Comments Add Comment

बाबाजीको छालामा एलर्जी, अदालतले आजदेखि बयान लिने

११ पुस, सुनसरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्धको मुद्दा विहीबार सुनसरी जिल्ला अदालतमा पेस भएको छ । बाबाजीको वयान शुक्रबारबाट सुरु हुँदैछ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माका अनुसार शुक्रबारबाट गिरीको मुद्दामा थुनछेक बहस सुरु हुनेछ ।

मंसिर १६ गते पक्राउ परेका गिरीविरुद्ध २५ दिनको अनुसन्धानपछि प्रहरीले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।

गत कात्तिक ४ मा बाबाजीले आफूमाथि बलात्कार गरेको भन्दै उनकै अनुयायी एक महिलाले कृष्णदासविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले गिरीलाई पक्राउ गरेको हो । यद्यपि उनलाई हिरासतमा नराखी अस्पतालको सुविधासम्पन्न क्याबिनमा राखिँदै आएको छ ।

बलात्कारको आरोपपछि बिराटनगरको मुनालपथस्थित बिराट नर्सिङ होममा भर्ना भएका कृष्णदासलाई १६ मंसिरमा पक्राउ गरी ४ दिनको म्याद थपिएको थियो । २० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचाैं पटक ३ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको थियो ।

नर्सिङहोमको आइसीयुमा बसेका गिरी भीआइपी बलात्कारआरोपी हुन् । उनको निजी सुरक्षाका लागि सरकारले प्रहरी हवल्दार नै खटाउँदै आएको छ ।

बाबाजीलाई लुतो र दादको औषधि

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबाले हर्ट अट्याक भएको भन्दै चिकित्सकको रिपोर्टका आधारमा हिरासतको समय अस्पतालको बेडबाट नै कटाए । चिकित्सकले हर्ट अट्याक भएको रिपोर्ट दिएपछि अदालतले अस्पतालबाटै मुद्दाको पूर्पक्ष गर्न आदेश दियो ।

मंसिर १२ गतेदेखि अस्पतालमा बसिरहेका गिरीको नाममा छालाको इन्फेक्सनमा प्रयोग हुने औषधिसमेत प्रयोग भएको छ । मंसिर १५ गते उनीमाथि माइनर हर्ट अट्याक भएको भन्दै चिकित्सकले आइसीयुमा राखेका थिए । आइसियुपछि पनि उनी अस्पतालको सुविधा सम्पन्न क्याबिनमै छन् ।

क्याबिनमा भेटघाट गर्न छुट पाएका गिरी गम्भीर बिरामी भएको चिकित्सकले बताए पनि औषधि भने एन्टी एलर्जीको प्रयोग भएको छ । अस्पतालमा रहेको फार्मेसीबाट उनका नाममा ६ हजार ४४५ रुपैयाँको औषधि गएको बील अनलाइनखबरले प्राप्त गरेको छ । सिद्धबाबाले अस्पताल अगाडिको फार्मेसीबाट मंसिर २९ गतेसम्म औषधि लगेको रेकर्ड छ ।

वैष्णव कृष्ण दासको नाममा पहिलो दिन २ हजार ९४४ रुपैयाँको औषधि प्रयोग भएको छ, जसमा सिद्धबाबाका लागि गएको औषधिमा दाद, तुलो र छालासम्बन्धी समस्यामा प्रयोग हुने औषधि पनि छन् । त्यस्तै हर्ट अट्याक आउँदा प्रयोग हुने औषधि र केही स्लाइनहरु पनि छन् ।

छाला सम्बन्धी रोगमा प्रयोग हुने एण्टी एलर्जी औषधि एलेग्रा १८० ट्याब, अलजेरो, भिटामिन सी, भिटामिन बी, कप सिरफ, लुलिकेन क्रिम, माउथ वास, केटोरिभ साबुन(छालाको इन्फेक्सन हुँदा प्रयोग हुने) लगिएको छ ।

कोलस्टोरका बिरामीले प्रयोग गर्ने एटर २० ट्याब, कार्डेज ५ ट्याब, रगत जम्न नदिने औषधि क्लेक्जन ६० एमजी, रगत पातलो बनाउने क्लोपिलेट ट्याब, इकोस्पेन ७५ प्रयोग भएको छ । स्लाइन चढाउन प्रयोग हुने क्यानल, क्यानुला २०, क्यानुला २२, पाँचसय एमएल डिएनएस स्टेरिपोर्ट स्लाइन आइभी सेट, पेण्टेडक आइभी सेट र सिरिञ्जलगायत अन्य केही औषधि प्रयोग भएका छन् ।

विराट नर्सिङ होमका मुटुरोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी सिद्धबाबालाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने बताउँछन् । उनको स्वास्थ्यमा सुधार आइरहेको बताउँदै गिरीले अझै एक साता राख्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘उहाँलाई मुटुको समस्या हो, सुधारोन्मुख छ, अझै एक साता राख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment