Comments Add Comment

जी सिने अवार्ड नेपालमा आयोजना हुने, नेपाली चलचित्रलाई पनि अवार्ड !

बलिउडको चर्चित ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा आयोजना हुने भएको छ । आउँदो नोभेम्बर २२ देखि डिसेम्बर ८ को बीचमा अवार्ड आयोजना हुने भनिएको अवार्डमा बलिउड सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटी पनि सहभागी हुनेछन् ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुई कलाकारहरु राजेश हमाल र दिनेश डिसीलाई सामेल गरिएको थियो । सो भ्रमणका क्रममा जी टिभीका मालिक तथा भारतीय राज्य सभा सदस्य डा. सुभाश चन्द्रले नेपालमा ज ििसने अवार्ड आयेाजना गर्ने इच्छा नेपाली कलाकारहरुमार्फत प्रधानमन्त्रीमा पुर्‍याएका थिए । प्रधानमन्त्री ओली तत्काल यसमा सकारात्मक बनेका थिए ।

साथै प्रधानमन्त्रीकै इच्छा बमोजिम अवार्ड समारोह भन्दा अगाडि ‘हिमालयन कन्क्लेभ’ पनि आयोजना गरिने भएको छ । पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा हुने हिमालयन कन्क्लेभमा नेपाल, भारत, बंगलादेश लगायतका कलाकर्मीहरुको उपस्थिति रहने छ । एक दिवसीय कन्क्लेभको भोलीपल्ट घोषणापत्र जारी गरिने तथा त्यसको भोलीपल्ट अवार्ड शो आयोजना हुने कार्यक्रमको संयोजन गर्ने अनौपचारिक जिम्मेवारी पाएका दिनेश डिसीले बताए ।

विश्वका विभिन्न देशहरुमा आयोजना हुने गरेको अवार्ड नेपालमा गर्दा नेपालको पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । अवार्डमा भारतका चर्चित सेलिबि्रटीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

‘हिन्दी चलचित्र हेर्ने संसारभरका ८० करोड व्यक्तिहरुले हेर्ने अवार्ड समारोह नेपालमा आयोजना गर्दा भिजिट नेपाल २०२० लाई प्रत्यक्ष फाइदा पुग्ने छ,’ डीसीले भने ।

अवार्डको विषयमा छलफल गर्न जि टिभीका मालिक सुभास चन्द्र हिजो नेपाल आएका छन् । उनले नेपालमा फिल्म सिटी निर्माणमा पनि लगानी गर्ने इच्छा व्यक्त गरेका छन् । डीसीले उनलाई पालुङटार, सल्यानटार, तनहु लगायतका सम्भावित स्थानहरुमा अवलोकनका लागि पुर्‍याएका थिए । सरकारले निर्माण गर्ने फिल्म सिटीभन्दा यो भिन्दै हुने डीसीले बताए ।

नेपाली फिल्म विधा थप्ने घोषणा
जी टिभीको सुभाष चन्द्रले यसै वर्षदेखि जी सिने अवार्डमा ‘बेस्ट नेपाली फिल्म’ को विधा थप गरिने घोषणा गरेका छन् । डीसीका अनुसार प्रत्येक वर्ष एउटा उत्कृष्ट नेपाली चलचित्रलाई यो विधामा अवार्ड दिइनेछ ।

खर्च नेपालको पनि
भारतीय निजी टेलिभिजनको कार्यक्रम भए पनि यो अवार्ड समारोहका लागि नेपालले पनि खर्च वहन गर्ने सहमति गरिएको छ । तर, यसमा सरकारले प्रत्यक्ष खर्च नगर्ने विभिन्न विज्ञापनदाताहरुमार्फत खर्च जुटाइने डीसीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment