Comments Add Comment

जहाजमा एयर मार्सल राख्न कडाइ, यस्तो छ नयाँ व्यवस्था

फाइल फोटो ।

२ पुस, काठमाडौं । सरकारले जहाजमा ‘इन्फ्लाइट सेक्यूरिटी अफिसर (एयर मार्सल)’ राख्ने प्रावधानलाई कडा बनाएको छ । वायुयानमा आतंकवादी हमलाको खतरा भएमा वा जहाजभित्र असुरक्षा महशुस भएमा वायुसेवा कम्पनीले उडानका दौरान हतियारीधारी सुरक्षा अफिसरहरु राख्न पाउने प्रावधान छ ।

नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ मा पहिलो संशोधन गर्दै सरकारले एयरमार्सल लिन कडा प्रावधान ल्याएको हो । जहाजमा एयरमार्सल राख्न वायुसेवा सञ्चालन संस्थाले सिधै गृह मन्त्रालयमा स्वीकृतिका लागि जान सक्ने प्रावधानलाई सरकारले परिवर्तन गरेको छ ।

अब सेवा प्रदायक वायुसेवा कम्पनीले उचित कारण देखाएर विमानस्थल सुरक्षा अधिकारीसमक्ष लिखित अनुरोध गर्नुपर्नेे छ । त्यसपछि नागरिक उड्डयन सुरक्षा अधिकारी (विमानस्थलमा तोकिएका अधिकार प्राप्त कर्मचारी) ले सिफारिससहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लेखि पठाउनेछन् । त्यसपछि पर्यटनले गृहलाई स्वीकृतिका लागि सिफारिस गर्नसक्ने छ । उक्त प्रस्तावमा पर्यटन मन्त्रालयले समेत राय राख्न सक्नेछ ।

गृहले समेत औचित्यपूर्ण ठानेमा वा सुरक्षा विश्लेषण गरी साँच्चिकै जोखिम देखिएमा मात्र जहाजभित्र एयरमार्सल राख्न पाइने भएको छ । जहाजमा एयरमार्सल राख्न पाउने अधिकार संसारभर उड्ने वायुसेवा कम्पनीलाई हुन्छ । तर, कम्पनीले त्यसको औचित्य भने पुष्टी गर्नुपर्छ ।

के हो एयरमार्सल ?

जहाजभित्र यात्रुकै भेषमा रहने सुरक्षाकर्मीहरु नै एयरमार्सल हुन् । व्यवसायिक यात्राका दौरान यात्रुले जहाजभित्र को सुरक्षाकर्मी हो भन्ने सुँइको पाउँदैनन् । तर, जहाजभित्र कुनै पनि व्यक्तिले अनाधिकृत गतिविधि गरेमा यस्ता सुरक्षाकर्मीले कारबाही गर्न सक्छन् ।

उनीहरुसँग भएको पिस्तोल र त्यसको गोलीले उडिरहेको जहाजमा कुनै पनि असर नगर्ने गरी डिजाइन गरिएको हुन्छ । यस्ता एयरमार्सल विमानस्थल क्षेत्रबाट अन्य मुलुकको भूभागमा छिर्न पाउँदैनन् । यात्रु झर्ने र चढ्ने क्रम सकिएपछि उनीहरु आफ्नो मुलुकमै गएर बस्नुपर्छ ।

दुई वर्ष अगाडि भारतीय जहाजका एयरमार्सल नेपालका होटेलमा बस्ने गरेको सूचना बाहिरिएको थियो । त्यसपछि सरकारको चर्को आलोचना भयो । सरकारले भने त्यस्तो अनुमति नदिइएको स्पष्ट पारेको थियो । जहाजमा एयरमार्सल राख्न पाउने प्रावधानलाई भने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले समेत स्वीकृत गरेको छ ।

विशिष्ट व्यक्तिको हकमा साविककै प्रावधान

नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको सुरक्षाका लागि भने सुरक्षाकर्मीहरुले तोकिएका हतियार विमानस्थलमा जानकारी गराएर लैजान पाउने प्रावधान रहेको छ । तर, आफूसँग भएको हतियारको विवरण भने नागरिक उड्डयन कार्यालय, वायुसेवा सञ्चालक संस्था र विमानस्थल सुरक्षा अधिकारीलाई दिनु पर्छ ।

सुरक्षाकर्मीले बोक्ने हतियार लैजाँदा जहाजभित्र त्यसको प्रयोग गर्न नपाउने निश्चित गर्नुपर्छ । हातहतियारबाट गोली निकालेको हुनुपर्छ र त्यस्तो हतियार मूख्य चालक वा निजले तोकेको वायुयान कर्मचारीको जिम्मामा रहने व्यवस्था गर्नुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment