३१ जेठ, वीरगञ्ज । पर्सामा भारतीय गाडी सञ्चालन गर्न कडाइ गर्ने तयारी गरिएको छ । नियम विपरीत सञ्चालित भारतीय गाडीप्रति प्रहरी प्रशासन कठोर बनेको हो ।
भारतीय गाडी विभिन्न अपराधिक क्रियाकलापका साथै लागूऔषधको कारोबार र तेल तस्करीमा समेत प्रयोग हुन थालेपछि कडाइ गर्न थालिएको प्रहरीले जानकारी दिएको छ ।
केही दिन यता प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेर अनुमति पत्र नलिइ सञ्चालनमा रहेका भारतीय सवारीलाई कारबाही गरिरहेको छ । त्यसक्रममा ७ वटा गाडी नियन्त्रणमा लिएर भन्सारमा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
दैनिक पाँच सय भन्दा बढी भारतीय साना सवारी नेपाल आउने गरेको भन्दै उनले त्यसमध्ये ४ सय वटा दर्तासमेत नगरी नेपाल आउने गरेको बताए ।
त्यस्तै मोटरसाइकल १ हजारको हाराहारी आहोरदोहोर गर्ने गरेको तथ्यांक प्रहरीसँग छ । ‘दर्ता नहुँदा लाखौं रुपैयाँ दैनिक राजश्व घाटा भइरहेको छ भने अर्कोतर्फ भारतीय सवारी अपहरण, चोरी, लागूऔषध तस्करीमा संलग्न भएको पाइएको छ । प्रज्ञापनपत्र बिनाका सवारी साधन चल्न दिन सक्ने अवस्था छैन । त्यसैले चेकजाँचमा कडाइ गरेका हौं,’ प्रहरी उपरीक्षक राठौरले भने ।
उनले सीमावर्ती क्षेत्रमा चोरीका भारतीय गाडी पनि उत्तिकै सूचना भारतीय पक्षबाट आएकोले अनुसन्धान गरिरहेको बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पर्साको ग्रामीण क्षेत्रमा तेलको खपतमा अश्वभाविक वृद्धि हुनुको पछाडि भारतीय सवारी नै रहेको बताए ।
उनले दुःख दिने नियतले नभइ खराब गतिविधिमा भारतीय गाडीको प्रयोग भएकोले कडाइ गरेको बताएका छन् । ‘नेपाल आयल निगमले अघिल्लो वर्ष पर्साको ग्रामीण क्षेत्रका पेट्रोल पम्पमा ८० हजार लिटर तेल दिएको रहेछ, यसवर्ष वैशाखसम्ममा डेढ लाख लिटर खपत भइसक्यो, किन यसो भयो भनेर खोज्दै जाँदा कतिपय भारतीय नम्बर प्लेटका सवारीसाधनको काम दिनभरी तेल ओसार्ने मात्रै हुँदो रहेछ,’ उनले भने ।
उनले भारतीय गाडीलाई २४ घण्टा बस्न अनुमति पत्र पाउने पैसा नलाग्ने गरेको र त्यो भन्दा बढी दिन राख्नका लागि भन्सार तिर्नुपर्ने प्रावधान रहेकोले त्यसलाई सबैले पालना गर्नुपर्ने बताए ।
तर पर्सा जिल्लामा वीरगञ्ज भन्सार कार्यालयमा मात्रै इन्ट्री र भन्सार कटाउने सुविधा छ । ग्रामीण क्षेत्रमा छोटी भन्सार भए पनि त्यस्तो सुविधा छैन । जसका कारण सीमावर्ती क्षेत्रबाट खुल्लम खुल्ला भारतीय गाडी नेपाल भित्रने गरेका छन् । कतिपय सवारी अपराधिक क्रियाकलापमा समेत प्रयोग हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
सीमावर्ती क्षेत्रमा वारीपारि विवाहसमेत हुने गरेकोले विवाहको लघनको समयमा व्यापक मात्रामा भारतीय गाडी आउने गरेका छन् ।
प्रहरी कारबाहीमा त्यस्ता सवारी पनि परेका कारण आफूले र आफ्नो घरमा आएका पाहुनाले सास्ती भोग्नुपरेको गुनासो यस क्षेत्रका बासिन्दाको छ ।
एक सातापछि वीरगञ्जमा भारतीय सवारीको चेकजाँचमा कडाइ गर्ने र त्यसको केही समयपछि ग्रामीण क्षेत्रमा चेकजाँच गर्ने तयारी प्रशासनले गरेकोछ । अनुमति नलिइ वा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका सवारी साधन कारबाही हुने प्रशासनको भनाइ छ ।
कानून बनाउने नै भन्छन् : व्यवहारिक भइदिनुस्
यही समस्यालाई मध्यनजर गरेर सरोकारवालाले विवाह लगायतका व्यवहारिक काममा आएका भारतीय गाडी चेकजाँचका क्रममा व्यवहारिक भइदिन प्रशासनसँग आग्रह गरेका छन् ।
सीमावर्ती क्षेत्रमा दुवै देशका नागरिक बीच रोटी बेटीको सम्बन्ध रहेका कारण कानुनी हिसाबले जाँदा सर्वसाधरणले दुःख पाउने भएकोले त्यसमा ख्याल गरिदिन उनीहरुको आग्रह छ ।
प्रदेश सभा सदस्यहरु, नेकपा जिल्ला संयोजक प्रभु हजरा, नेपाली काँग्रेसका पर्सा सभापति अजय द्विवेदी, समाजवादी पार्टी नेपालका सुन्दर कुर्मीलगायत राजनीतिक दलका अगुवाको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर त्यस्तो आग्रह गरेका हुन् ।
उनीहरुले ग्रामीण क्षेत्रमा रहेका छोटी भन्सारबाट पनि भारतीय सवारी साधनको इन्ट्री र भन्सार काट्ने व्यवस्था हुनुपर्ने माग राखेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले भारतीय सवारीको वीरगञ्जमा मात्रै इन्ट्री हुने र भन्सार तिर्ने सुविधालाई विस्तार गर्नुपर्ने बताए । ‘खुल्ला बोर्डर छ, अनुमति लिएर भारतमा नेपाली सवारी साधन लिएर जाँदा कुनै समस्या आउँदैन, नेपालमा वीरगञ्जमा मात्रै इन्ट्री हुन्छ, छोटी भन्सारमा भन्सार काट्न सक्ने व्यवस्था हुनुपर्छ ,’ उनले भने, ‘वीरगञ्जलाई दिएको सुविधा ठोरी र मिर्जापुरका मानिसलाई किन नपाउने ? त्यसैको बहानामा प्रहरी प्रशासनले अनावश्यक दुःख दिइरहेको छ ।’
प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले मुल भन्सारमा मात्रै ईन्टि्र र भन्सार काट्ने व्यवस्था भएकोले रोटी बेटीको सम्बन्धलाई ख्यालमा राखेर कारबाही गरिदिन आग्रह गरे । ‘भारतीय गाडी यता समाउँदा विगतमा पनि नेपाली गाडीलाई भारतीय पक्षले दुःख दिएको छ, यताको उता विहेबारी चल्छ, आउने जाने भइरहन्छ । विगतमा व्यवहारिक रुपमा चल्दै आएको थियो ,’ उनले भने , ‘बोर्डरको सम्बन्धमा नराम्रो असर पर्न सक्छ, रोटी बेटीको सम्बन्धमा समस्या नआउने गरी अघि बढ्नुपर्छ ।’
नेकपाका पर्सा संयोजक प्रभु हजाराले विवाह प्रायोजनमा आउने गाडीलाई प्रहरी प्रशासनले दुःख दिन नहुने धारणा राखे ।
नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदीले सामाजिक व्यवहारमा असर पर्नेगरि कानून कार्यान्वयनको नाममा सर्वसाधरणलाई अनावश्यक दुःख दिन नहुने बताए ।
समाजवादी पार्टी नेपालका सुन्दर कुर्मीले विवाहको समयमा झनै धेरे गाडी समातेर दुःख दिने गरेकोमा त्यसो नगर्न आग्रह गरे ।
प्रहरी प्रशासन कानुन कार्यान्वयन गर्ने निकाय भएकोले कानुनमा भएका अप्ठेरा समाधानका लागि राजनीतिक अगुवाको लविङ हुनुपर्ने प्रजिअ भट्टराईको तर्क छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4