२२ फागुन, झापा । झापाको बाह्रदशी गाउँपालिकामा पर्ने राजगढ गाउँमा सञ्चालित स्ट्रबेरी फार्ममा चहल–पहल बाक्लो देखिन्थ्यो । कोही सेल्फीको मज्जा लिँदै थिए, कोही स्ट्रबेरी किन्ने लाइनमा थिए । खेतमा पाकेको स्ट्रबेरी टिप्न भ्याई–नभ्याई थियो । कामदारहरु आफ्नै धुनमा काम गरिरहेका थिए ।
स्ट्रबेरी फार्ममा आउनेहरु फोटो खिचेर रमाउने गर्छन् । खेतमा पसेर सेल्फी खिचिसकेपछि ताजा स्ट्रबेरी खरिद गर्छन् ।
‘ए दाजु, पर्खनुस् त, यहाँभन्दा अगाडि बढ्न मिल्दैन’ कामदारले अगाडि बढिरहेका मानिसहरुलाई रोके । खेतको बीचैमा रोकिएको टोली तस्वीर खिच्न व्यस्त भयो ।
फार्मका कर्मचारी मानबहादुर थापालाई स्ट्रबेरी बेच्न भ्याई–नभ्याई छ । उनी धमाधम बिल काट्दै छन् । एक दिनको हिसाब सुनाउँदै थापाले अनलाइनखबरसँग भने, ‘आज २२ केजीजति बिक्री भयो होला ।’

मानबहादुरका अनुसार स्ट्रबेरीको फार्म हेर्न दैनिक दुई/तीन सय आन्तरिक पर्यटक आउँछन् । केहीले स्ट्रबेरी खरिद गरेर लैजान्छन् भने कोही फोटो खिचेर फर्कन्छन् । नाम दर्ता गर्ने वा टिकट लिने चलन नरहेकाले दैनिक आउनेहरुको संख्या बताउन नसकिने मानबहादुरले सुनाए । शनिबारचाहिँ यो संख्या लगभग ५ सय हाराहारी पुग्ने उनको दाबी छ ।
डेढ वर्षदेखि सञ्चालनमा आएको यो कृषि फार्म गोल्यान समूहले चलाइरहेको छ ।
विशेष गरेर निर्यातजन्य उद्योगहरुमा लगानी रहेको पुरानो व्यवसायिक घराना गोल्यान समूह पछिल्लो समय कृषिमा लगानी गर्नतिर लागेको छ ।
एनएमबी बैंकका अध्यक्षसमेत रहेका यस समूहका अध्यक्ष पवन गोल्यानले केही वर्षयता कृषिमा निकै रुची देखाएका छन् । उनकै सक्रियतामा झापाका विभिन्न ठाउँमा अर्गानिक कृषि फार्महरु शुरु गरिएका छन् । तीमध्ये राजगढको स्ट्रबेरी फार्म एक हो ।
फार्ममा पुग्न पूर्व–पश्चिम राजमार्गको लक्ष्मीपुरबाट दक्षिणतर्फ करिब २३ किलोमिटर यात्रा गर्नुपर्छ ।
दुर्गम गाउँ पर्यटकको गन्तव्यमा परिणत
झापाको दक्षिणपूर्वी गाउँ राजगढ शहरीकरणबाट पछि परेको ठाउँ हो । यहाँ न त कुनै पार्कहरु छन्, न कुनै घुमघाम गर्ने ठाउँ । अहिले स्ट्रबेरीको आकर्षक फार्म खुलेपछि यो ठाउँ पर्यटक गन्तव्यजस्तै बनेको छ । टाढा–टाढाबाट मानिसहरु आउन थालेका छन् ।
इटहरीबाट आएका रुपेन्द्र घिमिरे सेल्फीमा रमाउँदै थिए । उनले शनिबार बिदाको सदुपयोग गर्न घुम्दै यहाँ आइपुगेको बताए ।

