Comments Add Comment

प्रहरीकै संलग्नतामा मिर्गौला तस्करी भएको खुलासा

नेपाल प्रहरीका बहालवाला सईसहित ४ जना पक्राउ

Photo Credit : साङ्केतिक तस्वीर

१७ साउन, काठमाडौं । प्रहरीकै सहयोगमा काठमाडौंबाट मिर्गौला तस्करी भएको खुलासा भएको छ ।

भारतमा लगेर मिर्गौला निकाल्न लागिएको वेला प्रहरीले काभ्रेको बाङ्थलीका विष्णु खड्कालाई ११ साउनमा उद्दार गरेसँगै घटनामा प्रहरी संलग्नताबारे रहस्योद्घाटन भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सशस्त्र प्रहरी गण नं. १ मा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) योगेन्द्रराज थपलिया, पूर्वहवल्दार थनितनसिंह गुरुङ, रमेश कार्की र नारायण पराजुलीलाई पक्राउ परेको स्रोतले अनलाइनखबरलाई बतायो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख फडिन्द्र प्रसाईंले उनीहरुलाई पक्राउ गरिएको स्वीकारे ।

‘अझै अनुसन्धान जारी भएकाले हामीले घटनालाई गोप्य राखेका हौं’, प्रसाईंले अनलाइनखबरसँग भने, ‘तीन दिनअघि मानवबेचबिखन तथा आसोरपसार कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरिसकेका छौं ।’

घटनामा सई थपलियाको संलग्नता देखिएलगत्तै काठमाडौं प्रहरी परिसर, टेकुले उनलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो ।

यसरी पुर्‍याइयो भारत

काभ्रेका खड्का मध्यम वर्गीय परिवारका सदस्य हुन् । उमेरले उनी २४ वर्ष पुगे । पछिल्लो समय चाबहिल बस्दै आएका उनी मनमैजुको खाजा घरमा काम गर्थें । त्यही क्रममा चिनजान भएका सई थपलियाले उनलाई मिर्गौला विक्रीका लागि उक्साएको स्रोतको दाबी छ ।

पक्राउ परेका व्यक्तिको भनाइ अनुसार खड्काले जे गरेर भए पनि बाइक चढ्ने बताउँथे । त्यो थाहा पाएपछि थपलियाले मिर्गौला विक्री गर्न अफर गरेका थिए । ‘बाइक किन्दिन्छु भनेको थियो’, उद्दार गरिका खड्का भन्छन्, ‘त्यसपछि केही नसोची म एउटा मिर्गौला दिन राजी भएँ ।’

तर, अनुसन्धान अधिकृतहरु भने प्रलोभनमा परेर मिर्गौला विक्री गर्न सहमत गराएको देखिएको बताउँछन् ।

खड्काको सहमतिपछि अनमोल क्लिनिक एन्ड डाइगनोस्टिक सेन्टरमा लगेर रगत परीक्षण गरिएको थियो । अनुसन्धानमा आबद्ध एक कनिष्ठ अधिकृतले अनलाइनखबसँग भने, ‘त्यहाँ उनको मिर्गौला झिक्न मिल्छ कि मिल्दैन भन्ने कुरा यकिन गरिएको देखिन्छ ।’

क्लीनिकमा उपचारपछि लगाइएको सुईका कारण रिगँटा लागेका खड्कालाई याद छ । त्यसपछि एकैपटक सुनौली नाका पुग्दा मात्र होस खुलेको उनी बताउँछन् ।

‘सुनौलीमा पुगेपछि घर परिवारसँग सम्पर्क गराइदिन आग्रह गरेँ’, उनी भन्छन्, ‘तर उनीहरुले फोन गरिस् भने मारेर फालिदिने धम्की दिए ।’

बल्ला खड्का झस्किए । योबीच खड्का हराएको केही दिन भइसकेको थियो । घर परिवारले खोजी सुरु गर्‍यो । त्यसक्रममा प्रहरीसम्म पुगेको खड्का हराएको सूचनालाई पछ्याउँदै जाँदा अनुसन्धान अधिकृत मिर्गौला तस्करीको जालोसम्म पुगेका थिए ।

एक अधिकृतका अनुसार भारतमा मिर्गौला ट्रान्स्प्लान्टका लागि पूर्वतयारी गर्दैगर्दा खड्काको उद्दार गरिएको थियो ।

पूर्वहवल्दारकी दिदी मिर्गौला पीडित ?

पक्राउ परेपछि बयान दिने क्रममा पूर्वहवल्दार गुरुङले आफ्नी दिदी मिर्गौला पीडित भएको बताएका छन् । उनकै लागि मिर्गाैला चाहिएकाले खड्कालाई भारत लगिएको गुरुङको दाबी छ ।

तर, उनकी दिदीको दुवै मिर्गौला फेल भएर पहिल्यै ट्रान्स्प्लान्ट गरिसकिएको कागज अनुसन्धान अधिकृतले भेटेका छन् । त्यसकारण गुरुङको बयानमा विश्वास गरिहाल्ने आधार भेटिँदैन ।

काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले सुनाए, ‘उनीहरुले दिदीको नाम लिएर झुक्याएको हुनसक्छ ।’

यो समूहले पहिले पनि यसरी मिर्गौला तस्करी गरिसकेको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि गुरुङकी दिदीको अवस्थाबारे बुझ्ने कोशिश भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment