१९ साउन, गोरखा । गोरखा नगरपालिका-५ स्वाँराका भूकम्पपीडित रामशरण बस्नेतले जसोतसो ऋण गरेर वैशाख महिनामा घरको डीपीसी गरे । अनुदानको पहिलो किस्ता ५० हजार र ऋण गरेको एक लाख डीपीसीमै सकियो ।
तर, पैसा नभएपछि डीपीसीमाथि इट्टा थप्न सकेनन् । अलपत्र अवस्थामा रहेको घरलाई पूर्णता दिन उनी सहुलियतपूर्ण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक पुगे । सबै कागजात पूरा हुदाँ पनि बैंकले ऋण दिन आनाकानी गरिरहेको उनले बताए ।
‘सुहलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार पहिलो किस्ता लिएर पनि रकम अभावका कारण घर बनाउन नसकेका भूकम्पपीडितहरुलाई बढीमा तीन लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रावधान छ ।
बैंकको व्याजको आधार दरमा बढीमा दुई प्रतिशतले जोडेर सरकारको तर्फबाट ५ प्रतिशत अनुदान प्राप्त हुन्छ । तर, सबै कागजात पुर्याएर वैशाख महिनादेखि राष्ट्रिय बाणिज्य बैंक धाएका बस्नेतले अहिलेसम्म ऋण पाएका छैनन् ।
विभिन्न बहानामा पटक पटक भाका सार्दै बैंकले दुःख दिएको उनको गुनासो छ । ‘पहिले फाइल बुझ्नै मानेका थिएनन्,’ उनले भने, ‘बल्ल तल्ल फाइल बुझे तर विभिन्न वहाना बनाएर झुलाइराखेका छन् ।’
उनले थपे, ‘फाइल नै हरायो समेत भनेका थिए तर बारम्वार गएपछि फाइल भेटियो भने, तर कहिले कर्मचारी छैन, कहिले असारको बेला छ भन्दै आलटाल गरे ।
शारीरिकरुपमा अपाङ्गता भएका बस्नेतको परिवारमा पाँच जना छन् । उनीसँग ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र छ । दुई छोरी, श्रीमती र बुवाको साथमा बस्छन् । उनी बस्ने घर बुवाको नाममा थियो । तर, भूकम्पले भत्किएपछि अस्थायी टहरामा बस्दै आएका छन् ।
बस्नेत गुनासो फारम भरेपछि गत असोजमा लाभग्राही सूचीमा परेका छन् । कात्तिकमा सम्झौता गरेर पुसमा पहिलो किस्ताको ५० हजार रकम बुझें । लगतै घर बनाउन शुरु गरे । तर, रकम अभावले डीपीसीभन्दा अरु काम हुन सकेको छैन । ‘घर बनाउन सात लाख जति लाग्छ भनेका छन्, तीन लाख ऋण पाए अरु बाख्रा बेचेर भएपनि जोहो गथ्र्ये,’ उनले भने ।
सहुलियत कर्जा दिन आनाकानी गरेको भन्दै उनी चिन्तित छन् । ‘सित्तैमा मागेको पनि होइन, जग्गा धितो राखेर ऋण लिने हो फेरि सरकारले उपलब्ध गराउने भनेको छ, अनि किन आलटाल गर्नुपर्यो !’ उनले भने । सहज रुपमा ऋण उपलब्ध गराइदिन उनले आग्रह समेत गरे ।
राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखाका सहायक शाखा प्रबन्धक सुजन क्यापछाकी मगरले केही दिनमै बस्नेतको कागजात केन्ऽमा सिफारिस गरेर पठाउने बताए । ‘नयाँ आर्थिक वर्ष लागेपछि मात्र कर्जामा लगानी गर्ने भन्ने थियो,’ उनले भने, ‘अब केही दिनमा हामी केन्ऽमा उहाको फाइल पठाउँछौं अनि उताबाट स्वीकृत भएर आएपछि ऋण पाउनुहुन्छ ।’
राष्ट्रिय वाणिज्य बैकले मात्र होइन सहुलियत कर्जा दिन जिल्लामा रहेका अन्य निजी बैंकहरुले पनि आनाकानी गर्ने गरेको पीडितको गुनासो छ । राष्ट्र बैंकसँगको सहमति असार मसान्तमा सकिएको र अर्काे निर्देशन नआएसम्म ऋण उपलब्ध गराउन नसक्ने बहाना बनाउँदै पालुङटार नगरपालिकाका बैंकहरु पन्छिएका छन् ।
यसअघि पनि उपत्यका बाहिरका भूकम्प पीडितलाई दुई प्रतिशत व्याजदरमा १५ लाख ऋण उपलब्ध गराउन राष्ट्र बैंकले जारी गरेको सहुलियत ऋण सम्बन्धी कार्यविधिअनुसार जिल्लाका एकजना भूकम्प पीडितले मात्र ऋण पाएका छन् ।
गोरखा नगरपालिका कट्टेलडाँडाका दीपक बाबु कट्टेल र नरोत्तम कट्टेलले गरी दश लाख ऋण लगेको राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखाले जनाएको छ ।
सरकारले उपलब्ध गराउने भनेको सहुलियत कर्जा दिन बैकहरुले आनाकानी गरेपछि भूकम्प पीडितहरु मर्कामा परेका छन् ।