Comments Add Comment

‘अब ‘मोबाइल’ साहित्यको भविश्य छ’

१८ फागुन, काठमाडौं । केही वर्षयता नेपाली साहित्यमा लघुकथा लेख्ने चलन ह्वात्तै बढेको छ । छोटा वाक्य संरचना, थोरै पात्र र थोरै शब्दमा ठूलो कुरा भन्नु परे लेखकले लघुकथाको सहारा लिने गरेका छन् । थोरै लेखेर धेरै पाठक कमाउन पनि लेखकहरुले लघुकथा लेख्ने गरेको बताउँछन् ।

सानो ठाउँ ओगट्ने भएका कारण सञ्चारमाध्यमले पनि लघुकथालाई स्थान दिने गरेको पाइन्छ । पछिल्लो समयमा लघुकथामा प्रतिवद्ध लेखकहरुको संस्था गठन हुने क्रम पनि बढिरहेको छ । इन्टरनेटमा लघुकथा सम्बन्धी दर्जनौं समूह खडा भएका छन् । पुरस्कारहरु स्थापना भएका छन् । लघुकथाका अध्येताहरु यसलाई लघुकथाको युग सुरु भएको मान्छन् ।

यो लहर खहरेजस्तो बनेर सुक्ने त होइन ? लघुकथामै विद्यावारिधि गरेका पुष्करराज भट्ट भन्छन्, ‘लघुकथा समयको माग हो । हरेक कुरा छोटो छरितो बनाउने चलन बढेर गएको छ । एउटै मोबाइलमा घडी, पत्रिका र टेलिफोन हुने जमानामा साहित्य पनि त्यसैमा पढ्न सकियोस् ।’

बैतडीको दशरथचन्द नगरपालिका, कुमाली टोलका भट्ट अहिले काठमाडौंमा लघुकथा जागरणमा लागेका छन् । लघुकथा लेखन, यही विधाको पत्रिका र समालोचनामा समय खर्चिरहेका भट्टसँग गरिएको कुराकानीको सम्पादित अंश:

अहिलेको नेपाली साहित्यमा लघुकथाको स्थान कहाँ छ ?

कविताभित्र गजलले जस्तै आख्यानभित्र लघुकथाले आफ्नो स्थान बनाएको छ । तर, यो विधा केही नयाँ हो । पहिले साहित्य भन्नेवित्तिकै लालित्यपूर्ण, गम्भीर, लामो र बर्षौं साधनापछि लेखिने भन्ने कुरा थियो । पाठकले पनि त्यसै गरी पढ्थे । अहिले पनि त्यो कामय छ । तर, नयाँ पुस्ताले साहित्यमा गम्भीर कुरालाई कसरी छोटोमा भन्ने चिन्तन गर्न थाले । यो चिन्तन मध्ये लघुकथा एक हो । गम्भीर कुरा भन्न लम्बेतान लेखिरहनुपर्छ भन्ने छैन भन्ने सोचका कारण अहिले लघुकथाको आकर्षण बढेको हो ।

लघुकथाको यो आकर्षण कहिलेदेखि बढेको देख्नुहुन्छ ?

कथा लेख्नेहरुले पहिल्यैबाट छोटोमा कथा भन्नुपर्छ भन्ने गरेका थिए तर, पूर्णप्रसाद ब्राम्हणले यसलाई प्रयोग गरे । उनले लघुकथा नै भनेर सुरु गरेका भने होइनन् । २००७ सालमा उनले लेखेको ‘झिल्का’ नामक कथा लघुकथा जस्तै छ । हामी त्यसैलाई नेपालको पहिलो लघुकथा भन्छौं ।

०३६ सालको राजनीतिक क्रान्तिका बेला कविहरुले सडकमा कविता भन्न थालेपछि आख्यानकारहरुले पनि छोटोमा कथा भन्नुपर्ने बाध्यता आइलाग्यो । यही बेला सडकमा कथा भन्नका लागि सुरुमा लघुकथा लेखिए । यो निकै लोकप्रिय भयो । त्योबेला हवाई पत्रिका निस्कन्थे । लामा कथा त्यसमा छाप्न सम्भव थिएन । त्यसका लागि पनि लघुकथा लेख्नुपर्ने बाध्यता आयो । पत्रिकाहरुले पनि लामा कथा छाप्न स्थान अभावका कारण सम्भव थिएन । यी सबै कारणले ०३६ सालपछि बाध्यतामा सुरु भएको यो विधा ०५० सालसम्म आइपुग्दा लोकप्रिय भयो ।

यही कारण तपाईले पनि लघुकथामा विद्यावारिधि गर्नुभएको हो ?

विद्यावारिधि नै गर्नु छ भने नयाँ विषयमा गर्दा दुःख भए पनि नयाँ पुस्तालाई सजिलो हुन्छ भनेर यसैमा गरेको हुँ ।

विदेशतिर यसको अवस्था कस्तो रहेछ ?

भारत, बंगलादेश, पाकिस्तानतिर पनि ३ सय शब्द सम्ममा चोटिलो कथा भन्ने चलन बढेर गएको छ । मञ्चमा उभिएर भन्दा पनि त्यसले ताली पाओस् भन्ने चाहानाले काम गरेको हुन सक्छ । अहिले युट्युबतिर लघुकथा वाचन गरेर त्यसै अनुसारका चित्र वा भिडियो बनाएर राख्ने चलन बढेको छ ।

युट्युबमा लामाभन्दा छोटा चलचित्र लोकप्रिय हुन थालेपछि साहित्यकारहरुले पनि आफ्ना रचना युट्युबमा राख्न थालेका छन् । ठूला साहित्यकारका गम्भीर रचनाभन्दा लघुकथा लोकप्रिय भएका कारण पनि यसको चलन बढेको छ ।

अंग्रेजी र चीनियाँ साहित्यमा यसको चलन पुरानो हो नि ?

अंग्रेजी साहित्यमा जेलाई ‘सर्ट स्टोरी’ भनिन्छ, त्यो लघुकथा होइन । नेपालीमा जेलाई कथा भनिन्छ त्यसलाई अंग्रेजीमा सुरुदेखि नै सर्ट स्टोरी भनिएको हो । युरोप–अमेरिकातिर लामा, गम्भीर साहित्य लेखिन्थे, जसलाई ‘सर्टस्टोरी भनियो । लघुकथालाई त्यता सर्ट सर्टस्टोरी भनिन्छ । अझ त्यो भन्दा छोटा कथालाई माइक्रो स्टोरी भनिन्छ ।

चीनमा भने लामो र छोटो कथा एक साथ प्रचलनमा आएको थियो । बुद्ध धर्म र झेन सम्प्रदायको प्रभावका कारण कुनै पनि कुरा शुत्रमा भन्नुपर्छ भन्ने चलन सुरु भयो । लुसुनले यसको राम्रो प्रयोग गरे । रुसमा एन्टोन चेखबले लामो कथा लेखनलाई छोट्याउने प्रयास गरेका थिए ।

रामायण, महाभारतभित्र धेरै लघुकथाहरु छन् । मुख्य पात्रहरुको कुनै कुरा बुझाउनु पर्दा लघुकथाको सहारा लिएको पाइन्छ । बुद्धका उपदेशभित्र पनि हजारौं लघुकथा छन् । चीनीया र जापानी साहित्यमा त्यसैको प्रभाव छ ।

नेपालमा पनि लघुकथा भन्दा छोटा कथा पनि लेख्ने गरिएका छन् । ती लघुकथा हुन् कि त्यसको अरु नाम छन् ?

डा. धु्रवचन्द्र गौतमले आख्यानमा धेरै किसिमका प्रयोग गरे । तीमध्ये एउटा प्रयोग सूत्रकथा हो । सूत्रकथा लघुकथाभन्दा छोटा हुन्छन् र इशारामा कुरा बुझ्नुपर्छ । यी असाध्यै छोटा हुन्छन् । अहिले यसलाई थोरै बढाएर ट्वीटर कथा सुरु भएको छ । विनय कसजुले ‘बिऊ’ नामक ट्वीटर कथा सङ्ग्रह निकालेर यसको प्रयोग गरेका छन् । यस्ता कथाहरु अंग्रेजी साहित्यमा चलेको माइक्रो स्टोरीका परिवर्तित रुप हुन् ।

मेरो विचारमा लघुकथाभन्दा छोटोतिर जाँदा प्रयोग त होला तर विधा दह्रो हुँदैन । बरु लघुकथामै नयाँ नयाँ प्रयोग गर्नु चाहिँ पाठक र लेखकका लागि राम्रो हुन्छ ।

कस्तो प्रयोग ?

भारतका लघुकथा पत्रिकाहरुले विशेषाङ्क निकाल्छन्– कुनै नारी, कुनै मानवेत्तर, कुनै राजनीति त कुनै युवा विषयमा केन्द्रित भएर । यसो गर्दा लघुकथा लेखकहरु आफ्नो रुचिका विषयमा गहिरिन सक्छन् ।

नेपालमा पनि सयौं लघुकथा लेखक जन्मिसके । उनीहरुले आफूलाई विशिष्ट बनाउन आफ्नो विषयमा गम्भीर अध्ययन गर्ने र छोटोमा लालित्यपूर्ण तरिकाले गम्भीर कुरा भन्न सक्ने अवस्थामा आफूलाई पुर्‍याउनु पर्छ । यसो गर्दा पाठक आकर्षित हुन्छ । लघुकथा अझ समृद्ध हुन्छ ।

नेपाली लेखकका चर्चित १० लघुकथाकारको नाम लिनुपर्‍यो भने क–कसको नाम लिनुहुन्छ ?

पुरानाबाट क्रमशः पूर्णप्रसाद ब्राम्हण, दुर्लभलाल सिंह, जगदीश नेपाली, विनयकुमार कसजु, सुमन सौरभ, डा. रबीन्द्र समिर, डा. कपिल लामिछाने, नारायण तिवारी, कृष्ण बजगाईं र कृष्ण शाह यात्री ।

नेपालका चर्चित दुईवटा लघुकथा छान्नुपर्‍यो भने ?

मैले विद्यावारिधि गर्दा पढेका एक हजारभन्दा बढी कथा मध्येबाट पहिलो–

१. एम्बुलेन्सको देश

– विनयकुमार कसजूू

बस गुल्ट्यो ।

धेरै मानिस घाइते भए ।

घाइते सबै नेपाली थिए ।

होइन रहेछ ।

कोही नेवार थिए, कोही गुरुङ थिए, कोही तामाङ, कोही बाहुन, कोही क्षेत्री …..।

मानौँ सिँगै नेपालका विविध जातजातिको प्रतिनिधित्व बसभित्र थियो ।

समस्या पर्‍यो उद्वारकर्ताहरूलाई, एम्बुलेन्सको व्यवस्था गर्नेहरूलाई ।

लिम्बु एम्बुलेन्स आयो, घाइते सबै लिम्बुहरूलाई चिनेर गाडीमा राखेर लग्यो ।

यादव एम्बुलेन्स आयो, घाइते सबै यादवहरूलाई चिनेर गाडीमा राखेर लग्यो ।

तामाङ एम्बुलेन्स आयो घाइते सबै तामाङहरूलाई चिनेर गाडीमा राखेर लग्यो ।

बाहुन एम्बुलेन्स आयो, क्षेत्री एम्बुलेन्स आयो, गुरुङ एम्बुलेन्स आयो ।

नेवार एम्बुलेन्स आयो, मगर एम्बुलेनस आयो, राई एम्बुलेन्स आयो ।

हिन्दु एम्बुलेन्स आयो, बौद्ध एम्बुलेन्स आयो ।

क्रिस्चियन एम्बुलेन्स आयो, इस्लाम एम्बुलेन्स आयो ।

सबैले आआफ्ना घाइतेलाई अस्पताल पुर्‍याए ।

तर घाइते अझै बाँकी थिए, जसको जात, धर्म, थर, ठेगाना थाहा भएन ।

तर ती सबै नेपाली थिए ।

आखिर उद्धारकर्ताहरुले नेपाल एम्बुलेन्स खोजे ।

तर नेपाल एम्बुलेन्स कतै भेटिएन ।

नेपाल एम्बुलेन्स वर्कसपमा पठाएको कसैलाई सम्झना भएन ।

अभिलेख समेत भेटिएन ।

२. नयाँ कथा

डा. रवीन्द्र समीर

कथा पुरानै हो । तर, शीर्षक नयाँ ।

युुवाहरू गाउँमै थिए । बुुढाबुुढीहरू पनि गाउँमै थिए । खेतबारीहरू कतै बाँझो थिएन । सबैतिर हराभरा थियो । गाउँका अविवाहित महिलाहरू पनि हराभरा थिए ।

गाउँमा हरियाली त थियो तर बिस्तारै युुवाहरू विदेशिन थाले । हुुँदाहुुँदा गाउँ त युुवाविहिन पो हुुन थाल्यो । हराभरा महिलाहरू पनि खेतबारीझै बाँझै हुन थाले । गाउँमा बुुढाबुुढी र केटाकेटी मात्र बाँकी रहे । तिनले बाली लगाउन सक्ने कुुरा भएन ।

यो नयाँ कथा हो:

गाउँका बुुढाबुुढीहरू पनि विदेश जान थाले । कोही चार महिना, कोही छ महिना, कोही एक वर्ष विदेश बसेर गाउँ फर्कन थाले । चौतारोमा गफ गर्ने पुुरानो चलन हो ।

उनीहरू चियापान तथा घरघरमा जम्मा भएर मात्र होइन, चप्पलजत्रा आधुुनिक मोबाइल फोनबाट समेत गफ दिन थाले—‘हाम्रो नेपाल त खतमै रहेछ नि ! त्यहाँ त टोपी खस्ने महल, चिल्ला बाटा, समुुद्र, जे खाए पनि पाइने ।’

कुुनै जमानामा विदेश जान नपाएका युुवाहरू गाउँमा बस्न लाज मान्थे । आजभोलि विदेश नगएका बुुढाबुुढी गाउँमा बस्न लाज मान्न थालेका छन् ।

सेतै फुुलेका तल्लाघरे बुुढा लट्ठी टेकेर धनबहादुुरको घर आए र गर्वका साथ भने, ‘हैन हौ, तँ कतिपटक विदेश गइस, हँ ? तेरा सबै छोराछोरी विदेश छन् ।’

उसलाई खुुब लाज लाग्यो । उसले मनमनै भन्यो–‘विदेश गएर फुर्ती देखाउन आएको बुढो । आफ्ना त छोराछोरी पनि मख्खीचुस परेछन् । यसो बाबुुआमालाई बोलाउनुु नि ।’

तल्लाघरे बुुढाले फेरि सोधे–‘तँ अस्ट्रेलिया गइस् धने ?’

धनबहादुुरले जवाफ दियो– ‘भिसा र टिकट त धेरै पटक पठाए । ज्योतिषले जहाज चढे प्रलय हुुन्छ भनेर पो मार्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment