Comments Add Comment

आर्यघाटमा दारुण दृष्य– ‘बाबा उठ्नु न…’

जब एकसाथ चलचित्रका दुई हस्ति ब्रम्हलिन भए

३० मंसिर, काठमाडौं । जन्मेपछि मृत्यू अवश्यम्भावी छ । तर, कुनै कुनै मृत्यू यस्ता हुन्छन्, जसलाई पत्याउन र सहन जो कसैलाई कठिन हुन्छ ।

सोमबार आर्यघाटमा नेपाली चलचित्र क्षेत्रका दुई हस्ति एकसाथ धुवाँमा विलिन भए । दाहसंस्कारका क्रममा दुवैतर्फ दारुण दृष्यहरु देखिए ।

पुराना अभिनेता दिपक क्षेत्रीको शनिबार र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आइतबार राति निधन भएको हो । तर, भवितव्यले दुवैको दाहसंस्कार एकै साथ पर्न गयो ।

केशवलाई सोमबार चलचित्र विकास बोर्डको प्रांगणमा अन्तिम श्रद्धान्जलीको लागि राखिएको थियो । जहाँ उनका परिवार, चलचित्रकर्मी र शुभचिन्तक पुगेका थिए । केशवका १५ वर्षीय छोरा त्यहाँ थिए । उनको आँखाबाट अविरल आँशुका धारा खसिरहेका थिए । घरी–घरी भक्कानिएर ‘बाबा…’ भन्थे । यी किशोरको मनोदशा नै त्यहाँ उपस्थितहरुलाई रुवाउन पर्याप्त थियो ।

बोर्डको प्राङ्गणबाट केशवलाई आर्यघाट लगियो । त्यहाँ पनि केही बेर श्रद्धान्जलीको लागि राखिएको थियो । छोराको हालत त्यहाँ झन् खराब भयो । बुबाको मृत शरीर वरिपरी घुम्दै उनी चिच्याइरहेका थिए, ‘बाबा… उठ्नु न । बाबा…, बा.. बा… उठ्नु न ।’

छेउमा उनकी आमा पनि घुमिरहेकी थिन् । छोराको चिच्याहटले उनको बेदना झनै उम्लिन पुग्थ्यो । आफ्नो सिउँदोको सिन्दुर पुछिँदाको पीडा आँखाबाट पोखिइरहेको थियो ।

वृद्धावस्थामा रहेकी केशवकी आमा पनि पशुपति आर्यघाटमै पुगेकी थिइन् । पुत्र वियोगको यो घडीमा आफूलाई सम्हाल्न उनलाई कठिन भएको थियो । छोराको अनुहार सुम्सुम्याउदैँ सुकेको स्वरमा उनी धेरै समय रोइन् ।

त्यहाँको दृष्यले जोकोहीलाई पनि स्तव्ध बनाएको थियो । सबैका आँखा रसाए ।

बिबाह गरेको लामो समयपछि भट्टराई दाम्पत्तिलाई सन्तानलाभ भएको थियो । उनीहरुले ०६२ सालमा टेस्टट्यूव प्रविधिबाट छोरा जन्माएका थिए । उनै छोराले आज दागवत्ति दिएका छन् ।

दीपकको परिवार पनि शोकाकुल

सोमबार केशवसँगै कलाकार दीपक क्षेत्रीको पनि अन्तिम दाहसंस्कार गरियो । दीपकलाई पनि चलचित्र विकास बोर्डको प्रांगणमा केशवसँगै श्रद्धान्जलीको लागि राखिएको थियो । दीपककी श्रीमती कलाकार विपना बस्नेत त्यहाँ थिइन् ।

उनी आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । चिच्याइरहेकी थिइन्, ‘दीपक, ओइ दीपक… बोल् न । ओइ बोल् न भनेको । म यहाँ छु के । मसँग बोल् न ।’

धेरै जना उनलाई सम्झान प्रयासरत थिए । तर, उनको विलौना झन् बढिरहेको थियो । उनी भन्दै थिइन्, ‘म बाहिर जाँदा छिट्टै आऊ है भनेको थियो । म आउँदा त उसले मलाई छोडेर गइसकेछ । मलाई भन्दै नभनी । ए दीपक…’

विपनाको छेउमा बसेकी दीपकको छोरीको हालत पनि उस्तै थियो । उनी पनि ‘बाबा, बा.. बा’ पुकारी रहेकी थिइन् । उनको आँखा रुदाँरुदैँ सुन्निएको थियो ।

दुई हस्तिको विदाईको क्षणमा आर्यघाट कोलाहलपूर्ण बनेको थियो । यो बेदनालाई भुल्दै अगाडि बढ्नुको विकल्प दुवै परिवारसँग छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment