Comments Add Comment

ब्युटीपार्लर र टेलरिङले कहिले उँभो लाग्लान् महिला ?

महिला सशक्तीकरणमा नयाँ ‘डिस्कोर्स’ जरुरी

‘सर,तपाईंका बच्चाबच्ची चाहीं कति छन् ?’

‘मेरी दुइटी छोरी ।’

‘अहो ! दोस्रोचोटि पनि कसरी गल्ती भयो त ?’

‘मैले त कति भनेको बुढीलाई जाउँ, गराउँ भनेर । तर, जान्ने भएर ‘यसपालि त पक्कै छोरा हुन्छ’ भनी । होला नि त भनेको कस्तो मिस्टेक भयो ।’

मतर्फ पुलुक्क हेर्दै उनी फेरि बोल्न थाले, ‘हैन एकदम साइन्टिफिक हो नि । हैन र सर ? चाहिने कुरा राख्ने, नचाहिने फाल्ने ।’

यो सम्वाद महिला सशक्तीकरणका नाममा क्रियाशील दुई ‘समाजसेवीहरु’ बीचको हो । खासमा उनीहरु बीरगञ्जका ब्यापारी हुन् जसले महिला सशक्तीकरणका नाममा महिलाहरुलाई सिलाई बुनाई र ब्युटिसियनको तालिम प्रदान गर्ने संस्था चलाइरहेका छन् । महिलाहरुलाई प्रशिक्षित गर्ने तालिम केन्द्र सञ्चालन गर्नु नै समाजसेवी हुनुको प्रमाण हो, शायद त्यसैले उनीहरु छातीमा ‘समाजसेवी’ बिल्ला झुन्डाएर औपचारिक कार्यक्रम अवधिभर अथितिको रुपमा मञ्चमा आसीन थिए । उपरोक्त सम्वाद कार्यक्रमपछिको खाजा टेबलमा बसिरहेको बेला सुनिएको हो ।

स्पष्ट छ, उनीहरुले नचाहिने, फाल्ने भनेर कुरा गरेका कुनै वस्तु थिएन । गर्भमा हुर्किरहेकी एउटी छोरी थिई । जो गल्तीबस जन्मिई ।

एउटै गाउँका ५० जना महिलाहरुलाई ब्युटी पार्लरको तालिम दिएर शीपयुक्त बनाएपछि कसले ब्युटीपार्लर खोल्ने र को उपभोक्ता बन्ने ? बाटोबाटोमा १५० रुपैयाँमा दुईटासम्म रेडिमेड कपडा पाइने जमानामा गाउँमा टेलरिङ सेन्टर सञ्चालन गरेर कसरी स्वावलम्बी बन्ने महिला

महिला सशक्तीकरणको ट्याग लगाएर आफ्नो ढुकुटी भर्ने नेपाली बजारमा छ्यापछ्यापती भेटिन्छन् । नेपालमा घरेलु तथा साना उद्योग कार्यालय, मेडेप जस्ता कार्यक्रम र अन्य मुलुकहरुमा युएनडीपी, हेलभेटास जस्ता संस्थाले महिला सशक्तीकरण गर्ने भनेर सिलाई बुनाइ र ब्युटिसियनको तालिम दिँदै आएका छन् ।

सम्वादका समाजसेवीहरुले यस्ता तालिम सञ्चालन गरेर महिला सशक्तीकरण गर्दैछन् या अर्कै उद्देश्यमा मात्र केन्द्रित छन् भन्ने बारे थप बहस गर्ने अवसर हामीलाई त्यो सम्वादले नै दिँदैन । तर, यस्ता कार्यक्रमका लागि पैसा खर्च गर्ने अन्तरराष्ट्रिय संस्था र यही कार्यक्रम माग गर्दै हिँड्ने र स्थानीय स्तरमा त्यसको संयोजन गर्ने गैरसरकारी सँस्था खास कुन उदेश्यले प्रेरित छन् भन्ने बहसको भने आवश्यकता छ ।

यो विषयमा वस्तुपरक छलफल महिला अधिकारकर्मीले मात्र गर्नुपर्छ भन्ने हाम्रो धारणा अझ बढी घातक हुने पक्का छ किनकि अधिकारकर्मीलाई पैसा कमाउने पेशा बनाएर हिँड्नेको ताँती सबैले देखेकै छौं । हामी सबैले यो विषयमा आ–आफ्नो ठाउँबाट हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । महिला अधिकार, सशक्तीकरण र चेतनाको कुरा गर्ने भेडाको छाला ओढेका ब्वाँसाहरुलाई कहिलेसम्म निरीह नेपाली महिलाहरुको नाममा शिकार गर्न दिइरहने ?

