
३ वैशाख, काठमाडौं । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमाछोरामा देखिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण आयातित भएको निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।
यो परिवार तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएको थियो । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो ।
पीसीआर विधिबाट गरिएको परीक्षणमा आमाछोरामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुहारीमा संक्रमण देखिएन ।
यससँगै आमाछोरामा देखिएको कोरोना संक्रमित आयातित भएको निष्कर्ष निकालिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले अनलाइनखबरलाई बताए ।
२९८ को र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ
यसैबीच अपार्टमेन्टमा बस्ने दुई सय ९८ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ ।
ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी दुई सय ९८ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।
सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।
प्रतिक्रिया 4