हाल काठमाडौं बस्दै आएका दमक निवासी गुराँस अधिकारी पनि स्ट्रबेरी हेर्नकै लागि राजगढ आइपुगेका रहेछन् । परिवारका सदस्यसहित फार्ममा पुगेका अधिकारीले स्ट्रबेरी खरिद पनि गरे ।
सञ्चार माध्यमबाट फार्मबारे थाहा पाएका इलाम निवासी भीमबहादुरले भने ‘केटाकेटीले रहर गरे, त्यही भएर परिवारसहित घुम्न आएका हौं ।’
राजगढमा ३० विगाहा भन्दा धेरै जमीनमा स्ट्रबेरी लगाइएको छ । विद्युत् पनि पुर्याइएको छ । सुरक्षाका लागि वरिपरि तारबार लगाइएको छ । फार्मको सुरक्षाका लागि मान्छेसँगै जर्मन सेफर्ड प्रजातिका जोडी कुकुर पनि फार्मको सुरक्षार्थ खटिएका छन् । पूर्णरुपमा अर्गानिक रहेको खेतीमा जैविक तथा प्राङ्गारिक मलमात्रै लगाउने गरिएको कामदारहरु बताउँछन् ।
गोल्यान समूहका अध्यक्ष पवन गोल्यान फार्मलाई उद्यममात्रै नभएर कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको बताए । उनले अहिले आन्तरिक पर्यटकहरुमात्रै आएको र आगामी दिनमा बाह्य पर्यटकहरु समेत आउने वातावरण बनाइने बताए ।
‘अहिले प्रचार नै नगर्दा त धेरै आन्तरिक पर्यटकको ओइरो लागेको छ, हाम्रो योजना नै कृषि पर्यटन हबका रुपमा विकास गर्ने हो’ गोल्यानले भने, ‘हामी यहाँ आन्तरिकमात्रै होइन, बाह्य पर्यटकहरुको पनि आकर्षणको केन्द्र बनाउने छौं ।’
अर्गानिक स्ट्रबेरी खेती सुरु गरेका उनले देशकै नमुना खेतीका रुपमा विकास गरेर सबैको आकर्षणको केन्द्र बनाउने योजना सुनाए ।
स्थानीय आदिवासीमा छाएको खुशी
फार्म नजिकै बाक्लो बस्ती छ । फार्म सञ्चालनमा आएसँगै सयौं स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् । बेरोजगार भएर बसेकाहरुलाई रोजगारीको अवसर मिलेको छ । स्थानीयले फार्ममा रोजगारी गरेर आफ्ना सन्तानलाई राम्रो विद्यालयमा पढाउन सुरु गरेका छन् ।

फार्मले आफूहरुलाई रोजगारी दिएको भन्दै त्यहाँ भेटिएका श्रमिकले खुसी व्यक्त गरे । राजगढमा सन्थाल जातिको बाहुल्य छ । यहाँ माझी र राजवंशीहरुको बाक्लो बस्ती छ । औपचारिक शिक्षा लिन नपाएकाहरुले स्थानीय आदिवासीहरुले रोजगारी पाएका छन् । त्यहाँ काम गर्नेले कम्तिमा महिनाको १५ हजार रुपैयाँ कमाउँछन् ।
यदोशा माझी अहिले २७ वर्षकी भइन् । २५ वर्ष पुग्न नपाउँदै ३ सन्तानकी आमा बनेकी यशोदाको जन्मरघर भारत हो । उनी एक दशक अगाडि नेपालकी बुहारी भएर झापा आएकी हुन् । उनका श्रीमान् घर बनाउने मिस्त्री हुन् । सधैं काम नमिल्ने भएका कारण श्रीमानको मात्रै कमाइले घर चलाउन गाह्रो परेको थियो । तर, उनी अहिले स्ट्रबेरीको फार्ममा काम पाएर खुसी देखिएकी छिन् ।
श्रीमान श्रीमती दुबैको कमाइले घरपरिवार चलाउन सहज भएको उनले बताइन् । उनी फामर्मा बिहान ८ बजे पग्छिन् । साँझ ५ बजेपछि ड्युटी सकिन्छ । दिउँसो १२ बजेपछि एक घण्टा खाजा खाने बिदा मिल्छ । ७ घण्टा खटिएवापत उनले दैनिक ५ सय रुपैयाँ पाउँछिन् । यसले राम्रै गुजारा चलेको उनले बताइन् ।
राजगढकै गणिता राजवंशी केही समयअघिसम्म सिलाई कटाईको काम गर्थिन् । फार्म सञ्चालनमा आएपछि उनले यतै काम गर्न सुरु गरिन् । कपडा सिलाउने भन्दा यतै कमाई राम्रो भएको उनले सुनाइन् ।

