२५ पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ महिनामै २ लाख भ्रमण भत्ता बुझेको पाइएको छ ।
प्रदेश सरकारका मन्त्री र तीनका स्वकीय सचिवहरुको सबै भ्रमण भत्ता जोड्दा साढे ८ लाख रुपैयाँ सकिएको छ । साउनयता मुख्यमन्त्रीसहित ६ मन्त्री र उनका स्वकीय सचिवले दैनिक भ्रमण भत्ताबापत मात्र ८ लाख ६६ हजार रुपैयाँ बझेका हुन् ।
भ्रमणभत्ता बुझ्नेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सबैभन्दा अगाडि देखिएका छन् । मुख्यमन्त्री गुरुङले साउनयता २ लाख ९ हजार २५ रुपैयाँ आन्तरिक भ्रमण भत्ता बुझेका हुन् । गुरुङले हालसम्मकै भ्रमण भत्ता बुझिसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लेखापाल अुर्जनप्रसाद पौडेलले जानकारी दिए ।
मुख्यमन्त्रीले स्वदेश भ्रमणमा दैनिक ३ हजार र विदेश भ्रमण गर्दा दैनिक २ सय ५० डलर र मन्त्रीले नेपालभित्र भ्रमण गर्दा २ हजार ५ सय र विदेशमा भ्रमण गर्दा १ सय ७५ अमेरिकी डलर दैनिक भत्ता पाउने ऐनमा व्यवस्था छ ।
कार्यालयका अनुसार मुख्यमन्त्री र मन्त्रीले अहिलेसम्म विदेश भ्रमण भत्ता भने लिएका छैनन् ।
स्वकीयमा छोरी र भाइ
मुख्यमन्त्रीले प्रतिमहिना ६० हजार ९ सय ७० रुपैयाँ पारिश्रमिक पाउनेछन् भने राजपत्र द्वितीय स्तर र शाखा अधिकृत स्तरको एकएक जना स्वकीय सचिव र दुई जना कार्यालय सहयोगी राख्न पाउने व्यवस्था छ ।
मुख्यमन्त्री गुरुङले शाखास्तरको अधिकृतस्तरको स्वकीय सचिवमा छोरीलाई राखेका छन् । छोरी एलिना गुरुङले मुख्यमन्त्रीकी स्वकीय सचिवका रुपमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट कात्तिकसम्म पारिश्रमिक बुझेको देखिएको छ । शाखा अधिकृतस्तरको स्वकीय सचिवको पारिश्रमिक ३० हजार ५ सय रुपैयाँ ताकिएको छ ।
कार्यालय सहयोगी पनि उनकै भाइ छन् । मुख्यमन्त्री गुरुङका भाइ भीमबहादुर गुरुङले मासिक पारिश्रमिकका रुपमा १६ हजार २ सय रुपैयाँ बुझ्दै आएका छन् ।
नाम | पद | दैनिक भ्रमण भत्ता -रुपैयाँ) |
पृथ्वीसुब्बा गुरुङ | मुख्यमन्त्री | २ लाख ९ हजार २ सय ५० |
सूर्यप्रसाद गुरुङ | स्वकीय सचिव | २६ हजार ४ सय |
गोविन्द नेपाली | राजनीतिक सल्लाहकार | १३ हजार ५ सय २५ |
किरण गुरुङ | अर्थमन्त्री | ९६ हजार ८ सय ७५ |
रोमाकान्त पोख्रेल | स्वकीय सचिव | २८ हजार |
रामशरण बस्नेत | भौतिक पूर्वाधारमन्त्री | ९६ हजार ६ सय २५ |
निर्मल गुरुङ | स्वकीय सचिव | ५१ हजार २ सय |
हरिबहादुर चुमान | कानुनमन्त्री | ७४ हजार ३ सय ७५ |
खुमबहादुर विक | स्वकीय सचिव | २२ हजार |
विकास लम्साल | पर्यटनमन्त्री | ५४ हजार ३ सय १० |
किशोर सापकोटा | स्वकीय सचिव | २१ हजार ६ सय |
लेखबहादुर थापा | कृषिमन्त्री | ४८ हजार ८ सय ४८ |
भरत खनाल | स्वकीय सचिव | ३० हजार ८ सय |
नरदेवी पुन | सामाजिक विकासमन्त्री | २० हजार |
बेगप्रसाद गर्बुजा | स्वकीय सचिव | ९ हजार २ सय |
मुख्यमन्त्रीले २५० लिटर डिजेल, १० लिटर मोविल, एउटा गाडी, सञ्चारका लागि ५ हजार, अतिथि सत्कारमा ४० हजार र बिलअनुसार धारा विजुलीको रकम पाउने छन् । मुख्यमन्त्रीले कुपनअनुसार डिजेल भर्छन् भने अन्य मन्त्रीको डिजेल र अन्य सुविधाको रकम बैकमा पठाउने गरिएको लेखा अधिकृत पौडेलले जानकारी दिए ।
घुमेर भत्ता लिएका होइनौंः मन्त्री बस्नेत
प्रदेश सरकारले मन्त्री र स्वकीय सचिवलाई जिल्लाबाहिर कार्यक्रममा जाँदाको भ्रमणभत्ता उपलब्ध गराउँछ । सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले अहिलेसम्म नियमअनुसारकै भ्रमण भत्ता बुझ्दै आएको प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
‘सरकारी रकम दुरुपयोग हुन नदिन सरकार र सबै मन्त्री सचेत छौं,’ प्रवक्ता बस्नेतले भने, ‘भ्रमण खर्च बढी देखिनु भनेको घुमेर लिएको रकम होइन, विभिन्न कार्यक्रम, अनुगमन र सरकारी योजना लिएर जनतासम्म जाँदा लागेको खर्च हो ।’
मन्त्री र तीनका स्वकीय सचिव बाहिरी जिल्ला जाँदा लाग्ने यातायात, खाना-खाजा र फिल्डमा जाँदा भएको अन्य सरकारी खर्चबापतको रकम भएको प्रवक्ता बस्नेतले बताए ।