Comments Add Comment

अन्तर्राष्ट्रिय आप्रवासन दिवस : असुरक्षित आप्रवासन रोक्न सीमावारपारबीच सहकार्य आवश्यक

२ पुष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले हात हतियार, लागूऔषध र मानव बेचबिखन जस्ता संवेदनशील अवैध कारोबारले समाजलाई पतन गराइरहेको बताएका छन् । सीमा वारपारको समस्या भएकोले यस्ता समस्या समाधानका लागि दुवै देशका सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा उनको जोड छ ।

हाम्रो आवाज, चेलीबेटी बेचविखन मुक्त समाज भन्ने नाराका साथ वीरगञ्जमा बुधबार आयोजित कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका र माइती नेपालले मानव बेचविखन रोकथाम तथा सुरक्षित आप्रवासनका लागि वीरगञ्जमा अन्तर्क्रिया र दुई देशिय समन्वय कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा नगर प्रमुख सरावगीले मानव बेचविखन र असुरक्षित आप्रवासन रोक्न दुवै देशका सबैखाले सरकार लाग्नुपर्ने बताए । ‘आपराधिक गतिविधिमा लाग्ने व्यक्तिहरु प्रविधिमा धेरै अगाडी भइसकेका छन् । हामीले उनीहरुलाई सम्झाउन खोज्दा खोज्दै समस्या धेरै अगाडि बढीसक्छन् ।’ नगर प्रमुख सरावगीले भने ‘मानवीय संवेदनशीलताको विषयमा सहकार्य गर्न कुनै कानून र सीमाको नियम लाग्दैन, स्थानीय स्तरमा सहकार्य गर्नुपर्छ ।’

वीरगञ्ज ट्रान्जिटको नगरी भएकोले महानगरपालिकाले महानगर क्षेत्र मात्रै नभएर सबैतिरका जोखिममा मानिसको बारेमा सोच्नुपर्ने उनको भनाइ छ । ‘यो ट्रान्जिटको नगरी हो, हामीले आफ्नो क्षेत्रको मात्रै सोचेर हुन्न । सबैतिरबाट जोखिममा परेका विभिन्न खाले मानव हामीकहाँ आइपुग्छन्,’ उनले भने, ‘पहिलो चरणमा महानगरपालिकाले बाल हेल्पलाइन खोलेको छ,  त्यहाँ अस्थायि रुपमा बालबालिका राख्छौं । आमा बुवा भेटेपछि फिर्ता गरिरहेका छौं । यसमा भारतीय समकक्षी र सरोकारवाला संघ संस्थासँग समन्वय गर्न तयार छौं । ’

जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अन्सारीले मानव बेचविखन नियन्त्रण र सुरक्षित आप्रवासन कुनै एउटा व्यक्ति र संस्थाको जिम्मेवारी नभई सबैको भएको बताए ।

४७ औं बीएन एसएसबी रक्सौलका इन्सपेक्टर अभिनाश कुमारले मानव तस्कारीबाट आउने पैसा गलत काममा नै प्रयोग हुने भएकोले त्यसलाई रोक्न आवश्यक रहेको बताए ।

‘जब कोहि नेपाली किशोरी वा महिला रक्सौलमा भेट्छौ, कहाँ जान लागेको ? भनेर सोध्दा दिल्ली, मुम्बाई, हैदरावाद, पटना काम गर्न जान लागेको भन्छन्, लैजाने व्यक्ति वीरगञ्जमा अटोमा चढाएर रक्सौल रेल वा बस स्टेशनमा भेट्न भनेको भन्छन्,’ उनले भने, ‘रेल वा बस स्टेशन पुग्यो, त्यो व्यक्ति भेटिन्न, कथमकदाचित फेला पर्‍यो भने उसले पनि स्पष्ट जवाफ दिन सक्दैन, कहाँ लैजान लागेको भन्यो भने दिल्ली लैजान लागेको भन्छ, मेरो त्यहींसम्मको ड्युटी हो भन्छ । त्यहाँबाट कसले कहाँ लैजान्छ थाहा हुन्न,’ उनले भने, ‘यो च्यानल तोड्नका लागि आपसी समन्वय आवश्यक पर्छ । ’

कार्यक्रममा अन्य सरोकारवालाले असुरक्षित आप्रवासनमाबाट जोगिन सचेत हुनुपर्नेमा जोड दिए । सानो लापरबाहीले वैदेशिक रोजगारीको यात्रा कष्टकर हुने र बेचविखनमा पर्न सक्ने भएकोले सबै सचेत रहनु पर्ने बताए ।

वीरगञ्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले आफ्नो आर्थिक अवस्था मजबुत बनाउन, सपि पुँजी भित्र्याउन र बेरोजगारी समस्या समाधानका लागि मानिस वैदेशिक रोजगारीमा जाने गरेको बताए ।

माइती नेपालको कार्यक्रम अधिकृत प्रेक्षा उप्रेतीले प्रभावित व्यक्ति होष्टाईल हुने प्रवृत्ति ठुलो समस्याको रुपमा रहेको बताइन् ।

सीमावर्ती रक्सौलमा मानव बेचविखन विरुद्ध काम गर्दै आएको आशिष प्रोजेक्टका समीर दगलले सीमा वारपार समस्या भएकोले समाधानका लागि सहकार्यको विकल्प नभएको बताए ।

भारतबाट नेपाल ल्याउने क्रम बढ्यो

वैदेशिक रोजगारीको नाममा, विवाह गर्ने लगायत अन्य प्रलोभनका कारण किशोरी र महिलाहरु हराउने तथा बेचविखनमा पर्ने गरेका छन् ।  अविवाहित किशोरी मात्रै नभएर शिक्षित विवाहित महिला तथा किशोरी समेत बेचबिखनको जोखिममा पर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारततर्फ मात्रै नभएर भारतबाट नेपालतर्फ समेत किशोरी ल्याउने क्रम बढेको माइती नेपालले जनाएको छ ।

माइती नेपाल पर्साकी संयोजक संगिता पुरीले सन २०१९ मा सीमा क्षेत्रबाट १ सय ७१ जना जोखिममा परेको महिला तथा किशोरीको उद्दार गरिएको बताइन् । त्यसमा भारतबाट नेपाल ल्याइएका समेत छन् । ‘ सन २०१८ मा बेचविखनको जोखिममा परेका ७ जना भारतय चेली उद्दार गरेर पठाएका थियौं, यसपाली १९ जनाको उद्दार गरेर पठाएका छौं,’ पुरीले भनिन्,  ‘भारतबाट पनि प्रेम विवाह गर्ने भनेर किशोरीलाई फकाएर ल्याएको पाईयो । पछिल्लो समयमा यो बढ्दो क्रममा छ ।’

खुल्ला सीमाका कारण पर्सा, बारा, रौतहट लगायत सीमा क्षेत्रबाट महिला किशोरीलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारेर सीमापारी लैजाने गरिएको छ । आरकेष्ट्रा, थिएटर, रेष्टुरेन्ट र वियर एण्ड वारमा काममा लगाउने गरिन्छ । सीमा क्षेत्रमा माईती नेपाल लगायतका केहि संस्थाले परामर्शकर्ता कर्मचारी राखेर महिला तथा किशोरीसँग सोधपुछ गर्ने, परामर्श गर्ने र प्रहरीको सहयोगमा उद्दार गर्ने गर्दै आएका छन् ।

पर्सामा मुख्य भन्सार र सहायक गरी १२ वटा सीमा नाकामध्ये वीरगञ्ज इनर्वा र ठोरी नाकामा मात्रै निगरानी केन्द्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment