+
+

बोलबम पेट्रोल पम्पमा शिलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २ गते १६:४०

२ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१४ पिपरास्थित बोलबम पेट्रोल पम्पमा प्रशासनले शिलबन्दी गरेको छ । पानी मिसिएको डिजेल बेचेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा गएको टोलीले पम्प शिलबन्दी गरेको हो ।

पानी मिसिएको डिजलका कारण दुईवटा गाडीको इन्जिन सिज भएको खबर भएपछि प्रहरीसहितको टोली पेट्रोल पम्पमा पुगेको थियो ।

मनोज गुप्ता सञ्चालक रहेको पेट्रोल पम्पमा ना१क ९०५१ नम्बरको टेलर र बा२०च ७४४८ नम्बरको कारका चालकले डिजेल भरेर पाँच सय मिटर यात्रा गर्दा इन्जिन सिज भएको थियो ।

सवारीधनीले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी प्रशासनसहितको टोली पुगेर पेट्रोल पम्पका स्थलगत निरीक्षण गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख, प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रशासन नेतृत्वकोे टोली पम्पमा पुग्दा सञ्चालकका प्रतिनिधिहरु शशी पटेल र राजकुमार चौरसिया मात्रै उपस्थित थिए ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बोलबम पेट्रोल पम्पबाट डिजल भरेर गन्तव्यमा जाँदै गरेका सवारीमा समस्या आएको गुनासो आएपछि पेट्रल पम्पको अनुगमन गर्नुको साथै नमूना परीक्षणका लागि स्याम्पल लिएको बताए । ‘तीनवटा बोत्तलमा नमूना परीक्षणका लागि डिजेल लिएका छौं । एउटा आयल निगमको ल्याबमा र अर्को गुणस्तर तथा नापतौल विभागको कार्यालयमा पठाएका छौं, अनि एउटा जिल्ला प्रशासन कार्यालयमा सुरक्षित राखेका छौं,’ उनले भने ।

नमूना परीक्षणको नतिजा प्राप्त भइ नआउँदासम्म पेट्रोलपम्पबाट इन्धन बेचबिखन गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?