Comments Add Comment

टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल कतारसँग

६ चैत, काठमाडौं । सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकपको एसिया छनोटको फाइनल राउण्डको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको एसिया छनोटको अन्तिम प्रतियोगिता जुलाई २२ देखि २८ तारिखसम्म सिंगापुरमा हुने भएको हो ।

एसिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग २३ जुलाईमा खेल्ने छ । त्यस्तै दोस्रो खेलमा मलेसियासँग २४ जुलाईमा प्रतिस्पर्धा गर्ने नेपालले २७ जुलाईमा कुबेतसँग र २८ जुलाईमा सिंगापुरसँग खेल्नेछ ।

एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । यूएई भने ग्लोबल छनोटको अयोजना गर्ने भएपछि उसले एसिया छनोटको फाइनल राउण्ड नखेल्ने भएको हो । उसले स्वतः ग्लोबल छनोटमा स्थान बनाएको छ ।

ग्लोबल छनोटमा कति टिम ?

यूएईमा २०१९ अक्टोबरदेखि नोभेम्बरसम्म हुने ग्लोबल छनोटमा १४ टिमको सहभागिता रहनेछ । आईसीसीको विश्व बरियतामा ११औं देखि १६औं स्थानसम्म पर्ने टिमले स्वतः घटुवा भएर विश्वकपका लागि ग्लोबल छनोट खेल्नु पर्नेछ ।

आईसीसीको बरियताबाट घटुवा हुँदै ग्लोबल छनोट खेल्ने टिममा स्कटल्यान्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स, ओमन, हङकङ र आयरल्यान्ड रहेका छन् । यी ६ टिमले विश्वकपका लागि विभिन्न महादेशबाट छनोट भएर आएका टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

एसिया, अमेरिका र अफ्रिकाबाट समान २–२ टिम विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यस्तै, इष्ट एसिया प्यासिफिक र युरोपबाट समान १–१ टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

यसरी विभिन्न महादेशबाट छनोट भएर आएका आठ राष्ट्र र आईसीसीको बरियताबाट घटुवा भएका ६ राष्ट्र गरी १४ राष्ट्रले विश्वकप प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । यो छनोटबाट शीर्ष ६ टिमले २०२० को विश्वकप खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment