+
+

सामाजिक सुरक्षाको रकम दुरुपयोग हुनसक्ने रोजगारदाताको चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १२ गते १:२८

११  मंसिर, काठमाडौं । सरकारले मंगलबार घोषणा गर्न लागेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई रोजगारदाताहरुले ‘चुनौतिपूर्ण योजना’को संज्ञा दिएका छन् । सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा शुभकामना मन्तब्य राख्दै निजी क्षेत्रका संघ संगठनका नेताहरुले समाजिक सुरक्षाका लागि ल्याइएको यो योजना श्रमिमका लागि ठूलो अवसर भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सामाजिक रुपान्तरणको प्रारम्भ भएको बताइन् । श्रम बजारलाई गतिशील र श्रम क्षेत्रलाई मर्यादित बनाउने चाहनालाई मूर्त रुप दिन कोषको परिचालन महत्वपूर्ण हुने उनको भनाइ थियो ।

‘यसको सफल कार्यान्यवनबाट नै कार्यान्वयनबाट श्रमिकको भविश्य सुरक्षित हुनुका साथै रोजगारदातालाई पनि प्रतिफल मिल्ने छ,’ उनले भनिन्,’यसलाई सफल बनाउन हामी रोजगारदाताको पनि महत्वपूर्ण भूमिका हुन्छ ।’

उनले कार्यक्रमको कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने मा जोड दिइन् ।

‘हामी नयाँ र कम अनुभवी छौैं । यो कोष सञ्चालन गर्दा विशेष ध्यान दिनैपर्छ,’ उनले भनिन्,’अनुभवबाट सिक्दै सबै श्रमिक, रोजगारदाता र मुलुककको हितमा यसको उपयोग हुनुपर्छ । ‘

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यो दिन ऐतिहासिक रहेको बताए । उनले देशभित्रै काम गरेर खाने वातावरण सिर्जना गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले सघाउन पुर्‍याउने तर्क गरे ।

‘नेपाली कति सक्षम छन् भन्ने प्रमाणित गर्न र कुनै गलत काम गर्दैनन् भन्ने कुरा प्रमाणित गर्न यो कोषको भूमिका रहनेछ,’ शर्माले भने,’यो अवसर हो, अवसरको सदुपयोग हुने गरी कोष अघि बढोस् भन्ने चाहन्छौं ‘

उनले कर्मचारी र मजदुरलाई दिइने सामाजिक सुरक्षाले सुख र सन्तुष्टी दिने भन्दै त्यसमार्फत नै उत्पादनको गुणस्तर कायम गर्दै उत्पादकत्व वृद्धि गर्न सहयोग सकिने उनको तर्क थियो ।

‘यो दिनलाई अबको १० वर्ष पछि नेपालमा काम गरेर खान सक्ने वातावरण सिर्जना भएको दिनको युगान्तकारी दिनको रुपमा सम्झन सकियोस्,’ उनले भने ।

शर्माले त्यही १० वर्षमा सामाजिक सुरक्षा कोष नेपालको सबैभन्दा ठूलो रकम भएको संस्था हुने बताए । ‘यसको सदुपयोग गर्दै राष्ट्र निर्माणमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिइयोस्,’ उनले पनि भने ।

रोजगारदाता परिषदका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले श्रमिकले चाहेको सामाजिक सुरक्षामा निजी क्षेत्र पनि सहमत भएर संयुक्त प्रयासबाटै कार्यक्र ल्याउन सकिएको बताए ।
उनले श्रम क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउने दायित्व सबैको भएको भन्दै रोजगारदाताको प्रमुख हिस्सा रहने कोषको परिचालन सही ढंगबाट हुनुपर्ने बताए ।

‘संगठित क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन गर्न समस्या नहुन सक्छ । असंगठित क्षेत्रको सामाजिक सुरक्षा प्रमुख चुनौति हो,’ उनले भने, ‘यो चुनौति चिर्न सकियो भने नेपालको श्रमबजार व्यवस्थित बनाउन यसले प्रमुख भूमिका खेल्छ ।’

सामाजिक सुरक्षा कोषमार्फत नै श्रम क्षेत्रलाई व्यवस्थित बनाउन लागिएकाले कोषको व्यवस्थापन महत्वपूर्ण रहेको उनको भनाइ छ । सामाजिक सुरक्षामा श्रम क्षेत्रको तथ्यांक रहने हुँदा यसको सुरक्षा पनि महत्वपूर्ण रहेको तर्क उनले गरे ।

ढकालले श्रम क्षेत्र व्यवस्थित हुँदा प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउन पनि सहयोग पुग्ने बताए । ‘उद्योग वाणिज्य महासंघ यो ऐतिहासिक घटनाको सहयात्री हो,’उनले भने,’अब यसमा सरकारको कार्यान्वयन जिम्मेवारी महत्वपूर्ण रहन्छ ।’

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले असल श्रम सम्बन्धका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले भूमिका खेल्ने बताए । आर्थिक समृद्धिका लागि पनि असल श्रम सम्बन्सहित रोजगारदातालाई पनि उद्योग व्यवसाय सञ्चालनमा सहजता आवश्यक रहेको बताए ।

‘तर पनि कोषको कुशल व्यवस्थापन चुनौतीपूर्ण रहनेछ, यो निजी क्षेत्रको योगदानमा बन्ने सबैभन्दा ठूलो कोष हुनेछ,’ उनले भने,’ दिगो विकास लक्ष्य प्राप्तिका लागि यो कोषको ठूलो भूमिका रहन्छ । किनभने यो कोषको रकम सही रुपमा परिचालन गर्न सके ठूला आयोजनाहरु बन्न सक्छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?