
३ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड-१९) संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार गरिएको र्यापिड टेस्टमा तीनै जनामा एन्टिबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।
उनीहरुमध्ये ८१ वर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो ।
त्यसको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
तर, र्यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएकाले उनलाई यसअघि कोरोना संक्रमण भएको तर अहिले निको भइसकेको बुझिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
उनकाअनुसार सनसिटीमा बसोबास गर्ने दुई सय ९८ जनाको बुधबार नै र्यापिड टेस्ट गरिएको छ र उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ । संक्रमित परिवारमा काम गर्नेहरुको भने पीसीआर विधिबाट पनि परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।
संक्रमण आयातीत
सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमाछोरामा देखिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण आयातित भएको निश्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।
यो परिवार तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएको थियो । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो ।
आमाछोरामा देखिएको कोरोना संक्रमित आयातित भएको निष्कर्ष निकालिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले अनलाइनखबरलाई बताए ।
प्रतिक्रिया 4