मधेसमा पर्दाको चलन आज पनि उत्तिकै बलियो छ । घर, बाहिरको संसारको कल्पना गर्न सक्ने अवस्थामा उनीहरु छैनन् । त्यहाँ धेरै महिला, खासगरी विवाहित महिलालाई, “के सीप पाउनुभयो भने व्यापार गर्नु हुन्छ ?’ भनेर सोध्यो भने घरेलु व्यापार, जस्तै सिलाई बुनाई, पापड, धुप, ढाकी बनाउने भन्ने जवाफ पाइन्छ ।

एक विकासकर्मीका लागी यी जवाफहरु महत्वपूर्ण छन् भन्ने कुरामा कुनै दुइमत छैन । तथापि यी तालिम प्रदान गर्ने संस्थाले महिला सशक्तीकरण गरेका छौँ भनेर फुईं लगाउँदै हिँड्नु चाहीँ उचित होइन । कुनै हिसाबले पनि त्यो तथ्यपरक प्रमाणित हुन सक्दैन । यस्ता सीपहरुले महिलाहरुको जीवनस्तर उकास्नमा कस्तो भूमिका खेलेको छ । यसको प्रभावकारिता कस्तो छ । भन्ने कुरा बुझ्न चाहने हरकोहीले केही मिनेट समय निकालेर सामान्य गुगल सर्च गरेमात्र पनि तस्वीर स्पष्ट देखिन्छ । विश्वभरि नै भैरहेका यी तालिमले महिला सशक्तीकरणमा योगदान गरेको नभई हानी पु¥याएको सत्य हजारौँ रिसर्चबाट प्रस्ट भइसकेकोे तपाईंले देख्न सक्नुहुन्छ ।

सामान्य प्रश्न– एउटै गाउँका ५० जना महिलाहरुलाई ब्युटी पार्लरको तालिम दिएर शीपयुक्त बनाएपछि कसले ब्युटीपार्लर खोल्ने र को उपभोक्ता बन्ने ? बाटोबाटोमा १५० रुपैयाँमा दुईटासम्म रेडिमेड कपडा पाइने जमानामा गाउँमा टेलरिङ सेन्टर सञ्चालन गरेर कसरी स्वावलम्बी बन्ने महिला ?

मकवानपुरका केही महिलाले हाँस्दै भनेको कुरा यसबेला म सम्झिरहेकी छु “हामीलाई चाहिँदैन सिलाई बुनाई । हेटौँडामा बाउ बाजेदेखि टेलर चलाई आएका मुसलमानले भनेजस्तो डिजाइन सिलाइदिन्छन् । सिरियलको डिजाइन चाहिएत्यस्तै बनाइदिन्छ्न । फिलिमको जस्तो चाहिए त्यस्तै । हामिले सिकेर को हामीसँग बनाउन आउने ? केटाहरु त झन् सबै रेडिमेड मात्र लगाउँछन् ।“

बाङ्लादेशमा गरिएको एउटा रिसर्चले देखाएको छ कि व्यापारबाट आर्थिक अवस्था अलिकती सुदृढ हुने बित्तिकै पहिला आफैँ बजार गएर सामान बेच्ने महिलाहरुले स्वइच्छाले घरभित्र, पर्दा्भित्र बस्ने निर्णय गरे । बाहिर हिँड्ने महिलालाई भन्दा घरभित्र बस्ने महिलालाई बङ्गलादेशी समाजले बढी इज्जत दिन्छ । हाम्रो समाज पनि त्योभन्दा धेरै फरक छैन । बंगलादेशको अनुभब र हाम्रै समाजको मनोबिज्ञानलाई नेपालका विकासकर्मीले स्वीकार्न सक्नुपर्छ । दुई चार पैसा आम्दानी गर्दैमा महिला सशक्तीकरण हुँदैन भन्ने बुझ्नु जरुरी छ । स्वयं महिलाहरुको मनोविज्ञानमा समेत पितृसत्तको जड माकुराको जालो जस्तै भएर बसेको छ । एउटा त्यान्द्रो अलिकति तानेर केही लछारपाटो लाग्दैन । यसका लागि संस्थागत भैसकेको भेदभावको पिल्लरलाई जगबाट नै हल्लाउन आवश्यक छ । तर, कसरी ? प्रश्न जटिल छ ।

सर्वप्रथम महिला शसक्तिकरणलाई कुनै अरु नै कार्यक्रमको साइड इफेक्ट वा पैसा उठाउने ट्यागका रुपमा प्रयोग गर्ने प्रवृत्तिको हरेक तहबाट आलोचना हुनुपर्छ । हामी आम नागरिकले यो बुझ्नु आवश्यक छ कि विकासको नाममा आएको पैसा सरकारको, ठूला अन्तरराष्ट्रिय संस्थाको वा कुनै एनजीओको होइन । विकासको पैसा हाम्रो पैसा हो । हाम्रो नाममा उठेको पैसा हो र यसको उपभोग कसरी हुन्छ भन्ने कुरामा हाम्रो हक लाग्छ । यसको दुरुपयोग हुन लाग्दा त्यसको आलोचना गर्नु हाम्रो कर्तव्य हो ।

बाहिर हिँड्ने महिलालाई भन्दा घरभित्र बस्ने महिलालाई बङ्गलादेशी समाजले बढी इज्जत दिन्छ । हाम्रो समाज पनि त्योभन्दा धेरै फरक छैन

योजनावद्ध ढङ्गमा शोषणका अनेकौं अवयवहरुमध्ये कुन खुट्टा पहिला भाँच्ने भनेर निश्चित गर्नु आवश्यक छ । अब यस्ता खेतीपातीका विरुद्ध योजनावद्ध रुपले अगाडि बढ्न आवश्यक छ । आयआर्जन गर्ने सीपमूलक तालिम नै दिने भए पनि परम्परागत रूपमा महिलाले गर्न नसक्ने भनिएका कामहरुमा महिलालाई अघि नल्याइकन समाजको सोच बदल्न असम्भव छ । र, यस्ता कार्यक्रम ‘ब्वाँसा’हरुले होइन कि महिला रोल मोडेलमार्फत सञ्चालन हुनुपर्छ ।

त्यसो त भविश्य पुरै निराशाजनक पनि छैन । बाराका एक मोटरसाइकल रिपेयर व्यवसायीले भने, ‘मोटरसाइकल बनाउन हात एकदम सफा (राम्ररी चल्ने) हुनुपर्छ ।’ मैले सोधेँ , ‘हात त पुरुषको भन्दा महिलाको सफा होइन र ? महिलालाई तालिम दिनुहुन्छ ?’ उनले भने, ‘महिला आउन् न । साँच्चै सिक्ने चाहाना राखेर । गर्न नसक्ने केही छैन । मैले नसिकाउने किन ?’

त्यही जिल्लाको एक मेयरलाई ‘महिलाका लागि मोटरसाइकल रिपेयर, इलेक्टेसियनको तालिम दिने भन्दै कोही आयो भने तपाईं सहयोग गर्नुहुन्छ ?’ भनेर प्रश्न गर्दा जवाफ थियो, ‘गा¥हो त निकै छ तर म घर घर गएर भए पनि आमाबुबालाई सम्झाउन खोज्छु, मेरै घरका महिला पठाउँछु । तपाईं आउनुहोस् न, कार्यक्रम लिएर ।’ उनका शब्द मिठासका लागि मात्रै रहेछन् भने पनि कहीँ न कहीँ त यस्ता मेयर पक्कै पनि छन् ।

अब यी बेकामका सिलाई बुनाई, ब्युटी पार्लरका तालिम दिएर पैसा चोर्ने भाँडा त्याग्न जरुरी छ । महिला सशक्तीकरणको प्रश्न जटिल भए पनि पक्कै सम्भव प्रोजेक्टहरु छन् । यसतर्फ पो सरोकारवालाको ध्यानाकर्षण गर्ने हो कि ? फेरि पनि कार्यक्रमको निर्धारण गर्दा के चाहिँ भुल्नुहुँदैन भने पुरुषले मात्र गर्न सक्ने, महिलाले नसक्ने भनेर परिचय बनाएका काम नै महिलाहरुलाई सिकाउनुपर्छ ।

महिलालाई घरभित्रै राख्ने सोचलाई कामले, उदाहरणले नफेरिकन महिला सशक्तीकरण एकनाराको रुपमा मात्र रहिरहन्छ । अनि महिला सशक्तीकरणका लागि सक्रिय समाजसेवीहरु फेरि पनि केही गर्न नसक्ने छोरी फाल्न भुलेर जन्मेकोमा पछुतो मानिरहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment