Comments Add Comment

सैनिक अस्पतालमा काठमाडौंवासीको हेमोडाइलाइसिस गरिने

२ पुस, काठमाडौं । नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा काठमाडौं महानगरका नागरिकले मृगौला उपचार सेवा पाउने भएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच बुधबार नागरिकलाई मृगौला उपचारसम्बन्धी सेवा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो सेवा काठमाडौं महानगरभित्र कार्यरत सरकारी कर्मचारीको हकमा पनि लागू हुनेछ । तर, महागनरपालिकाबाट सिफारिस अनिवार्य गरिएको छ । यसअघि सैनिक अस्पतालमा सर्वसाधारणले दुर्घटना भएको अवस्थामा आकस्मिक सेवा मात्रै पाउँदै आएका थिए ।

सेनाको नेपालगञ्जमा रहेको अस्पतालले पनि प्रदेशसँग मृर्गौलासम्बन्धी रोगको उपचारका लागि समझदारी गर्ने तयारी गरेको स्रोतको भनाइ छ । इटहरी र पोखरामा पनि सैनिक अस्पताल निर्माण भइसकेपछि नागरिक स्तरमा सेवा विस्तार गरिने बताइएको छ ।

समझदारी भएपछि शाक्यले यसलाई ऐतिहासिक कार्यको थालनी भनेका छन् । सेनाले सैनिक र महानगरवासीबीच रहेको सम्बन्धीलाई थप प्रगाढ र सुमधुर बनाउन यो समझदारीले सहयोग गर्ने विश्वास व्यक्त गरिएको जनाएको छ ।

समझदारीमा हस्ताक्षर हुँदा सेनाका बलाधिकृत रथी शरदकुमार गिरी, बलाध्यक्ष रथी गौरव तण्डुल, काठमाडौंका उपमेयर हरिप्रभा खड्गीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment