Comments Add Comment

सीमान्तकृत समुदायका लागि ढंगको योजना आएन : नगर प्रमुख सरावगी

६ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले ढंगको योजना नआएका कारण सीमान्तकृत समुदायको क्षेत्रमा काम गर्न नसकेको बताएका छन् ।

विगतमा लक्षित समुदायको नाममा कागजमा मात्रै काम भएको बताउँदै नगर प्रमुख सरावगीले अब त्यसो हुन नदिने बताए ।

सीमान्तकृत दलित समुदायका सवाल र पहुँचको सन्दर्भमा वीरगञ्जमा आयोजित अन्र्तक्रियामा बोल्दै नगर सरावगीले ‘खाना पूर्ति’ योजनाहरुमा वजेट नदिने बताए ।

‘वीरगञ्ज महानगरपालिकामा ३१ जना दलित महिला सदस्य हुनुहुन्छ, तर उहाँहरु आफ्नो समुदायका लागि कुरा उठाउनु हुन्न । भौतिक निर्माणमा कार्यपालिकाका सबै सदस्य वजेट विनियोजन गर्न तयार हुन्छन्,’ उनले भने, ‘सामाजिक विकासका कुरा आउँदा तयार हुँदैनन्, योजना आईहाले पनि खानापूर्ति योजना आउँछन्, आजसम्म एउटा ढंगको योजना आउन सकेको छैन ।’

वडामा खर्च हुने रकमको २५ प्रतिशत सीमान्तकृत समुदायका लागि छुट्याउन आफूले निर्देशन दिइसकेको उनको भनाई छ ।

बाहिर रहेका २ हजार सीमान्तकृत दलित समुदायका बालबालिकालाई विद्यालय ल्याएको भएपनि उनीहरु नटिको उनले बताए । ‘बाहिर रहेका २ हजार बालबालिकालाई विद्यालयमा ल्यायौं, तर उनीहरु विद्यालयमा टिकेनन्, आम्दानीसँग नजोडी नहुने देखेपछि अहिले बेल्वामा हामीले दलित परिवारलाई पाल्नका लागि बाख्रा दिएका छौं,’ नगर प्रमुख सरावगीले भने, ‘विगतमा लक्षित समुदायका नाममा व्युटिसियन, सिलाइकटाइ, कम्प्युटरलगायत विभिन्न सीपमुलक तालिम भएका छन्, तर उपलब्धी छैन, कागजमै भएको छ । अब त्यसो हुन्न, सोसियल अडिट समेत माग्छौं ।’

उनले महानगरपालिकाका दलित समुदायका जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि गराउन तालिम दिने, चर्पी बनाउन सनक्नेलाई महानगरपालिकाले चर्पी दिने र दलित भनी कसैलाई मन्दिर प्रवेशमा रोक लगाउनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले दलित समुदाय भित्रै पनि एकता नभएका कारण उनीहरु पछि परेको बताइन् । ‘दलित भित्र पनि आन्तरिक विभेद छ, रुढीवादी सोचले ग्रस्त छन्, त्यसलाई हटाउनुस्,’ उनले भनिन्, ‘पहिला अधिकार माग्नुपर्छ, त्यसपछि दिएनन भने त्यसको विरोध गर्नुपर्छ ।’

नेकपाका नेता प्रभु हजराले आपसी छलफल गरेर योजनावद्ध ढंगले काम गर्नुपर्ने सुझाए । ‘महानगरपालिकाका ३१ जना दलित जनप्रतिनीधिहरु भत्ताका लागि मात्रै नलड्नुस, एक ठाउँमा बसेर समुदायका लागि के के गर्न सकिन्छ त्यसका बारेमा छलफल गर्नुस,’ उनले भने ।

नेपाल रेडक्रस सोसाइटीका प्रदेश २ का संयोजक फुल महम्मद मियाँले आफ्नो समुदायका लागि आफैंले आवाज उठाउनुपर्ने बताए ।

जनजागरण युवा क्लब, बाराको सहयोग तथा नागरिक संवाद मञ्च पर्साको आयोजनामा अन्र्तक्रियाको आयोजना भएको थियो ।

कार्यक्रममा बोल्ने अन्य दलित सीमान्तकृत समुदायका अगुवाहरुले सीमान्तकृत समुदायका लागि छुट्याएको बजेट अरु समुदायकालाई दिने गरेको, स्थानीय तहले सीमान्तकृत समुदायला उपेक्षामा राखेको, गरीब विपन्न पहुँच नभएका समुदायको बस्तीमा नाला सरसफाई नगर्ने गरेको, भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने गरेको गुनासो गरेको नागरिक संवाद मञ्चका सदस्य शिवनाथ यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment