३ चैत, काठमाडौं । सुर्खेतकी दूर्गा आचार्य अहिले भक्तपुरको दधिकोटमा बस्छिन् । पढ्का लागि यहाँ बसेका उनी र उनका भाइ दृष्टिविहीन छन् । लकडाउन लम्बिँदै जाँदा उनीहरुको कोठामा खानेकुरा सकिँदै गएको छ ।
‘घरबाट पैसा मगाउन सकिने अवस्था पनि छैन, न त घर जानै सकिन्छ,’ दूर्गाले गुनासो गरिन् । लकडाउन दुई साता मात्रै हुन्छ भनेर गरेको खाद्यान्न र पैसाको जोहो लकडाउन लम्बिँदै जाँदा अपुग हुन थालेको छ ।
‘मुलुक अप्ठ्यारो बेलामा छ, समस्या सबैलाई छ तर शारीरिक रुपमा असक्त हुँदा हामीलाई झनै समस्या भयो,’ दुर्गाले भनिन् । खान नपाई मरिन्छकी भन्ने डर लागेको छ, हामीलाई सरकारले हेर्छ त ? उनले प्रतिप्रश्न गरिन्।
भक्तपुरको सानोठिमी बस्ने कालीकोटका शंकर न्यौपानेको दुःख पनि दूर्गाकोभन्दा कम छैन । २२ वर्षीय शंकर डेरामा एक्लै बस्छन् दुई साताको लकडाउनका लागि भनेर जोहो गरेको पैसा र खाद्यान्न सकिएको उनले सुनाए । पैसा छ तर एटीएमबाट दृष्टिविहीनले झिक्न मिल्दैन । ‘चेक साट्न कहाँ जाउँ कसरी कोठा चलाऔँ’ उनले दुख सुनाए ।
सधैँ सामान किन्ने पसल बन्द भएको, पहिलेजस्तो मानिस नभेटिएकाले सहयोग माग्न पनि नसकिएको न्यौपानेले बताए । ‘लकडाउन फेरि थपिएछ, अब हामी कसरी जिविका चलाउने, सरकारलाई सोधिदिनुस् न’ न्यौपाले भने ।
काठमाडौंको कालोपुल बस्ने दाङकी निमा बुढा क्षेत्रीले अहिलेसम्म कमाएर राखेको पैसा सकिएको बताइन् । ‘श्रीमान श्रीमती नै दृष्टिविहीन हौँ, काखमा ४ वर्षको छोरा पनि छ अब गाह्रो हुने भयो,’ उनले भनिन् ।
दोहोरी साँझमा काम गर्ने उनको श्रीमानको जागिर लकडाउन अघि नै रोकिएको छ । ‘दैनिक कमाएर पेट पाल्ने परिवार परियो, न घरबाट कसैले सहयोग गर्न सक्ने अवस्था छ नत आफूसँगै धन सम्पत्ति ?’ उनले अमिलो मन गरिन् ।
वडा कार्यालयले दिएको ५ किलो चामलसहितको राहत पनि सकिएको उनले बताइन् । ‘अब त चुल्हो नबल्ने भयो हामीलाई कसले हेर्छ ? निमाले प्रश्न गरिन् ।
नियमित सम्पर्क र आफूले दैनिकी चलाउन बनाएको सञ्जाल लकडाउन कारण टुटेको दुर्गा, निमा, र शंकरको अनुभव छ । आँखा नदेख्ने भएका कारण सामान्य अवस्थामासमेत अरुको सहयोग चाहिनेहरु संकटपूर्ण अवस्थामा झनै धेरै पीडित बनेको उनीहरुको भनाइ छ ।
देशभर नेत्रहीन मानिसहरुको संख्या ४ लाख हाराहारी रहेको नेत्रहीन युवा संघ नेपालले जनाएको छ । जसमध्ये १० हजार हाराहारी विद्यार्थी छन् ।
काठमाडौंका सडकमा गीत गाउने, दोहोरीमा काम गर्ने, धुपबत्ती र जोख्ने मेसिन राखेर बस्नेहरु करिब दुई सय जनाको अवस्था लकडाउनका कारण नाजुग भएको संघका महासचिव रामचन्द्र गैरेले बताए ।
हरेक दिन काम गरेर खानेहरु धेरै पीडित भएको गैरेको भनाइ छ । आफैँ सक्रिय भएर बाहिर आउन नसक्ने र सहरको सरकारी संस्थासँग सम्पर्कमा नरहेकाहरु राहतको प्राथमिकतामा नपरेको उनले बताए ।