+
+

चितवनमा घट्न थाले डेंगुका बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १७:४८

२ असोज, चितवन । डेंगुबाट सबैभन्दा प्रभािवत चितवनमा यसका बिरामीहरू घट्दै जानथालेका छन् । जनस्वास्थ्य कार्यालय चितवन र भरतपुर अस्पतालले दिएको जानकारी अनुसार भदौको अन्तिम हप्तासम्म आउँदा बिरामीको संख्यामा केही कमी भएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम के.सी.का अनुसार भदौ दोस्रो र तेस्रो हप्तामा भन्दा चौथो हप्तामा बिरामीको संख्यामा केही कमी भएको छ । उनले अस्पतालहरुमा बिरामीको संख्या पनि कम हुँदै गएकोले डेंगुको असर विस्तारै घट्दै गएको बताए । ‘भरतपुरका ठूला र साना अस्पतालहरुबाट भदौ अन्तिम हप्तामा लिएको तथ्याङ्कमा बिरामीको संख्या कमी भएको पाइएको छ’ भेक्टर कन्ट्रोल निरीक्षक के.सी.ले भने, ‘अब यसको प्रभाव कम हुँदै गएको विष्लेषण गर्न सकिन्छ ।’

भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी पनि डेंगु रोगका बिरामी घट्दै गएको बताउँछन् । डा. अधिकारीले भरतपुर अस्पतालका बिरामीको संख्यामा कमी आएको बताए । ‘पहिला भ्याइ नभ्याई थियो, अहिले केही कम हुँदै गएको पाएको छु’ डा. अधिकारीले भने, ‘नागरिकहरुमा पनि सचेतना बढ्यो, डेंगु केही हैन भन्ने आत्मविश्वास बढ्दै गयो, त्रास पनि हट्यो, त्यसैको प्रभाव होला ।’ उनले बिरामीहरुको संख्यामा मात्रैं होइन डेंगु परीक्षणमा पनि पोजेटिभ आउने क्रम घट्दै गएको बताए । डेंगु सार्ने लामखुट्टेको एउटा चक्र सकिनु र अर्को सुरु नहुँदा पनि प्रभाव घटेको हुन सक्ने डा. अधिकारी बताउँछन् ।

चितवनमा २५१५ जनामा डेंगु

सन् २०१० को डेंगु संक्रमणको रेर्कड ब्रेक गर्दै चितवनमा यस वर्षको भदौसम्म २ हजार ५ सय १५ जनालाई डेंगुको संक्रमण भएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनले ठूला सरकारी अस्पताल, मेडिकल कलेज र निजी अस्पतालबाट संकलन गरेको तथ्याङ्क अनुसार गत साउन र भदौमा मात्रै ८ हजार २ सय २१ मा गरिएको परीक्षणमा २ हजार ५ सय बिरामीलाई डेंगु संक्रमण भएको पाइएको हो ।

डेंगुबाट चितवनका मात्रै १ हजार ९ सय ५४ संक्रमित छन् । जिल्लाका ७ स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा बढी १ हजार ७ सय ५७, रत्ननगर नगरपालिकामा ८१, खैरहनी नगरपालिकामा २७, राप्ती नगरपालिकामा १६, कालिका नगरपालिकामा ३०, माडी नगरपालिकामा २९ र इच्छाकामना गाउँपालिकामा १४ जनालाई डेंगु संक्रमण भएको छ ।

नवलपुरको गैंडाकोटमा २ सय ६१, मकवानपुरका ५४ र अन्य जिल्लाका २ सय ४६ जनामा डेंगु संक्रमण भएको पाइएको हो । उनीहरूले चितवनका अस्पतालमा परीक्षण गराएका थिए । चितवनमा अहिलेसम्म २ जनाले डेंगुबाट र २ जनाले स्क्रवटाइफसबाट ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?