोको हिसाबले कपडा लगाउँछु । जब तनाव हुन्छ, खाना बनाउँछु र खान्छु ।

युवाहरुलाई के सन्देश दिनुहुन्छ ?

जे सोच्नुहुन्छ, त्यो गर्नुहोस् । आफ्नो निर्णयमा अडिग रहनुहोस् । स्रोतः एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment