Comments Add Comment

‘भरतमोहनलाई बृद्धभत्ताले नै सम्झाइरहनेछ’

१९ फागुन, काठमाडौं । विभिन्न पार्टीका नेताहरुले दिवंगत नेता भरतमोहन अधिकारीलाई सफल अर्थमन्त्रीका रुपमा चित्रण गरेका छन् ।

अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन नेपाल कम्युनिस्ट पार्टीको कार्यालय धुम्बाराहीमा पुगेका नेताहरुले अधिकारीले अर्थमन्त्री हुँदा ल्याएको ‘बृद्धभत्ता’ र ‘आफ्नो गाउँ आफै‌ं बनाउँ’ जस्ता लोकप्रिय कार्यक्रमलाई नै बढी सम्झिए ।

नेता अधिकारीका विषयमा विभिन्न नेताहरुले राखेको धारणा यहाँ प्रस्तुत गरेका छौं ।

माधवकुमार नेपाल, नेकपा नेता

दुई जना आ–आफ्नो समयका हस्तीहरु हामीले गुमायौं । जनताका लोकप्रिय पुरानो पुस्ताका भरतमोहन अधिकारी र नयाँ पुस्ताका रवीन्द्र अधिकारी ।

भरतमोहन अधिकारी र मेरो सहकार्य २०४४ सालदेखि हालसम्म कायम रह्यो । अन्तरिम संविधान होस वा संविधानसभाबाट संविधान जारी गर्ने बेलामा होस् उहाँले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सफल र लोकप्रिय अर्थमन्त्री मात्रै हुनुभएन, पार्टीलाई नै लोकप्रियताको शिखरमा पुर्याउनुभयो । उहाँले पाएको जिम्मेवारी जहिले पनि कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

समावेशी अर्थतन्त्र उहाँको मान्यता थियो । त्यसकारण उहाँबाट नयाँ पुस्ताले जनताको मन र भावनासँग जोडिने बजेट कसरी बनाउने, लोकप्रिय बजेट कसरी बनाउने भन्ने सिक्नुपर्छ ।

सुवास नेम्वाङ, नेकपा नेता

अर्थमन्त्रीको रुपमा आफ्नो गाउँ आफैँ बनाउँ कार्यक्रमदेखि बृद्धभत्ताको सुरुवात जस्ता कार्यक्रम कार्यान्वयन गरेर लोकप्रिय अर्थमन्त्रीका रुपमा उहाँ स्थापित हुनुभएको छ । उहाँ साह्रै नरम, भद्र र सबैसँग मिल्ने खालको हुनुहुन्थ्यो ।

एउटा वकिलको रुपमा, एउटै मन्त्रिपरिषदको सदस्यको रुपमा र सांसदको रुपमा हामी सँगै रह्यौं । उहाँलाई मैले देश र जनताको हितमा क्रियाशील व्यक्तित्व, राम्रो नेता, सांसदको रुपमा सम्झिएको छु ।

गिरिराजमणि पोखरेल, शिक्षामन्त्री

पुरानो पुस्ताको व्यक्तिको रुपमा उहाँले खेलेको भूमिका स्मरणयोग्य छन् । आफ्नो गाउँ आफैँ बनाउँ, बृद्धभत्ताजस्ता कार्यक्रमले उहाँ चिनिनुभयो । राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक परिवर्तन पनि अन्त्यन्तै महत्वपूर्ण हुन्छ । आर्थिक पक्षमा उहाँ लगातार रुपमा आफ्ना अभिव्यक्तिहरु दिइरहनुहुन्थ्यो ।

विजयकुमार गच्छदार, कांग्रेस उपसभापति

असल कम्युनिस्ट नेता राष्ट्रले गुमाएको छ । नेपालको राजनीतिक परिर्वनमा उहाँले सधैँ संसदीय लोकतन्त्र र प्रजातन्त्रका लागि नेतृत्व गर्नुभयो ।

उहाँले अर्थमन्त्रीको हैसियतमा नेपालको उन्नतिका लागि सामाजिक, आर्थिक परिवर्तन ल्याउनका लागि उहाँको महत्वपूर्ण भूमिका रह्यो । त्यसकारणले उहाँ असल अर्थ विज्ञ, समाज सुधारक नेता हुनुहुन्थ्यो । राष्ट्रले एउटा असल राजनीतिज्ञ गुमाएको छ ।

शशांक कोइराला, नेपाली कांग्रेस महामन्त्री

विराटनगरमा हुँदादेखि नै मैले उहाँलाई चिनेको हुँ । उहाँ अत्यन्त राम्रो, सरल, स्पष्ट धारणा राख्न सक्ने मान्छे हुनुहुन्थ्यो । उहाँकै पालामा बृद्ध भत्ता कार्यक्रम आयो त्यो राम्रो थियो । हामीले पनि बृद्ध भत्ता हुनुपर्छ भनेका थियौं ।

सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री

२०५१ सालको सरकार केवल ९ महिना चल्यो । सरकार बनेको ६ महिनापछि त्यसमाथि हमला सुरु हुन थाल्यो, काम गर्ने अवसर नै थिएन । उहाँले पर्याप्तसमय पाउनुभएन । तर पनि उहाँको कार्यकालमा जति काम भएको छ ती महत्वपूर्ण छन्, अविश्मरणीय छन् ।

वृद्धहरुलाई सम्मान गर्नुपर्छ भन्ने सोचाइ नभइरहेको स्थितिमा सरकारको कार्यक्रममार्फत वृद्ध भत्ताको थालनी गराउनुभयो । समाजमा पछाडि पारिएका, हेपिएका मानिसहरुको कल्याण गर्नुपर्छ र उनीहरुको उत्थान हुनसक्छ भन्ने कुराको आरम्भ गर्ने नेताको अवशान भएको छ ।

महेन्द्र यादव, राजपा संयोजक

उहाँले अर्थमन्त्री हुँदा गाउँलाई प्राथमिकतामा राख्नुभयो । वृद्धभत्ता, गाउँलाई ३ लाख रुपैयाँ दिने कामको थालनी उहाँको पालामा भएको हो । नेपालको अर्थ क्षेत्रमा उहाँले बनाउनुभएको आधार स्तम्भ छ त्यही आधारमा मुलुक अहिले अगाडि बढिरहेको छ ।

राजेश हमाल, अभिनेता

बनारस पढ्दाखेरि नै मेरो बुबा र उहाँको राम्रो मित्रता थियो । मेरो परिवारको इतिहाससँग पनि जोडिनुभएको छ । बनारसमा मेरो बुबा र मुमाको विवाह गराइदिने महत्वपूर्ण भूमिका भरतमोहन अधिकारीले निभाउनुभयो । त्यो पारिवारिक नाताले पनि श्रद्धाञ्जली दिन आएको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment