Comments Add Comment

स्वास्थ्य सेवा सामाग्री खरिद गर्न सेनालाई महानगरले ३ करोड दिने

२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा सामाग्री खरिदका लागि नेपाली सेनालाई ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा नेपाली सेना र महानगरबीच बुधबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा महानगरका तर्फबाट मेयर विद्यासुन्दर शाक्य र नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले हस्ताक्षर गरे । सम्झौतापत्रमा हस्ताक्षर गर्दै मेयर शाक्यले नागरिकलाई सेवा प्रवाह गर्न काठमाडौँ महानगरपालिका प्रयासरत रहेको भन्दै यो त्यसैको एक कदम भएको बताए ।

महानगरपालिका सकेसम्म आफै अस्पताल सञ्चालन गर्ने योजनामा भए पनि तत्कालका लागि त्यो सम्भव नभए पछि अन्य अस्पतालाहरुलाई सहयोग गरिएको मेयर शाक्यले बताए । महानगरले यस अघि कान्तिवाल अस्पताललाई अक्सिजन प्लान्ट राख्न सहयोग गरेको थियो ।

प्रधान सेनापति थापाले सैनिक अस्पतालबाट विगतमा नेपाली सेना र आश्रित परिवारले मात्रै सेवा पाउने गरेको भन्दै आम जनताले पनि त्यहाँबाट सेवा प्राप्त गर्ने वातावरण बनोस् भनी यस्ता खाले सम्झौता गरेको बताए ।

सम्झौतासँगै महानगरले सैनिक अस्पतालाई मृगौला रोगीहरुको उपचारका लागि आवश्यक प्रविधि सामाग्ी खरिद गर्न ३ करोड रुपैयाँ उपलब्ध गराउने छ ।

सेनाको विरेन्द्र सैनिक अस्पताल मार्फत विभिन्न किसिमका रोगहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा तथा नियमित स्वास्थ्य परीक्षण जस्ता कार्यहरु गरिने पनि उल्ल्ेख छ ।

जेष्ठ नागरिकहरुको लागि ओ.पी.डी. सेवा, आपतकालीन स्वास्थ्य सेवा, मृगौलाका बिरामीहरुका लागि हेमोडाईलासिस सेवा आदि सञ्चालन गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने कुरालाई पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

‘हेमोडाईलासिसको लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक भएमा त्यसको योजना सहितको खाका र सो कार्य गर्न लाग्ने रकम दोस्रो पक्ष (नेपाली सेना) बाट माग भई आएपछि कार्यक्रम अनुदानमा प्रथम पक्ष (महानगरपालिका)ले दोस्रो पक्षको खातामा उपलब्ध गराइदिनु पर्नेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘हाल प्रथम पक्षको बजेटमा विनियोजन ३ करोडको ५० प्रतिशतले ले हुन आउने रकम रु.१ करोड ५० लाख सुरुमा र अन्तिम किस्ता खरिद प्रक्रिया सम्पन्न भएपछि खरिद सम्झौता अनुरुपको बाँकी रकम प्रथम पक्षको अनुदानबाट बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाको सहयोगमा संचालित भनी उल्लेख गर्नुपर्नेछ । ’

सम्झौतापत्रमा तत्कालका लागि नेपाली सेना अन्तर्गतको वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवाको शुरुवात गर्ने र भौतिक पूर्वाधार लगायतका स्रोत साधन अभिबृद्धि भएपछि सेवा विस्तार गर्दै लगिने उल्लेख छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment