+
+

गोल्यानको उद्यम : चप्पलदेखि धागोसम्म, होटलदेखि हाइड्रोसम्म

'हजारौंलाई रोजगारी दिएँ, व्यापारघाटा घटाउन सघाएँ'

रोयल आचार्य रोयल आचार्य
२०७५ फागुन २२ गते ३:३०

२१ फागुन, काठमाडौं । नेपालमा मूलतः व्यापारिक र राजनीतिक परिवारका सदस्यहरुले अब्बल उद्योगी-व्यवसायी घरानाको पहिचान बनाएका छन् । यसमा पनि दुईखाले छन्- आयात व्यापारमा अब्बल बनेका व्यापारिक घराना र उद्योग खोलेर उँभो लागेका उद्योगी घराना । आयात व्यापारले धेरै राजश्व तिरे पनि वैदेशिक व्यापार घाटा बढाएको छ भने उद्योगले रोजगारी सिर्जनाका साथै व्यापार घाटा घटाउन सघाइरहेको हुन्छ ।

स्वदेशमा उद्योग सञ्चालन गरेर अब्बल बनेकाहरु मध्ये एक हुन्, पवन गोल्यान ।

पवन अध्यक्ष रहेको गोल्यान समूहले अहिले ५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने मुलुकको व्यापार घाटा घटाउन करिब ७ प्रतिशत योगदान गरिरहेको छ ।
यसबाहेक पवन गोल्यान ‘क’ वर्गको वाणिज्य बैंक एनएमबी र नेपाल धागो उत्पादक संघको पनि अध्यक्ष छन् । गोल्यान समूहले बीमा, जलविद्युत्, रियलस्टेट, कृषि र हस्पिटालिटी क्षेत्रमा पनि लगानी गरिरहेको छ ।

१४ वर्षको उमेरबाट कारोबार

मोरङको पुरानो सदरमुकाम रंगेलीमा जन्मिएका पवन अहिले ६० वर्षका भए । उनको समयमा १६ वर्ष नपुगी प्रवेशिका परीक्षामा सहभागी हुन नपाइने भएकाले कागजमा दुई वर्ष उमेर बढाएर १४ वर्षको उमेरमा विराटनगरको सत्यनारायण हाइस्कूलबाट एसएलसी पास गरे । एसएलसी दिएपछि खाली समयमा बुवा सोहनलाल गोल्यानले उनलाई पुख्र्यौली ब्यापार सिकाए ।

‘बुबाले पहिलो दिन दिनुभएको दुईवटा बहिखातामध्ये एउटा खाली थियो’, पवन सम्झन्छन्, ‘त्यसमा अर्कोको पुरा कारोबार ध्यान दिएर सार्नु भन्नुभयो ।’ दास्रो दिनबाट नयाँ खातामा नयाँ हिसाब किताब राख्न सिके । त्यसरी बुबालाई कारोबारमा सघाउँदै, सिक्दै उनले १९ वर्ष पुग्नै लाग्दा मोरङ क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरे । ‘त्यसपछि बुवाले कारोबार पुरै जिम्मा दिनुभयो’, पवन भन्छन् ।

त्यसबेला विराटनगरमा गोल्यान समूहको कपडा उद्योग थियो, तर बन्द अवस्थामा । पवनले त्यसलाई सञ्चालनमा ल्याए । त्यसपछि उनले पस्मिना उद्योगमा हात हालेर सबैभन्दा धेरै निर्यात गर्ने उद्यमी बने । उनले नेपाल बाहिर उद्योग खोल्ने सोच कहिल्यै राखेनन् । यसको खास कारण छ । ‘बुवाले धेरै मुलुक घुमेर हेर्नुभयो, हङकङ र यूएईमा लगानी गर्ने योजना पनि बनाउनुभएको थियो’ पवन भन्छन्, ‘तर, असफल भएकाले मैले दायाँबायाँ नहेरी स्वदेश मै काम गरेँ ।’

छाता र चप्पलपछि धागो उद्योग

सोहनलाल गोल्यानले बिराटनगरमा चप्पल, छाता, जिपर (प्यान्ट र ज्याकेटको चेन) र अडियो क्यासेट बनाउने उद्योग पनि खोलेका थिए । त्यसबाट उद्यम-कारोबार सिकेका छोरा पवनले कपडा उद्योगमा पारिवारिक नेतृत्व लिए ।

बुवाले सम्हाल्न नभ्याएर बन्द गरेको कपडा उद्योगबाटै आफ्नो व्यवसायिक सफलताको यात्रा शुरु भएको पवन बताउँछन् । उनी भन्छन्, ‘अनि धागो उद्योग खोल्ने योजना बन्यो र सन् १९९४ मा एमएस ग्रुपका शशीकान्त अग्रवालसँग मिलेर ५०-५० प्रतिशत लगानीमा रिलायन्स स्पिनिङ मिल राख्यौं ।’

त्यस लगत्तै नेपाल र भारतबीच भएको एउटा व्यापारिक सम्झौताले धागो उद्योगलाई मद्दत गर्‍यो । त्यसकै परिणाम स्वरुप नेपालमा बनेको सुती र सिन्थेटिक धागो ठूलो परिमाणमा भारत निर्यात हुन थाल्यो । अलि पछि त टर्कीतिर पनि निर्यात हुन थाल्यो, जुन अहिले पनि जारी छ ।

गोल्यान समूहको अर्को उद्योग छ- शिवम् प्लाष्टिक इण्डष्ट्रिज । यहाँ उत्पादित ८० प्रतिशत भन्दा बढी पोलि-प्रोप्लिन ब्याग (सिमेण्ट राख्ने बोरा), टार्पाेलिन (त्रिपाल) र झोलाहरु भारतमा निर्यात हुन्छ । ‘निर्यात कै हेतुले खोलेको स्वेटर उद्योग भने विभिन्न कारणले सोचे जस्तो हुन सकेन’, पवन भन्छन्, ‘अहिले भतिजाले सम्हालिरहेको त्यो उद्योगले आन्तरिक बजार भने राम्रै गरिरहेको छ ।’

हाम्रो पनि दिन आयो

मुलुक पछिल्लो समय व्यापार घाटाको चपेटामा छ । दिनानुदिन आयात बढ्दा निर्यात भने एकदमै कम देखिएको छ ।

कृषिप्रधान मुलुक कृषि उपजमै परनिर्भर बन्नुपरेको अवस्था छ । चालु आर्थिक वर्षको अघिल्लो छमहिनामा कुल वस्तु व्यापारघाटा ३२.१ प्रतिशत बढेर ६ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा सातखर्ब २३ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात र जम्मा रु.४५ अर्ब ४१ करोडको निर्यात भएको छ ।

यो अवस्थामा गोल्यान समूहको उद्योग-व्यावसायले नेपालको कुल वस्तु तथा सेवा निर्यातमा साढे ७ प्रतिशत हाराहारीमा योगदान गरिरहेको पवन गोल्यानको दाबी छ । एउटै व्यवसायिक घरानाबाट यति ठूलो परिमाणमा निर्यात गर्ने सम्भवतः गोल्यान समूह नै हो ।

पछिल्लो सरकारी नीतिले आफूलाई उत्साहित पारेको पवन गोल्यान बताउँछन् । सरकारले निर्यातमूलक उद्योगलाई पनि केही सहुलियत दिने नीति लिएको उनी बताउँछन् । ‘हिजो आयात गर्नेहरुलाई धेरै राजश्व दाखिला गरेको माला लगाएर सम्मान र हामीलाई बेवास्ता गरिन्थ्यो’, पवन भन्छन्, ‘अहिले सरकाले नै निर्यात बढाउनुस् भन्न थालेकाले हाम्रो पनि दिन आयो भन्ने लागेको छ ।’

सरकारलाई मात्र गाली गरेर केही हुँदैन भन्ने उनका सरकारसँग केही अपेक्षा र सुझावहरु छन् ।

सरकारले मुलुकको कृषि क्षेत्रलाई यो तालले छाड्न नहुने उनी बताउँछन् । कृषिसम्बन्धी सरकारी संयन्त्रहरु प्रभावकारी नभएको भन्दै उनले भने, ‘किसानका लागि भनिने कार्यक्रमहरु किसानसम्म पुग्यो, पुगेन भनेर हेर्नु पर्‍यो ।’

कृषिमा काम गर्दा पवनको अनुभवले भन्छ-च्याउ सरी चिस्यान केन्द्र उमि्रनु ठीक होइन । किटनाशक औषधिमा सहुलियत दिनु हुँदैन । रासायनिक मलमा पनि धेरै लगानी गर्नु हुँदैन । प्रांगारिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति आउनुपर्छ । सरकारले इक्युपमेन्ट बैंक खोलेर किसानलाई ट्र्याक्टर, थ्रेसर लगायतका मेसिनरी किन्न सघाउनुपर्छ ।

‘अनुदान वा सहुलियत दिएर मात्र हुँदैन, लक्षित वर्गसम्म पुग्यो, पुगेन भनेर प्रभावकारी अनुगमन पनि हुनुपर्‍यो’, पवन भन्छन्, ‘नत्र त बिचौलिया मोटाउने र किसान सुक्ने मात्र हुन्छ ।’

उद्योग क्षेत्रमा सरकारी ढिलासुस्ती औंल्याउँदै उनले भने, ‘अर्थमन्त्रीज्यूले ६० दिनमा कार्यान्वयन गर्छु भनेको निर्यातमूलक उद्योगलाई सहुलियत दिने नीति अझै कार्यन्वयन भएको छैन । के समस्या आएर ढिलो भयो बुझ्न सकिएन ।’

बैंकिङमा सफल नेतृत्व

एमएमबी बैंकले लगातार दुईपटक बेलायतस्थित द फाइनान्सियल टाइम्सको ‘बैंक अफ दी इयर अवार्ड’ पायो-२०१७ र २०१८ मा । त्यसमा पनि पवन गोल्यानको प्रमुख भूमिका रहृयो । अहिले उनी एमएमबी बैंकको अध्यक्षका रुपमा दोस्रो कार्यकालमा छन् ।

बोर्डले तनाब दिएकै कारण बैंकहरुका कार्यकारी अधिकृत (सीईओ)ले राजीनामा दिएको धेरै दृष्टान्त छन् । तर, पवन गोल्यान यस्ता अध्यक्ष हुन्, जसले आफ्नो बैंकका सीईओलाई प्रगति देखाउन प्रेरित गर्छन् । ‘बोर्डले भिजन दिने र व्यवस्थापनले काम गर्ने हो’, उनी भन्छन्, ‘हाम्रो बैंकमा त्यही भएको छ ।’

यस्तै एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स (एनएलआइसी) र एसियन लाइफ इन्स्यारेन्स कम्पनीमा पनि समेत गोल्यान समूहको लगानी छ ।

होटलदेखि हाइड्रोसम्म

उत्पादनमा केन्दि्रत गोल्यान समूहले पछिल्लो समय रियलस्टेट र सेवा क्षेत्रमा पनि लगानी बढाएको छ । होटलतर्फ रेसिडेन्सेस् एट हायात प्लेसमा लगानी छ भने वेष्टार प्रपर्टिजमार्फत ललितपुरको बालकुमारीमा हाउजिङ छ ।

त्यस्तै, माथिल्लो बलेफी जलविद्युत् आयोजना (४६ मेगावाट), बलेफी हाइड्रोपावर आयोजना (३६ मेगावाट), भोटेकोशी हाइड्रो (३५ मेगावाट) र केएनबीआर इस्वा हाइड्रोपावर (९७ मेगावाट) निर्माणाधीन छन् भने २० मेगावाटको सोलार परियोजनामा लगानी छ । पवन गोल्यानले विद्युतको लागि छुट्टै समूह बनाएका छन् ।

साथी र छोराहरुको टिम बनाएर एकहजार मेगावाटको जलविद्युत् परियोजना चलाउने जिम्मा लगाएको उनले सुनाए । भन्छन्, ‘ठुला आयोजनामा विदेशी साझेदार समेत भित्र्याउने गरी काम गर्न भनेको छु ।’

कृषि उद्यमबाट लगानी

पवनले पछिल्लो समय कृषि उद्यममा ध्यान दिएका छन् । कृषि प्रधान मुलुकमा ठूलो परिमाणमा कृषि उत्पादन आयात गर्नुपर्ने अवस्था हटाउन सकिन्छ कि भनेर कृषिमा हात हालेको उनले बताए । भने, ‘झापामा २०० बिघा जग्गा किनेर कागती, आँप, लिच्ची, मेवा, खरबुजा लगायतका फलफूल लगाउन लागेको छु ।’

कृषकहरुलाई पनि आधुनिक कृषिमा प्रोत्साहन गरिरहेका छन् । त्यसका लागि माछा, बंगुर, कुखुरा र गाई पालनका लागि सहयोग गरिहेका पवनले बताए । ‘काम गर्न चाहने तर, स्रोत नभएका किसानहरुलाई नगद होइन, आवश्यक सामग्रीमा लगानी गरिदिने गरेको छु’, उनी भन्छन्, ‘त्यसका लागि गैर-नाफामूखी गोल्यान एग्रो कम्पनी खोलेका छौं ।’

पवन गोल्यानले समाज सेवाका लागि छोरा जयन्तको स्मृतिमा छुट्टै संस्था स्थापना गरेका छन् । १४ वर्षको उमेरमा बितेका छोराको नाममा खोलेको जयन्त गोल्यान फाउण्डेशनले महिला र कृषकलाई आत्मनिर्भर बनाउने शीप विकास तालीम तथा सहयोग गर्ने गरेको छ ।

पैसाले खुशी किन्न सक्दैन

हरेक काम गर्दा अनेक समस्या आइपर्छन् । कतिपय मानिस समस्या आईपरेपछि थालेको कामलाई बिचैमा छाडिदिन्छन । तर, पवन त्यो समूहमा पर्दैनन् ।

उनको स्वेटर उद्योग सोचेजस्तो चलेन । स्टिल उद्योगमा त पुरै लगानी डुब्यो । तर, उनले निरन्तर काम गरिरहे, वुद्वि खियाइरहे अनि लगानी गरिरहे । न त निराश भएर एजेन्सी व्यापारमै लागे ।

नेपालमा भारत लगायतका मुलुकबाट वस्तु तथा सेवा आयात गरेर मालामाल हुनेहरु पनि धेरै छन् । पवन गोल्यानले भने उत्पादन र निर्यातमा मात्र ध्यान दिए । उनी भन्छन्, ‘मलाई उद्योग खोलेर रोजगारी सिर्जनासँगै पैसा पनि कमाउन सकिन्छ भने किन एजेन्सी व्यापारमा लाग्ने भन्ने लाग्छ ।’

निर्यातमुलक उद्योगबाट मुलुकलाई थोरै भएपनि फाइदा पुर्‍याएको अनुभूति उनलाई छ । उनी कसरी पैसा कमाउने भन्ने चिन्तनमा रहन्छन्, तर ‘जसरी पनि’ कमाउँन चाहँदैनन् । बुवा सोहनलाल गोल्यानले नै उनको दिमागमा यो सोच भरिदिएका हुन् । पवनले रंगेली बजारमा आफू जन्मेको झुपडीको सुगन्ध पनि भुलेका छैनन्, जहाँबाट आफ्ना बाबुले कारोबार थालेका थिए ।

‘जीवनमा सम्झँदा सन्तुष्ट लाग्ने कुराहरु छन् भने मान्छेलाई खुशीको दुःख हुँदैन’, ६० वर्षे पवन भन्छन्, ‘मलाई पैसाले मात्र खुशी किन्न सकिन्छ जस्तो लाग्दैन ।’

फेरि, पैसा र ‘पावर’ले मान्छेलाई कहिल्यै नपुग्ने उनको बुझाइ छ ।

दोस्रो पुस्ताको काँधमा व्यवसाय

गोल्यान समूहमा अहिले तेस्रो पुस्ता सक्रिय छ । पवन र उनका दाजु बासुदेवले बिस्तारै छोरा बुहारीहरुलाई जिम्मा लगाउँदै छन् । पवनका एक छोरा र दुई भतिजले विदेशमा अध्ययन गरे । एक भतिज बुहारी पनि विदेशमा पढेकै आएकी छन् ।

छोरा, भतिज सबै विदेशमै व्यवसाय गर्न चाहन्थे, तर आफैंले फकाई फुल्याई देश फर्काएको पवन बताउँछन् । अब उनीहरुले नै व्यवसाय सम्हाल्न थालेका छन् । छोरा अक्षय, भतिजाहरु शक्ति र अनन्त, बुहारी लतिकाले पूरापूरा जिम्मेवारी लिएका छन् ।

गोल्यान परिवारले भाग्यले लतिका जस्ती व्यवसाय सम्हाल्ने बुहारी पाएको पवनले बताए । ‘चेन्नेईमा पढेकी उनले हस्पिटालिटी क्षेत्र जिम्म्ाा लिएकी छन्’, गर्वका साथ उनले भने, ‘अब गोल्यान समूहको नेतृत्व तेस्रो पुस्तामा गयो ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?