Comments Add Comment

एक वर्षमा ६ ठूला आन्तरिक विमानस्थलको धावनमार्ग मर्मत

१ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तराई भेगका अधिकांश ठूला विमानस्थलको धावनमार्ग मर्मतको काम पूरा गरेको छ । एक वर्षको अवधिमा आधा दर्जन आन्तरिक विमानस्थलमा धावनमार्गको मर्मत कार्य सकिएको हो ।

धावनमार्गको माथिल्लो तहमा देखिने खाल्डाखुल्डीले हवाई उडान र अवरणमा समस्या हुने गर्छ । सोही कारण धावनमार्गलाई निश्चित समयमा ‘ओभरले’ गरिरहनु पर्छ । सामान्यतया हरेक १० वर्षमा धावनमार्गको पिचलाई मर्मत गरिसक्ने हुन्छ भने लामो समय ओभरले गरिसकेपछि पीच नै उप्काएर नयाँ राख्नुपर्छ ।

धावनमार्ग मर्मतका लागि १ डिसेम्बरबाट बन्द भएको चितवनको भरतपुर विमानस्थल १० डिसेम्बरबाट सञ्चालनमा आएको छ । त्यसको एक महिना अगाडि झापाको चन्द्रगढी विमानस्थलमा १० दिन उडान बन्द गरी ओभरलेको काम भएको थियो । यस वर्ष यी दुई विमानस्थलभन्दा अगाडि जनकपुर, धनगढी, विराटनगर र जोमसोम विमानस्थलको धावनमार्ग मर्मतको काम सकिएको छ ।

यी विमानस्थलहरूको मर्मतको काम तोकिएको समयमै सम्पन्न भएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए ।

यसै वर्ष प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समेत पिच परिवर्तन गरेको छ । गत चैतबाट काम थालेको प्राधिकरणले असारसम्म यसको काम पूरा गरेको थियो । अहिले भने त्रिभुवन विमानस्थलमा ट्याक्सी वे फेर्ने काम पनि सकिएको छ ।

आगामी योजना के छ ?

चालु आर्थिक वर्ष ०७६/७७ मा नेपाल नागरिक उड्डयन प्राधिकरणले कुल ४६ अर्ब ९६ करोड ५० लाख बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमध्ये ठूलो रकम राष्ट्रिय गौरवका आयोजनामा खर्च हुन्छ ।

यस वर्ष आन्तरिक विमानस्थलहरूमा भू–उपग्रहमा आधारित यान्त्रिक उडान प्रणाली लागू गर्ने योजना प्राधिकरणको छ । विराटनगर, चन्द्रगढी, जनकपुर र धनगढी विमानस्थलको गुरुयोजना तयार गरी सो अनुसार स्तरोन्नतिको योजनासमेत प्राधिकरणले बनाएको छ । आन्तरिक विमानस्थलहरूको निर्माण, विकास, विस्तार र स्तरोन्नति गर्न राष्ट्रिय विमानस्थल विकास योजना तयार पार्ने योजना रहेको छ ।

प्रदेश राजधानीका विमानस्थललाई कम्तीमा ७० सिटभन्दा माथिको जहाजको उडान–अवतरण हुनसक्ने गरी स्तरोन्नति र विस्तारको योजनासमेत प्राधिकरणले बनाएको छ । नयाँ विमानस्थल निर्माणका क्रममा संघीय सरकारले स्थानीय र प्रदेशसँगको समन्वय बढाउने निर्णय भएको छ ।

विगतमा राजनीतिक पहुँचका आधारमा बनेका धेरै विमानस्थल अहिले व्यावसायिक रूपमा चल्न नसकेर अलपत्र अवस्थामा रहेका छन् । आन्तरिक विमानस्थलाई स्तरोन्नति गर्दै त्रिभुवन विमानस्थलकेन्द्रित उडानलाई क्रमशः हव विमानस्थलमा विस्तारको योजना प्राधिकरणले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment