Comments Add Comment

अहिलेसम्मकै ठूलो आर्थिक धक्काको सामना गर्दै अस्ट्रेलिया

४ वैशाख, काठमाडौं । अस्ट्रेलियामा सिङ्गो मुलुक प्रभावित हुने गरी आगलागीको समस्या देखिएको लामो समय भएको छैन । त्यो समस्या सकिन नपाउँदै चीनको वुहानबाट निस्किएको कोरोना भाइरस (कोभिड-१९)को कारण अहिले अस्ट्रेलिया समस्यामा परेको छ ।

सन् २००७-०८ को वित्तीय संकट, सन् १९९७ को एसियाली वित्तीय संकट लगायत अन्य समयमा पनि विश्वभर आएको आर्थिक गिरावटबाट बच्दै आएकाले ‘चमत्कारी अर्थतन्त्र’ भनिएको थियो । तर, अहिलेको अवस्थामा भने अस्ट्रेलिया समस्यामा परेको छ ।

आगलागीले कमजोर बनाएको अर्थतन्त्रलाई कोरोना भाइरसको महामारी अर्को समस्या बनेर देखिएको हो । कोरोना भाइरस नियन्त्रणका लागि सामाजिक दुरीमा कडाइ गरिएसँगै अस्ट्रेलियामा एक सातामै करिब १० लाख मानिसहरु बेरोजगार भइसकेका छन् ।

यो समस्याबाट पार पाउन सरकारले अहिलेसम्मकै ठूलो एक खर्ब ३० अर्ब अस्ट्रेलियन डलरको आर्थिक सहायता योजना ल्याएको थियो । यो योजना उसले करिब ६० लाख मानिसलाई रोजगारीमा नै राख्नका लागि ल्याएको थियो । तर, यो संख्या कुल जनशक्तिको आधा मात्र हो ।

अस्ट्रेलिया सरकारले मुलुकमा सञ्चालन भइरहेका व्यवसायलाई राहत स्वरुप दुई खर्ब अस्ट्रेलियन डलर छुट्याएको छ ।

यो मुलुकको जीडीपीको १० प्रतिशत बराबर हो । यति धेरै रकम उसले कहिल्यै पनि मुलुकको व्यवसायका लागि छुट्याएको थिएन । सरकारले आफ्ना नागरिकलाई संकटको घडीमा सघाउँदै आएको न्यु साउथ वेल्स बिजनेस स्कुलका टिम हाकोर्ट बताउँछन् ।

पुरातन सोचमा पुनर्विचार

अहिले अस्ट्रेलियाको सरकार आफ्नो पुरातनवादी आर्थिक हठ त्याग्दै अघि बढिरहेको छ । हार्कोटकाअनुसार अस्ट्रेलियाको सरकार आफ्नो आदर्शभन्दा पनि महामारीबाट बच्ने उपायको खोजीमा देखिएको छ ।

अस्ट्रेलियामा जाडो मौसम सुरु हुँदैछ । यस्तोमा सरकारले उल्लेख्य संख्यामा रोजगारी बचाउने योजना अघि सारेको छ । यसबाट अर्थतन्त्रलाई बचाउन सकिने विश्वास सरकारको छ ।

यो योजनाले महामारीको कहर सकिनासाथ सबै कम्पनी तथा कर्मचारीहरुलाई तत्काल काम सुरु गर्ने मौका मिल्नेछ । जुन, अस्ट्रेलियाको अर्थतन्त्रलाई लयमा ल्याउन सहायकसिद्ध हुनसक्छ ।

यो योजना बेलायतले ल्याएको जस्तै छ । यसले रोजगारदाता र कर्मचारीबीचमा सम्बन्ध कायम राख्नेछ । यस किसिमको सम्बन्धले सेवा पुनः सञ्चालनमा आएसँगै तत्कालै आफ्नो काम सुरु गर्ने वातावरण हुन्छ । यसले कल्याण कोषको दबाब केही कम गर्न सक्छ ।
सरकारी आकलनअनुसार यस वर्षको छ महिना सकिँदासम्म अस्ट्रेलियाको बेरोजगारी १० प्रतिशतमा पुग्नेछ ।

अहिले बेरोजगारी सुविधाका लागि आवेदन दिनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । स्थानीयहरु अहिलेसम्म यस्तो किसिमको बेरोजगारीको समस्या भोग्नु नपरेको बताउँछन् ।

विश्वव्यापीकरणको अन्त्य ?

अस्ट्रेलियालाई अब के हुँदैछ भन्ने कुरा राम्रोसँग थाहा छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अस्ट्रेलियाको अर्थतन्त्र ६ दशमलव ७ प्रतिशत घट्न सक्ने बताएको छ । यूबीएस एसेट म्यानेजमेन्टले बजेट घाटा तीन खर्ब पुग्न सक्ने चेतावनी दिइसकेको छ । यो त्यहाँको जीडीपीको १६ प्रतिशत बराबर हो ।

बेलायत, जर्मनी र अमेरिकाजस्ता सम्पन्न मुलुकहरुले आफ्नो अर्थतन्त्रमा उल्लेख्य रकम प्रवाह गरिरहेका छन् ।

तर, अस्ट्रेलियाको आर्थिक सहायता प्याकेज भने अहिलेसम्मको संकटमा ल्याइएको सबैभन्दा ठूलो हो । युनिभर्सिटी अफ सिड्नीका एन्ड्र्युग्रान्ट भाइरसबाट पुनः पहिलाको अवस्थामा आउन १८ महिना लाग्न सक्ने बताउँछन् । तर, त्यसपछि के हुन्छ भन्ने कसैलाई पनि थाहा छैन । अस्ट्रेलिया अन्य मुलुकभन्दा धेरै प्रभावित हुनुको प्रमुख कारण उसको अर्थतन्त्रको मुख्य क्षेत्र पर्यटन र शिक्षामा पर्ने असर हो ।

टिम हार्कोट भने यसलाई विश्वव्यापीकरणको अन्त्यको संज्ञा दिन्छन् । कोरोना भाइरसबाट अहिले विश्वका सबै मुलुक प्रभावित भएका छन् । यसले उनीहरुको आपूर्ति सञ्जालका साथै पर्यटन र शिक्षाजस्ता क्षेत्र नराम्ररी प्रभावित बन्ने उनको भनाइ छ । अहिले अस्ट्रेलियाका दुई करोड ५६ लाख मानिसहरु आजसम्म कसैले पनि नदेखेको समस्याको सामना गरिरहेका छन् । यसअघि प्रधानमन्त्री स्कट मौरिसनले सन् २०२० वर्ष जीवनको सबैभन्दा कठिन समय बन्न सक्ने बताएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment