
News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वको भूमे गाउँपालिका–६, महतमा परम्परागत गोरू जुधाउने प्रतियोगिता तिहारको अवसरमा नवौं मुखिया धरम बुढाको नेतृत्वमा सम्पन्न भएको छ।
- प्रतियोगितामा १० टिमले भाग लिएका थिए र कृषक हर्कबहादुर सुनारको गोरूले लगातार दुई वर्ष प्रथम स्थान हासिल गरेको छ।
- मुखिया धरम बुढाले गोरूहरूको बीमा व्यवस्था नभएको र पुरस्कार राशि न्यून भएकाले सहभागी संख्या सीमित भएको बताए।
६ कात्तिक, रुकुमपूर्व । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिका–६, महतमा परम्परा जोगाउन गोरू जुधाउने प्रतियोगिता आयोजना गरिएको छ ।
परापूर्वकालदेखि चलिआएको गोरू जुधाउने परम्परागत प्रतियोगिता यसवर्ष पनि रूपमा सम्पन्न भएको हो।
गाउँ खरदरी समितिद्वारा प्रत्येक वर्ष तिहारको अवसरमा गाई तिहारबाट सुरु हुने गर्दछ । २०७४ सालदेखि परम्परागत रूपमा प्रत्येक वर्ष नयाँ मुखियाको नेतृत्वमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता यसपटक नवौं मुखिया धरम बुढाको नेतृत्वमा सम्पन्न गरिएको हो।
प्रतियोगितामा १० टिमले भाग लिएका थिए। प्रतियोगितामा कृषक हर्कबहादुर सुनारको गोरू प्रथम भए भने तपस घर्तीको गोरू द्वितीय, अमरजङ बुढाको गोरू तृतीय र प्रेमबुढा र सूर्य बुढाको गोरूले सान्त्वना स्थान हासिल गरेका थिए ।
उक्त पुरस्कार गोरूलाई प्रतिनिधत्व गर्ने किसानहरूलाई क्रमशः ५ हजार, ३ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँका पुरस्कार प्रदान गरिएको थियो ।
मुखिया धरम बुढाको अनुसार हरेक वर्ष असार महिनामा नयाँ समितिको चयन गरी वर्षभरका नीति–नियम र कार्ययोजना तय गरिन्छ ।
गाउँका कृषकहरूबाट उत्पादन हुने अन्न, फलफूल, मासु लगायत उपभोग्य वस्तुको मूल्य निर्धारणदेखि चरण क्षेत्रको व्यवस्थापनसम्मका निर्णय यही समितिले लिन्छ।
चरण क्षेत्रमा मनपरी चरिचरण गर्ने, घाँसपात वा सोत्तर सेउला गर्नेहरूलाई जरिवाना (बनाउलो) तोकिने चलन अझै पनि यथावत् छ। त्यो जरिवानाबाट संकलित रकम समितिको कोषमा जम्मा गरिन्छ र सोही रकमबाट गाउँका चाडपर्व, आजापूजा, खानेपानी धारो, पोखरी, घोरेटो बाटो लगायतका सानातिना विकासका काम सम्पन्न गरिने मुखिया बुढाले बताए ।
स्थानीय बासिन्दाहरूका अनुसार तिहारको द्बारे औंसीका दिन गोरू जुधाउने चलन कृषि संस्कृतिसँग जोडिएको मौलिक परम्परा हो। वर्षभर बस्तीका किसानहरूले गोठालो र पशुपालनमा गरेको श्रम र दक्षताको प्रतिविम्ब पनि यही प्रतियोगिताबाट झल्किने गरेको उनीहरूको भनाइ छ।
प्रतियोगितामा लगातार दुई वर्ष प्रथम स्थान हासिल गर्न सफल किसान हर्कबहादुर सुनारले परम्परा जोगाउन आफूहरूले भाग लिएको बताए ।
उनले भने, ‘ गोरू जुधाउने संस्कार हाम्रो मौलिक पहिचान हो। कहिलेकाहीँ चोटपटकको जोखिम भए पनि जित–हारभन्दा माथि उठेर परम्परा जोगाउने उद्देश्यले हामी खुशीसाथ सहभागी हुन्छौं।‘
मुखिया धरम बुढाले प्रतियोगिताका गोरूहरूको कुनै बीमा व्यवस्था नभएको र पुरस्कार राशि पनि न्यून भएकाले किसानहरू सहभागी हुन हिचकिचाउने गरेको बताए । उनका अनुसार थप प्रतियोगिता गराउन अहिले चुनौती देखिएको छ।
‘ अहिले त महत गाउँका गोरूहरूबीच मात्र प्रतिस्पर्धा गराइन्छ । त्यसकारण प्रतियोगितामा उत्साहजन सहभागी हुने संख्या सीमित छ। कारण कुनै गोरूको बीमा छैन।‘ उनले भने ।
यता, वडाध्यक्ष विक्रम पुन मगरले मौलिक संस्कृतिलाई योजनाबद्ध रूपमा संरक्षण र प्रवर्द्धन गर्न आफूहरू लागि परेको बताए । उनले भने, ‘हामीले यो संस्कृतिलाई जोगाउन योजना बनाउन लागि परेका छौं। गोरूहरूको बीमा प्रणालीसहित व्यवस्थापन गर्छौं। त्यसपछि प्रतियोगितामा सहभागी र दर्शकको संख्यामा पनि उल्लेख्य वृद्धि हुन्छ।‘
सांस्कृतिक धरोहर र स्थानीय जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित गोरू जुधाउने यो परम्परा अहिले पनि रुकुम पूर्वको महत गाउँमा गाउँलेहरूको साझा उत्सव र गर्वको प्रतीक बनेर निरन्तर चलिरहेको छ।
प्रतिक्रिया 4