२२ माघ, प्यूठान । ‘विज्ञान हत्याकाण्ड’का मुख्य अभियुक्त रमेश मल्ल कारागार चलान भएका छन् । तीन वर्षदेखि फरार मल्ललाई प्रहरीले पक्राउ गरी सोमवार कारागार चलान गरेको प्यूठान प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।
पुँजा गाविस–१ गोसाइँखेत निवासी विज्ञान केसीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका ३३ वर्षीय रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत प्यूठानको ०७२ भदौ २८ गतेको फैसला अनुसार दोषी ठहर भएका मल्ललाई १९ वर्ष ११ महिना ५ दिन कैद सजाय तोकिएको छ । २०६९ पुस ३ गते केसीको इलाका प्रहरी कार्यालय पुँजालिवासे र ठूलावेशी बजारबीच बाटोमा हत्या भएको थियो ।
मल्ललाई आइतबार राति बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँबाट पक्राउ गरिएको प्रहरी निरिक्षक देवी प्रसाद पौडेलले जानकारी दिए । जिल्ला अदालतको आदेश अनुसार मल्ललाई सोमबार नै कारागार चलान गरिएको उनले बताए ।