२० वर्षकी मैदी मर्डी पनि केही महिनादेखि स्ट्रबेरी फार्ममा जागिरे छिन् । उनको कमाई पनि दैनिक ५ सय, अर्थात महिनाको १५ हजार पुग्छ । घरमा बुवामात्रै रहेको र घरकी जेठी छोरी आफैं भएको बताएकी उनले कमाएको रकमले भाइबहिनीलाई पढाउने उनले सुनाइन् ।
मेनुका राजवंशी, दीपिका टुडु, हिना राजवंशी लगायत १८ देखि २१ वर्षसम्मका उमेर समूहका युवतीहरुजस्तै त्यहाँ काम गर्नेको संख्या ठूलै छ । उनीहरुमध्ये धेरैले पढाइ बीचमै छाडे । पढाइ नभए पनि अहिले गाउँमै काम पाउँदा उनीहरु खुशी देखिन्छन् ।
मेनुका राजवंशी भन्छिन्, ‘बुवाआमाको कमाइ नै थिएन, कमाई राम्रो भएको भए त हामी पनि पढिहाल्थ्यौं नि ।’

फार्ममा पुरुष कामदारको संख्या पनि उत्तिकै छ । पुरुष श्रमिकले भने महिला श्रमिकभन्दा एक सय रुपैयाँ बढी अर्थात दैनिक ६ सय रुपैयाँ पाउँछन् । ७ घण्टा खटिएर मासिक १८ हजार पाउने भए पछि त्यहाँ खटिएका पुरुष श्रमिकहरु पनि निकै खुसी छन् ।
झापाकै डिगलीबारी घर भएका राजकुमार माझी ६ महिना अघिदेखि फार्ममा जागिरे छन् । ‘पहिले ज्यामी काम गर्थें, काम सधैं मिल्दैनथ्यो’ उनले भने, ‘फार्म सञ्चालनमा आएपछि गज्जबै भयो नि ।’
उनीसँगै काममा खटिएका देबकुमार राजबंशी पहिले ट्याक्टर चालक थिए । फार्ममा अवसर पाएपछि यतै भुलेका छन् ।
खेतमा मजदुरहरुसँग गफिएपछि हामी काउन्टरतिर फर्कियौं । एउटा टोली स्ट्रबेरी किन्ने प्रयासमा थियो । ‘टिपेको सकियो, अब कामदार निस्कन्छन्’ मानबहादुरले आजलाई स्ट्रबेरी किन्न नपाइने बताए । बेलुका ५ बज्न ५ मिनेटमात्रै बाँकी रहेको र अब सबै कामदारको ड्युटी सकिने भन्दै उनले टिप्न नभ्याइने बताए ।
आफूहरु टाढाबाट आएको भन्दै अनुनय गरेपछि कर्मचारी नविन खरेलले ग्राहकलाई रित्तै फर्काएनन् ।
 
 
 
 
 
 
तस्वीरः शंकर गिरी/अनलाइनखबर
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
प्रतिक्रिया 4