६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यका अंगप्रति आम नागरिकको वितृष्णा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
६९ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले जिजुबुबा त्रिभुवनसहित प्रजातन्त्रका निम्ति योगदान गर्ने सबैलाई स्मरण गरेका छन् ।
जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र भएपछि देश भ्रमणका क्रममा आम नागरिकमा त्यस्तो अनुभूति नपाएको ज्ञानेन्द्रले बताएका छन् ।
उनले वक्तव्यमा भनेका छन्, ‘आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितिष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनु गम्भीर चिन्ताको विषय बनेको छ ।’
शक्ति प्रथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्यूत हुन नहुने र दण्डहिनता एवं विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा पूर्वराजा ज्ञानेन्द्रले जोड दिएका छन् ।