Comments Add Comment

यस्तो बन्दैछ नयाँ सिंचाइ गुरुयोजना

ठूला नदी डाईभर्जन गरिने, भूमिगत र पम्प सिंचाइको प्रयोग गरिने

१९ साउन, काठमाडौं । सरकारले २९ वर्ष पुरानो सिंचाइ गुरुयोजनालाई विस्थापित गर्दै कृषि देशमा उपलब्ध पानीको कृषिका लागि उचित प्रयोग गर्नका निम्ति नयाँ सिंचाइ गुरुयोजना जारी गर्ने तयारी गरिरहेको छ ।

‘सन् १९९० मा पुरानो गुरु योजना लागू भएपश्चात देशमा धेरै राजनीतिक तथा आर्थिक परिवर्तनहरू भएका कारण नयाँ कार्ययोजना बनाउनु अपरिहार्य हुन गएको थियो’, सिंचाइअन्तरगतको वाटर रिसोर्सेस प्रोजेक्ट प्रिपेरेटोरी फेसिलिटी परियोजना निर्देशक सुशील आचार्यले भने, ‘सिंचाइसम्बन्धी सूचनाहरु आधुनिक कम्प्युटर प्रणालीमा रुपान्तरण अपरिहार्य पनि भएको थियो ।

नेपाल सरकारको २८ लाख डलर (करिब २८ करोड) र एसियाली विकास बैंकको १.१ करोड डलर (करिब १ अर्व १० करोड) अनुदान सहयोगबाट सन् २०१६ सुरु भएको परियोजनाअन्तर्गत गुरुयोजनाको तर्जुमा भएको हो ।

गुरुयोजनाको तयारीका क्रममा विभिन्न अध्ययनहरू गरिएको आचार्यले जानकारी दिए । परियोजनाअन्तरगत उपलब्ध भूमि स्राेत र जलस्राेत को आँकलन गरिएको र सिंचाइ योजना र कार्यक्रमहरुको कार्यान्वयन स्थिति पुनरावलोकन र सूचना प्रणालीलाई अध्यावधिकसमेत गरिएको थियो ।

त्यस्तै सम्भावित योजनाहरुको पहिचान, प्रारम्भिक लागत अनुमान र प्राथमिकीकरण पनि गुरुयोजनाले गरेको छ ।

गुरुयोजनाको मस्यौदामा तराइमा जलपथान्तरणको माध्यमबाट ठूला आयोजनाहरुको विकास गर्ने लक्ष्य लिइएको छ । ठूला आयोजना कार्यान्वयन गर्न समय लाग्ने भएकाले यी आयोजनाहरुको निर्धारित सिंचित क्षेत्र एवं सतहगत जल सिंचाइ हुन नसक्ने क्षेत्रमा भूमिगत जलस्रोतको विकास गर्ने नीति सरकारले लिनेछ । त्यस्तै पहाडमा टार र पाखाहरुमा सम्भव भएसम्म सतह सिंचाइ र नभएमा पाइप प्रणालीको विकास गर्ने गुरुयोजनामा उल्लेख गरिएको छ ।

११ वृहत परियोजनाको पहिचान

गुरु योजनाले देशभरको खेतीयोग्य जमिनलाई माटोको उत्पादकत्वका आधारमा वर्गीकरण गरेको छ र यसैका आधारमा मलिलो माटो भएको क्षेत्रमा सिंचाइको सुविधा पुर्याउनका लागि ११ वृहत परियोजनाहरूको पहिचान गरको छ ।

१ भेरी-बबई डाइभर्सन

२ कर्णाली डाइभर्सन

३ मादी-दाङ डाइभर्सन

४ नौमुरे-राप्ती डाइभर्सन

५ कालिगण्डकी-तिनाऊ डाइभर्सन

६ कालिगण्डी-नवलपरासी डाइभर्सन

७ त्रिशूली-शक्तिखोर डाइभर्सन

८ सुनकोशी (मरिन र कमला) डाइभर्सन

९ तमोर डाइभर्सन

१० कनकाई बहुउद्देशीय

११ सुनकोसी ब्यारेज

गुरुयोजनाले यी परियोजनाहरूको पर्यावरणीय प्रभाव, जलवायु परिवर्तनका कारण बहावमा आउन सक्ने परिवर्तन र आर्थिक संभाव्यता जस्ता सूचकको आधारमा योजनाहरूको प्राथमिकीकरणसमेत गरेको छ । गुरुयोजनाले प्राथमिकता दिएका परियोजनाहरूः तमोर मोरङ, सुनकाेसी, मरिन, कालीगण्डकी तिनाऊ, नौमुरे राप्ती डाइभर्जनअन्तरगतका केही परियोजनाहरू, कर्णाली डाईभर्जनको सुरुङ, भेरी बबई डाइभर्सन, सुनकोसी ब्यारेज र कनकाई बहुउद्देशीय योजना ।

भूमिगत सिंचाइ कार्यक्रम

गुरुयोजनाका अनुसार सरकारले तराई र भित्री तराईका १ दर्जन जिल्लाहरूमा भूमिगत सिंचाइ कार्यक्रमसमेत सञ्चालन गर्नेछ । त्यस्तै, प्रदेश २ बाहेकका प्रदेशहरूमा पम्प सिंचाइ प्राणाली बनाउने योजना सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment