
८ माघ, काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले मातहतका मुद्दा चल्ने सबै इकाइमा नागरिक सहजकर्ता राख्न सुरु गरेको छ ।
प्रहरी कार्यालयमा सेवा लिन पुग्ने नागरिकलाई सहजीकरण गराउने उद्देश्यले नागरिक सहजकर्ता राख्न सुरु गरिएको हो ।
प्रहरी आयुक्त विश्वराज पोखरेलले प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले नागरिक सहजकर्ता राख्न थालिएको बताए । नागरिक सहजकर्ता हरेक प्रहरी कार्यालयको गेटमा नागरिकलाई सेवा दिने गरी बस्नेछन् ।
‘हामी अन्यायमा पर्नेको साथी, सहयोगीका पक्षधर हौं । न्यायका लागि आउने जो कोही नागरिकलाई दिने हाम्रो सेवा सहज र सरल हुनुपर्छ,’ सहजकर्ताका रुपमा खटिने प्रहरीलाई निर्देशन दिँदै प्रहरी नायब महानिरीक्षक पोखरेलले भनेका छन्, ‘कार्यालयमा आएका सेवाग्राहीहरूले न्यायका लागि मसँग राज्य, सरकार र प्रहरी संगठन छ भन्ने अनुभुत गर्ने गरी बोली बचन र सहयोगी भावनासहितको सेवा प्रवाह गर्नुस् ।’
नागरिकलाई परेको पिरमर्का आफूलाई नै परेको सरह सम्झिएर कार्य गर्न पनि उनले भनका छन् ।
प्रतिक्रिया 4